arrow

प्रदीप ज्ञवालीलाई पत्र : मन्त्रीज्यू नातापातालाई कोरोना नलागोस्

logo
कविन्द्र बुर्लाकोटी, 
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
pradip-gyawali-uml.jpg
तस्वीर–फाइल ।

कोरोना कसैलाई नलागोस, नातापाता सरसम्बन्ध कसैलाई नलागोस् । मन्त्रीज्यूको संक्षिप्त प्रतिक्रियामा आधारित नातापातालाई कोरोना नलागोस भन्नेसमाचार पढ्ने अवसर मिल्यो, पढें । यहांको संक्षिप्त प्रतिक्रिया आबेगमा आएका विरामीका आफन्तको जस्तो देखियो । 

यहाँको ब्यक्तिगत तवरमा त्यो ठिकै पनि होला । जनस्तरमा त्यसबारे थुप्रै प्रतिक्रिया आए र आउने छन् । यहाँको प्रतिक्रियामा थपथाप गरेर जन समक्ष स्पष्ट गर्न यो पत्र लेख्न मन लाग्यो ।

मन्त्री महोदय ज्यू, यहाँले रिसको शैलीमा कोही केही नेपाली स्तरका नेताहरुलाई जवाफ दिंदै, हात जोडेर मेरो प्रार्थना छ, कोरोना उहाँहरुलाई नलागोस्, उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई नलागोस् भन्नु भएको रहेछ । त्यति मात्र किन यहाँले पुकार्नु भएको त्यही भगवानसंग मेरो प्रार्थना छ, कोरोना कोही सरकारी पद बहाल भएका वा नभएका कोही नेतालाई नलागोस्, उच्च पदस्थ सेना, प्रहरी, कर्मचारी, पदाधिकारी, नियुक्ति लिएका, नियुक्ति लिन नभ्याएका वा नलिएका कुनै वरिष्ठलाई नलागोस् । 

उहाँहरुको नातापाता, सरसम्बन्ध कोहि कसैलाई पनि कोरोना नलागोस्, उहाँहरुको वरीपरि नै यो कोरोना भन्ने भाइरस नजाओस् । यति भयो भने अहिलेसम्म तयार भएको जेनतेन स्वास्थ्य संस्था संचालन भएको सिस्टमले काम गर्ने छ । र धेरै अस्पतालहरुमा माथिको दवाव पर्दैन । भएको सिस्टमले काम गर्छ । जब बचेखुचेको केही सिस्टमले काम गर्न थाल्छ तब सर्वसाधारणको उपचारमा पहुँच पुग्छ । किनकि त्यहाँ माथिको दवावले होइन सिस्टमले काम गरेको हुन्छ ।

अहिलेको अवस्थामा हरेक अस्पताल, स्वास्थ्य संस्था, फार्मेसी, अक्सिजन उद्योग र स्वास्थ्यकर्मीमाथि उच्च पदस्थ नेता, कर्मचारी, वरिष्ठहरुको सिफारिस र दवाब रहेको छ । अस्पतालहरुको विशष्ो उपचार कक्ष र बेडहरु त्यस्तै दबाबमा वितरण भएको छ । केहीअघि अक्सिजन पहुँचवालाले गाडी पठाएर सिधै घर लग्ने, जिल्ला पठाउने अक्सिजन सिलिण्डर संयन्त्र, सिस्टमबाट जिल्ला अस्पताल वा संबन्धित ठाउँमा नपुर्याई पहुँचवालाले घरमा लगेर राख्नेर पहुँचवालाले मेरो पहँचमा ल्याएका भनेर हस्तान्तरण गर्ने जस्ता कामहरु हामी सबैको अगाडि भएकै हो ।

पछिल्लो पटक बहालवाला मन्त्री, सत्तारुढ दलका सांसद, विपक्षि सांसदले नै स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा सिफारिस पत्र पठाएर आफ्नो जिल्ला, क्षेत्रमा स्वास्थ्य उपकरण र उपचारका लागि थप रकम छुट्टाछुट्टै निकासा गर्न लगाउनु भएको र निकासा पश्चात् सो विवरण यहाँहरुले नै फेसबुक जस्तो जनस्तरको संजालमा प्रचार स्वरुप संप्रेषण गर्नु भएको सर्वसाधारण हामी नागरिकलाई विदितै छ ।

यदि यहाँहरुको जिल्ला, क्षेत्र, नातापाता, सरसम्बन्धमा यो महामारी नफैलिएको भए किन त्यस्तो पहुँचको आधारमा पत्र लेख्ने र थप रकम निकासा गराएको छु भनेर प्रचार गर्न पथ्र्यो र ? त्यसो नभएको भए हामीसँग जस्तो सिस्टम छ त्यो सिस्टमले आवश्यक ठाउँमा संबन्धित अस्पतालको माग र माग अनुपातमा आपूर्ति रहज रुपमा हुने थियो । यत्तिको विश्वास गर्न योग्य सिस्टम त यहाँहरुले बनाउनु भएकै थियो होला । 

थिएन भने पनि यहाँहरुले समय लिएर रातारात यो काम गर्नु पर्दथ्यो । स्वास्थ्य मन्त्रीले काम गर्न नभ्याउनु भएको हो भने क्षेत्र छुट्टयाएर काम गर्ने गरी मन्त्री, राज्यमन्त्री थप्न सक्नु हुन्थ्यो । तर त्यसो भएन । यहाँहरु सिफारिस लेख्ने र बजेट निकासा गराई निकास भएको बजेट विवरणमा स्वास्थ्य र अर्थ मन्त्रालयको पत्र होडबाजीका साथ सामाजिक संजालमा छर्न ब्यस्त हुनुभयो ।
 
यदि यहाँले प्रार्थना गरेको शक्तिले साँच्चै मान्छन् भने म १ दिन भोकै बसेर त्यसको आराधना गर्छु र भन्दछु, कोरोना कसैलाई लाग्दै नलागोस्, कसैको नातापाता सरसम्बन्ध कसैलाई नलागोस् । कोही नेपालीहरुलाई यो कोरोना लाग्दै नलागोस् । मिल्छ भने यो कोरोना विश्वबाटै लोप गराइदिनुहोस् । यति भए त यस विषयको टन्टै साफ । न खोप चाहियो, न पत्र लेख्नु पर्यो, न बजेट छुट्टयाउनु पर्यो । न त पोर्टोकल कै समस्या भयो ।

पत्र लेखेको बेलामा केही विधिको कुरा स्मरण गराउन चाहन्छु । राष्ट्रपतिले मन्त्रीपरिषद् वा प्रधानमन्त्रीबाट सिफारिस भएको कुरालाई सिधै वा परामर्श लिएर सदर गर्ने वा फिर्ता पठाउने हो । खोपको पत्र लेख्नको लागि पनि सोही मार्ग अपनाउनु पर्छ । अन्तर्राष्ट्रिय सम्बन्धको सीमाभित्र पर्दछ । कम्तिमा कसरी पहल गर्ने भनेर छलफल र सिफारिस हुनु पर्दछ ।

राष्ट्रपतिको आँखा, कान भनेकै मन्त्रीपरिषद् हो । सही भएको छ भने स्पष्ट गराइ दिने र त्रुटी भएको रहेछ भने सच्च्याउने वा भुल प्रकट गर्नु नेतृत्वको सामान्य आचरण हो । लोकतन्त्रमा सत्तामा बसेकाले आलोचकलाई ढुंगा बर्साउनु विधिसंगत हुँदैन । 

भौतिक बल प्रयोग नगरी मुलुकलाई एक सुत्रमा बाँध्न सक्नु नेतृत्वको महानता हो । सत्ता बाहिर रही विधि नाघ्नेलाई समेत लोकतान्त्रिक सम्वाद र विधिमार्फत विधिभित्र ल्याउनु राज्यसत्तामा बस्नेको दायित्वमा पर्दछ । चिनेको छु भनेर कुनै गैर सरकारी संस्थाका हाकिमले कुनै संचारगृहका सम्पादकले, कुनै ख्याती प्राप्त नागरिकले वा
कोही कसैले पत्र लेखेर मेरो मुलुकलाई यो देऊ भन्न मिल्दैन । 

चाहे त्योबाट मुलुकलाई जतिसुकै लाभ होस् या जस्तो सुकै अप्ठ्यारो परेको होस् । तर अति विशेष परिस्थितिबस मुलुकमा सरकार नभएको बेलामा भने जसले जे सक्यो त्यो पहल गर्नु पर्दछ र अहिले त्यस्तो अवस्था होइन । 

त्यसैले जसरी देश बाहिर प्रोटोकल हुन्छ, देशभित्र पनि केही प्रोटोकल हुन्छ । त्यो स्थापित प्रोटोकललाई आत्मसात् गर्ने हो भने विवाद कम र प्रगति बढि हुने छ । यो आस्था वा विश्वास नभएर नभई विधि मिचिने हो कि भन्ने शंकाले उब्जाएको अवस्था हो । समयमा नै ख्याल गरी समाधान गरौं । (बुर्लाकोटी सामाजिक कार्यकर्ता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ