arrow

ओलीको वक्तव्यले नेपाल समूह दुई कित्तामा, दोस्रो तहका नेताहरू राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
nepal-khanal-cpn.jpg
फाइल तस्बिर

काठमाडौँ। आन्तरिक विद्रोहका लागि तयार भएका माधवकुमार नेपाललाई रोक्ने दोस्रो तहका नेताहरू सक्रिय भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने वक्तव्य जारी गरेका छन्। आइतबार राती जारी गरेको वक्तव्यमा नेपालले पक्षका केही नेताहरूले त्यसलाई ओलीको अलमल्याउने चाल र सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने जाल फ्याकेको बताउन थालेका छन्। खास गरी युवराज ज्ञवाली, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य तथा जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीले यसलाई ओलीको चलाखीपूर्ण अभिव्यक्ति भएको टिप्पणी गरे पनि ओली पक्षसँग निरन्तर संवादमा रहेका योगेश भट्टराईले सकारात्मक भनेका छन् । गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे भने मौन रहेका छन्।

उनीहरूले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् । उनीहरूले पार्टीभित्रै अन्त सङ्घर्ष गर्ने र त्यहीबाट अगाडी बढ्ने भनिरहेका बेला नेपालले नयाँ दल खोल्ने तयारी गरेका थिए । नेता नेपालले पुराना कम्युनिस्ट नेताहरूलाई समेत समेटेर नयाँ दल खोल्न लागेको थाह पाएपछि ओलीले आइतबार साँझ वक्तव्य निकालेर पार्टीलाई पुरानो अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए । ओलीको वक्तव्यपछि  नेपाल पक्षका नेताहरू स्पष्ट दुई कित्तामा बाँडिएका छन्। जसले गर्दा दोस्रो तहका केही नेताहरू माधव नेपाल लगायतले ओली वक्तव्यलाई आधार मानेर पार्टीमा फिर्ता भएनन् भने के गर्ने भन्नेबारेमा छलफलमा जुटेका छन्।

ओलीको सो वक्तव्य आएपछि नेपाल समूहले औपचारिक धारणा सार्वजनिक नगरे पनि उनीहरू आन्तरिक छलफलमा जुटेका छन् । त्यसका अतिरिक्त नेपाल समूहका नेताहरू योगेश भट्टराईकै नेतृत्वमा सुरेन्द्र पाण्डेको घरमा तीन घण्टासम्म छलफलमा जुटेका थिए । सो छलफलमा गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित केही नेताहरू पनि सहभागी थिए । उनीहरूले ओलीको वक्तव्यलाई सकारात्मक भने पनि भुसालले भने नैतिक रूपमा ओलीले संसद् विघटनको विषयमा आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले ओलीको वक्तव्यपछि नेपालले एमालेमै नरहने र नयाँ पार्टी खोल्ने बताए भने जुम मार्फत देशभरिका कार्यकर्तासँग एक पटक छलफल गर्ने सोच बनाएका छन् । ‘ चार नेताहरूले एक पटक देशभरका कार्यकर्तासँग पनि परामर्श गर्नै बताएका छन् चैत ४ गते कार्यकर्ताकै निर्देशनमा आन्तरिक सङ्घर्ष गर्ने नीति लिइएको थियो अब ओलीको वक्तव्यपछि उनीहरूको धारणा पनि बुझौँ एक पटक भन्ने उहाँहरूको कुरा छ’, छलफलमा सहभागी एक नेताले बताए।

नेपाल पक्षको किचन क्याबिनेटमा रहेका केही नेताहरूले भने योगेश भट्टराईकै कारण ओलीले यस्तो वक्तव्य जारी गरेको आरोप पनि लगाएका छन् । केही दिनयता पार्टी एकताको प्रयास भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग नियमित संवादमा रहँदै आएका नेता योगेश भट्टराई नै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको छ बुँदे प्रस्तावको डिजाइनर रहेको बताउन थालेका हुन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने बताउँदै आएका भट्टराईले महासचिव ईश्वर पोख्रेल मार्फत उक्त प्रस्ताव प्रधानमन्त्रीलाई पठाएको उनीहरूको दाबी छ ।

नेता भट्टराईले ओलीको प्रस्तावसँगै नेकपा एमाले अब एकताबद्ध एमालेको प्रक्रियामा प्रवेश गरेको बताएका छन् । ‘पार्टी भित्र युद्ध विराम भएको छ, अब एकताबद्ध भएर अघि बढ्नु पर्छ त्यो वातावरण प्रस्तावले निर्माण भएको छ र विभाजनमा जान लागेको त्यो बाट फर्किएको छ’, नेता भट्टराईले भनेका छन् । भट्टराईले आइतबार साँझ नै ओलीको प्रस्ताव सकारात्मक रहेको धारणा सार्वजनिक गरेका थिए । माधव नेपालको कित्तामा रहेका भनिएका भट्टराई पछिल्लो पटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल पक्षले सहयोग गरेको हस्ताक्षरमा सहभागी नभई ओली पक्षसँग निरन्तर छलफलमा रहँदै आएका थिए। उनले धेरै समयअघिदेखि पार्टी विभाजन गरेर जान नहुने धारणा राखेका थिए । उनको सो धारणाप्रति नेपाल पक्षकै विजय पौडेल, राजेन्द्र राई, प्रकाश ज्वाला तथा जगन्नाथ खतिवडाले आपत्ति जनाउँदै आएका थिए । तर भट्टराई ले पार्टी विभाजन हुनुभन्दा आत्मसम्मान सहितको एकताको बारेमा कुराकानी भइरहेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ