arrow

नेपाल पक्षको मतले जोगियो मुख्यमन्त्रीको भट्ट पद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
trilochan-bhatta.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गरिरहेका बेला माधवकुमार नेपाल समूहले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका छन्।

सुदूरपश्चिम सरकार जोगाउन एमालेका प्रदेशसभा सदस्यले भट्टलाई विश्वासको मत दिएका हुन्। एमालेका सांसदहरूको मतले माओवादीका तर्फबाट प्रदेश मुख्यमन्त्री बनेका भट्टको सरकार जोगिएपछि ओली समूहका केन्द्रीय सदस्य गोकुल बास्कोटाले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै माधव नेपाल पक्षका नेताहरूलाई काँग्रेस माओवादी भएको जनाएका छन्।

‘विधि, पद्धति, अनुशासन, सङ्घीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र काँग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना’, प्रधानमन्त्री निकट गोकुल बास्कोटाले भनेका छन्। उनले पार्टी एकता भङ्ग हुने सङ्केत समेत गरेका छन्।

भट्टलाई विश्वासको मत दिएपछि एमालेले उनीहरूलाई कारबाहीको तयारी गरिएको छ। पार्टीको निर्देशन र ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री भट्ट सरकारलाई विश्वासको मत दिएकाले उनीहरूलाई कारबाही हुने भएको हो। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलले भट्टलाई विश्वासको मत दिने सांसदलाई कारबाहीका पार्टीमा सिफारिस गरिएको बताए।

‘पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनेलाई कारबाही गरिने छ, पार्टीको निर्देशन विपरीत जानेलाई कारबाही हुन्छ, त्यसका लागि केन्द्रमा सिफारिस गराउने तयारी भइरहेको’, रावलले भने। मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन्। एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको थियो।

तर, केन्द्रको निर्देशन विपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्नुका साथै नेता माधव नेपाल पक्षले भट्टको मन्त्रिपरिषद्मा मन्त्री थप गरेको थियो।

त्यस लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका थिए। शाहले स्पष्टीकरणको जवाफ पनि दिएका छन्। तर, पाटीले कारबाही गरेको छैन। मुख्यमन्त्री भट्टले विश्वासको मत लिए लगत्तै माधवकुमार नेपाल समूहका नेता भीम रावलले भट्टलाई बधाई दिइसकेका छन्।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?’, नेता रावलले भनेका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन दुई दिन अघि पुरानो कमिटी व्यक्ताउने घोषणा गरे पनि नेपालले पक्षले त्यसलाई धोकाको संज्ञा दिएर सुदूरपश्चिम प्रदेशमा आफू निकटका सांसदलाई मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो। सोही अनुसार उनीहरूले मतदान गरेका हुन्। तर ओली पक्षले भने उनीहरूले पार्टीलाई विश्वासघात गरेको जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ