काठमाडौं । गणतन्त्र अघि कुनै एक शासक वा शासकका आसेपासेहरुले सोझालाई ढाँट्थे । गणतन्त्र बहाली पछि अनियन्त्रित शासकहरुको उदय भयो । जहाँबाट दलीय वा गैरदलीय शासकहरुको विकास क्रम भएको मान्न सकिन्छ । यसमा पनि एउटा सदन शासक । अर्को सडक शासक । सामान्यतः मान्छेले अरुलाई नै ढाँट्छन् भन्ने भनाई छ । तर आज भोली आफैले लाफैलाई ढाँट्ने वा ठग्नेहरु समेत भेटिन थालेका छन् ।
अहिले यो रोगले आन्दोलनरत संघीय गठबन्धनका नेताहरुलाई छोएको छ । ६ महिना लामो सडक शासन गरेका संघीय गठबन्धन नेताहरु आफैले आफैलाई ठगिरहेका छन् । सरकारसंगको वार्ताकै कारण गठबन्धनभित्र खैलाबैला मच्चिएपनि उनीहरुले आफुभित्रका कमजोरी लुकाएर आफैले आफैलाई ठगिरहेको खुल्दै गएको छ ।
जेठ अन्तिम साताबाट काठमाडौंको खुलामञ्चमा १२ घण्टे रिले अनसन सुरु गरेका गठनन्धनका शीर्ष नेताहरु अहिले अनसन स्थल जान छोडेका छन् । सरकारसंगको वार्ताकै विषयलाई लिएर गठनन्धनका मुख्य घटकहरुबीचको विवाद चरम उत्कर्षमा पुगेका खबरहरु आइरहेपनि नेताहरु आफुहरु झन् एक ढिक्का हुन खाजेको भन्दै ढाँटिरहेका छन् ।
केही दिन अघि संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिले गठबन्धनसंग बार्ता गरौं, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठबन्धन भित्रै हो,–पछि कुरा मिलिहाल्छ नी भनेपछि आन्दोलनको चालक मधेसी मोर्चाका अन्य घटकहरु आक्रोशित बनेक छन् । राद्भावना अध्यक्ष राजेन्द्र महतोेले मोर्चाको आफ्नै अस्तित्व भएकाले गठबन्धन प्रमुख हो भन्नु वाहियात हो भनेका छन् ।
उपेन्द्र यादवले मधेसी मार्चा भन्दा संघीय गठबन्धन ‘पावरफुल’ बनाउन खोजेपछि मोर्चाका मुख्य घटकहरु यादवमाथि खनिएका हुन् । जसले संघीय गठबन्धन र मोर्चाका नेताहरुबीच रडाको मच्चिएको छ । यद्यपि, मोर्चा र गठबन्धनका नेता संचारकर्मीले हल्ला फैलाएको भन्दै कुरा लुकाइरहेका छन् ।
सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफुहरुलाई भाँड्न हल्ला फैलाइएको बताए । उनले भने, ‘पत्रकारहरुले हल्ला फैलाएका हुन् । हाम्रो अध्यक्षले के भन्नु भो मलाई थाहा छैन । उहाँले सबैलाई मिलाएर जाउँ र वार्ताको औपचारिक पत्रमा नफसौं भन्नु भएको हो ।’ सद्भावना अध्यक्ष महतो भने कहिले उपेन्द्रकै बेन्चम आउने र कहिले टाढाबाट प्रहार गर्ने गरिरहेकै छन् ।
उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमका बरिष्ठ नेता असोक राईलेसमेत आफुहरुभित्रको वाद प्रतिवादको बचाउ गरे । उनले भने, ‘हामीहरुबीचमा कुनै विभाजन छैन । विभाजनको हल्ला मात्रै हो ।’ यद्यपि, मधेसी मोर्चामा आवद्ध ७ दल मध्ये सद्भावना पार्टी, नेपाल सद्भावना, तराई मधेस लोकतान्त्रिक पार्टी, फोरम गणतान्त्रिक एकातिर उभिँदा महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी गठबन्धन छोड्ने मनस्थितिमा पुगेको बताइन्त । तमसपा अध्यक्ष रायलेसमेत आफ्नो असन्तुष्टी लुकाए । बैठकमा व्यस्त रहेका रायले भने, ‘हैन हामी छ झन् गठबन्धनलाई बलियो बनाउन खोज्दै छौं ।’ बाहिरिन कुरा गरेकै छैनौं ।
नेपाल सद्भावनाका अध्यक्ष अनिल झाले विभाजन नरहेको जिकिर गरेपनि उपेन्द्र यादवप्रतिको असन्तुष्टी पोखि हाले । उनले भने, ‘मैले भनेको हुँ, ज्यानको बाजी थाप्ने मोर्चा जस लिने गठबन्धन हुन सक्दैन । ‘मोर्चाको लासमाथि गठबन्धनको महल हुन सक्दैन’ मैले भनेकै हुँ ।
तर यो वार्ताको दृष्टीकोणबाट होइन ।’ वार्ताको कुरा गर्नु हुन्छ भने मधेसी मोर्चाको आफ्नै अस्तित्व छ, उनले थपे, ‘कसैले गठबन्धनको विषयलाई हावी गर्दै मोर्चाको अस्तित्व समाप्त पार्न खोज्छ भने सैह्य हुँदैन ।’ उपेन्द्र जी ले भने जस्तो पहिलो गठबन्धनसंग वार्ता गरौं अनि मोर्चासंग भइहाल्छ नी ! भन्ने कुरा भयो भने राम्रो हुँदैन ।
यसरी गठबन्धनमा आवद्ध मधेस केन्द्रीत दलहरु आपसमा द्वन्द्व गरिरहेका छन् । बाहिर भन्छन् हामी एक छौं । भित्र भित्रै आगो सल्किरहेको छ । आन्दोलनरत गठबन्धनका एजेण्डाहरु जति–जति थपिँदै गएका छन् उति नै आन्दोलन कमजोर बन्दै गएको छ । आफ्नै आन्दोलनका उपलब्धि गुमाउँदै गएका गठबन्धन नेताहरु आफैले आफैलाई ठग्ने वाक्युद्ध गरिरहेका छन् । जसकै फलस्वरुप सरकार मोर्चा र गठबन्धनको कमजोरीको फाइदा उठाउँदै कानमा तेल हालेर मस्त निदाएको छ ।