सर्लाही । सर्लाहीको ढुंगेखोलाको धरहरा चोकमा प्रहरीले सुकम्वासीमाथि बल प्रयोग गरेको छ । सरकारले सुकुम्वासीको पहिचान र पुनःस्थापना नगरी वल पूर्वक बस्ती उठाउन थालेपछि स्थानीयले प्रतिकार गर्न खोज्दा प्रहरीले सर्लाही ढुङ्ग्रेखोलाको धरहराचोकमा रबरका गोली र अश्रुग्यास प्रहार गरेको हो ।
सुकुम्बासीका घर टहरा समेत तोडफोड गरेको प्रहरी धरपकडमा परी चार जना सख्त घाइते भएका छन् । घाइते एक जनालाई थप उपचारका लागि भरतपुर लगिएको स्थानीयले बताएका छन् । प्रहरीले स्थानीयले लगाएको मकैबारी समेत नास गरेको छ । यसअघि जिल्ला वन कार्यालयका वन अकिृतसंग भएको पाँच बुँदे सहमतिलाई लत्याएर सरकारले सुकुम्बासीमाथि बल प्रयोग गर्न लगाएको बताइएको छ ।
वन अधिकृतसंगको सहमतिमा सकुम्वासी पहिचान, व्यवस्थापन लगायत सहमति भएको बताइन्छ । २०३५ सालमा तत्कालिन राज परीवारले सुरु गरेको सागरनाथ वन परियोजनामा अहिले सरकारका अधिकारी र वन माफियाहरुको राज चलेको स्थानीयको भनाई छ। प्रहरी दमनपछि एक स्थानीयले भने, ‘राज परीवारले सुरु गरीदिएको परीयोजनालाई अहिले वृक्षारोपणका नाममा माफियाहरुले चरम दुरुपयोग गरिरहेका छन् । सो वन क्षेत्रमा २०६५ देखि बसेका स्थानीयको संख्या ७ हजार बढी छ ।
गोली हानेको होइन, अश्रु ग्याँसमात्रै प्रहार भएको हो
सर्लाही प्रहरीले आफुहरुले अश्रुग्यास मात्र हानेको गोली नहानेको बताएको छ । सर्लाही प्रहरी प्रमुख एसपी उत्तम सुवेदीले भने, ‘स्थानीको वस्ती उठाउन खोजिएको होइन । वन परीयोजनाले स्थानीयले हडपेर खेती गरेको क्षेत्रमा वृक्षारोपण गर्न खोज्दा हामीले सुरक्षा मात्रै दिएका हौं ।’ अन्य कुरा परीयोजनालाई नै थाहा होला । अकुपाई गरेर उनीहरुले गरेको खेती फाँड्न खोज्दा प्रतिकार गरे । ढुंगा मुढा गरे। त्यसपछि बल प्रयोग गरिएको हो–एसपी सुवेदीले भने ।