- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसको पूर्व निर्धारित महाधिवेशनको मिति आउन अब ७६ दिन बाँकी छ। तोकिएको समयमा महाधिवेशन भयो भने अबको ८० दिनमा काँग्रेसले नयाँ नेतृत्व पाउँछ। तर, काँग्रेसको महाधिवेशन ७-१० भदौमा सम्भव छ त ?
यति बेला वैधानिक तथा संवैधानिक रूपमा नै महाधिवेशन नगरी नहुने अवस्था आएको काँग्रेसका अगाडी उभिएको चुनौतीको प्रश्न हो यो। काँग्रेसले पार्टीको विधान र देशको संविधानले व्यवस्था गरेको सुविधा अनुसारका सबै सुविधा लिएर कार्यकाल लम्ब्याइसकेको छ।
हाल काँग्रेसले १४ औँ महाधिवेशनका लागि धमाधम क्रियाशील सदस्यताको काम गरिरहेको छ। हालसम्म नयाँ वितरण र पुराना नवीकरण गरी काँग्रेसको पार्टी केन्द्रीय कार्यालयमा ७ लाख ८० हजार क्रियाशील सदस्यको विवरण अनलाइन प्रणालीमा आएको काँग्रेसले जनाएको छ।
काँग्रेसले लक्ष्य गरे अनुसारका क्रियाशील सदस्य पुग्न अझै २ लाख हाराहारीमा सदस्यको विवरण आउन बाँकी नै। आएका सदस्यतामा विवाद के कति हुन्छ भन्ने पनि काँग्रेसले हेर्नै बाँकी छ।
काँग्रेसको महाधिवेशनका समयमा सबै भन्दा बढी विवाद हुने भनेकै क्रियाशील सदस्यताका सम्बन्धमा नै हो। काँग्रेसले बाँकी सदस्यको विवरण अनलाइनमा इन्ट्री गर्न २५ जेठसम्मको म्याद थपेको छ। पूर्व निर्धारित तालिका अनुसार हेर्दा यो म्याद पटक पटक काँग्रेसले उल्लङ्घन गर्दै आएको छ।
काँग्रेसको महाधिवेशनको कार्य तालिका हेर्दा अब असार सुरु भयापछिबाट धमाधम अधिवेशनहरू सुरु गरिनु पर्ने हो। तर अहिलेसम्म महाधिवेशन सुरु हुने अवस्था देखिँदैन।
काँग्रेसले कोरोना सङ्क्रमणका कारण सम्भवतः अब तोकिएको समयमा महाधिवेशन हुन नसक्ने भन्दै विज्ञप्ति मात्र निकाल्न बाँकी छ। नेताहरूले भने मौखिक रूपमा यो सन्देश दिइसकेका छन्।
काँग्रेस सह महामन्त्री डा.प्रकाश सरण महतले महाधिवेशन के कसरी गर्ने भन्ने विषयमा अब केही दिनमा बैठक बसेर निर्णय लिइने जानकारी दिए।
‘कोरोनाका कारण भौतिक रूपमा उपस्थित भएर महाधिवेशन हुने अवस्था छैन, अब कसरी जाने भन्ने विषयमा पार्टीमा छलफल हुन्छ, बैठकमा छलफल होला, अहिलेसम्म कुनै निर्णय भएको छैन,’ काँग्रेस सह महामन्त्री डा महतले हाम्रा कुरासँग भने।
काँग्रेसको संस्थापन इतर समूहले भने १४औँ महाधिवेशन तोकिएकै मितिमा गर्न सकिने भन्दै आइरहेको छ। त्यसका लागि विकल्पमा जान सकिने सो समूहले बताउँदै आइरहेको छ।
के हो त त्यसको विकल्प ? काँग्रेस भित्रको संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले हालसम्म आएका क्रियाशील सदस्य हरूको नाम मध्ये विवादरहित नाम छानेर आएका मध्येबाट नै मतदान गरेर नेतृत्व चुन्ने वा १३ औँ महाधिवेशनका प्रतिनिधिहरूबाट नै नेतृत्व छान्ने विकल्प आएको हो।
नेता पौडेलले अब पनि तोकिएको समयमा महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक र संवैधानिक रूपमा नै सङ्कटमा पर्ने बताउँदै आइरहेका छन्।
सो समूहको बुधवार बसेको भर्चुअल बैठकले समेत सोही निर्णय गरेर सभापतिसँग छलफल गर्ने जिम्मा महामन्त्री डा.शशाङ्क कोइरालालाई दिएको छ। यस्तै सो विषयमा छलफल गर्न केन्द्रीय समिति बैठकको मागसमेत पौडेल समूहले गरेको छ।
गत १३ जेठमा प्रेस युनियनको स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममार्फत नेता पौडेलले सो प्रस्ताव अघि सारेका थिए। त्यस बखत पौडेलको सो प्रस्तावमा सभापति शेरबहादुर देउवाले छलफल गर्न तयार रहेको जवाफ दिएका थिए।
नेपालको संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न गर्न सक्ने व्यवस्था छ। काँग्रेसले संविधानले दिएको सो सुविधा प्रयोग गरिसकेको छ। सोही व्यवस्था अनुसार काँग्रेसको वर्तमान कार्यसमितिको म्याद भदौसम्म तोकिएको हो।
काँग्रेसले १५ जेठमा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म करिब ८ लाख क्रियाशील सदस्यता अनलाइन प्रणालीमा समावेश भइसकेको छ। काँग्रेसले आगामी निर्वाचनसम्म पार्टीको क्रियाशील सदस्यता १० लाख पुर्याउने लक्ष्य राखेका छ। यसअघि काँग्रेसको क्रियाशील सदस्यता ४ लाख ८० हजारले लिएको तथ्याङ्क छ।