गोरखा । गोरखाको केरौंजा गाविस –३ थलिम्बुमा पहिरो जँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक छ ।
अविरल वर्षापछि आएको पहिरोमा परी केरौंजा – ४ का सदिन्प भनिने वर्ष १५ का सन्देश घले, अन्दाजी वर्ष ३५ की चिनमाया घले र वर्ष ४० की कान्छिमाया घले गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक मनमोहन उपरकोटीले जानकारी दिए ।
पहिरोमा परी घाइने हुने केरौंजा –३ का १३ वर्षीय सुकराम घलेको अवस्था चिन्ताजनक छ । यस्तै, घाइते हुने केरौंजा –४ का टुंगे गुरुङ र उकाल गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पहिरोले भत्काएको बाटो मर्मत गर्न गएकाहरु मंगलबार बिहान ११ बजे आएको पहिरोले पुरिएका हुन् । यद्यपि, प्रहरीले बाटो मर्मत गरिरहेको ठाउँमा पैदल यात्रा गरेकाहरु पुरिएका जनाएको छ ।मृतकको शव पहिरोबाट निकालिएको बताइएको छ । घाइतेहरुलाई उद्दार गरी उपचारका लागि स्वास्थ्य चौकीमा लगिएको छ ।
अघिल्लो साता मात्रै केरौंजामा पहिरो आएपछि केरौंजा गाउँका अघिकांश बासिन्दा विस्थापित भएका थिए । २०७२ वैशाख १२ गते को भूकम्प लगत्तै केरौंजामा पहिरो गएको थियो ।