काठमाडौं । सर्वोच्च बार एसोसिएसनको यही शनिबार निर्वाचन हुँदैछ । निर्वाचनमा कडा टक्कर हुने देखिएको छ । निर्वाचनमा वृहत प्रजातान्त्रिक र प्रगतिशील गरी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसको नेतृत्वको प्रजातान्त्रिक धारसंग राप्रपा नेपालले सहकार्य गरेको छ । यो सहकार्यले यसै पनि प्रजातान्त्रिक धार बलियो देखिएको छ ।
त्यसमा पनि प्रजातान्त्रिकलाई मधेसी मोर्चा, राप्रपा तथा नयाँ शक्ति नेपाललेसमेत सघाउने वचन दिएको सचिवका उम्मेदवार विष्णु लुइटेलले बताएका छन् ।
लुइटेलले बारको इतिहास र अहिलेको अवस्था हेर्दा प्रजातान्त्रिकले बहुमत ल्याउने निश्चित भएको बताए ।
सर्वोच्च बारमा जम्मा पाँच सय ८० मतदाता छन् । यसमा प्रजातान्त्रिक धारको बहुमत छ । त्यसमाथि पनि राप्रपा नेपाल, मधेसी मोर्चा र नयाँ शक्ति नेपालले साथ दिएसंगै बहुमत आउने निश्चित छ ।
तर चुनाव हो । सोचेजस्तो हुँदैन । त्यसको कारण हो साइलेन्ट (शान्त) भनिने समूह । अर्थात् बिग हाउस, तटस्थ र सिनियर भनिनेबाट जहिले पनि निर्णायक बन्दै आइरहेको छ ।
साइलेन्ट बस्नेहरु कतिबेला भ्वाइलेन्ट बसिदिन्छन् पत्तो हुँदैन । तिनीहरु जुन धारमा आफ्नो भ्वाइस दिन्छन् त्यतै जित पक्काजस्ते हुने गरेको छ । त्यही आशामै छ प्रगतिशील धार ।
त्यो निर्णायकबाटै आफूहरूले जित्नेमा आशावादी रहेको प्रगतिशील समूहका उपाध्यक्षका उम्मेदवार नारायण प्रसाईले ठोकुवा गरेका छन् ।
प्रसाईले कम्युनिष्टजति सबै आफ्नै खेमामा रहेको त बताए नै राप्रपा नेपालको अर्को समूह पनि आफ्नै प्यानललाई सघाउन तयार रहेको बताए ।
त्यसैगरी प्रसाईले पनि मधेसी मोर्चा आफूहरूसंग नजिक रहेको जिकिर गरे । नयाँ शक्ति नेपालसमेत आफूहरूलाई सघाउन तयार रहेको प्रसाईको भनाइ छ ।
दुवै पक्षले तटस्थ बसेका दलका प्रतिनिधि जसले आफ्नोतर्फबाट उम्मेदवारी दिएका छैनन् उनीहरुले दुवै पक्षलाई भोट दिने बताइरहेका छन् । तर चुनाव हो यिनीहरु कसलाई मत दिन्छन् यसै भन्नसक्ने अवस्था छैन ।
विभिन्न तथ्य र विगत केलाउने हो भने शैलेन्द्रकुमार दाहाल नेतृत्वको प्रजातान्त्रिक धार बलियो अवस्थामा छ । त्यसैगरी राप्रपा नेपाल तथा माओबादीबाट बाहिरिएर खडा भएको नयाँ शक्तिको शक्तिले पनि प्रजातान्त्रिक अझै बलियो बन्ने देखिएको छ ।
तर रामप्रसाद भण्डारी नेतृत्वको प्रगतिशील पनि त्यत्तिकै जितका लागि विश्वस्त छ । साइलेन्ट बस्ने शक्तिले जसलाई भोट हाल्छ उसकै जित सुनिश्चित । आखिर कालोकोटका कुरा बुझ्न कठीन हुनेगर्छ । निर्णय शनिबार नै ।