arrow

कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
paddy-ropai.jpg
फाइल तस्बिर

दाङ। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ। दाङ जिल्ला पनि यसबाट अछुतो छैन। केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा रहेको थियो, त्यसैले यहाँ अहिले पनि निषेधाज्ञा हटेको छैन। पछिल्लो हप्ता भने यहाँको अवस्थामा कमी आएको छ। अस्पतालमा शय्या पाइन थालिएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि स्वात्तै घटेको छ। जिल्लाका स्वास्थ्य अधिकारी कोरोनाको कहर घटेको तर नहटेको बताउँछन्।

यसबीचमा यहाँका किसान खेतीपातीको काममा जुट्न थालेका छन्। उनीहरू अहिले भने धान रोपाइँमा व्यस्त छन्। यसपालि मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जरी रहेकाले खेती गर्न सजिलो भएको किसान बताउँछन्।

विगतका वर्षमा जिल्लामा असार मध्यतिरबाट मात्र धान रोपाइँले गति लिन्थ्यो तर यसपालि असार लाग्दै गर्दा किसानलाई धान रोपाइँको चटारोले छोएको छ। समयमै  वर्षा सुरु भएकाले किसानलाई धानको बीउ राख्नदेखि रोप्नेसम्मको काममा भ्याइन भ्याइ छ। मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा व्यस्त देखिएका छन्।

लगातार परेको पानीका कारण आफूलाई धान रोपाइँमा सजिलो भएको बताउनुहुन्छ तुलसीपुर उपमहानगरपालिका–६ का ३४ वर्षीय डिल्ली चौधरी। उनी भन्छन्, “विगतका वर्षमा समयमा पानी नपर्दा आकाश हेरेर बस्नुपर्ने हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन।” कोरोनाको कहर भए पनि वर्षभरि खाने अन्य बाली धान नै भएकाले जोखिमै लिएर भए पनि काम त गर्नै पर्‍यो भन्छन् चौधरी। उनी भन्छन् “विगतका वर्षमा गोरुले खेत जोत्नु पर्दथ्यो, समय धेरै लाग्थ्यो, अहिले भाडामा हाते ट्र्याक्टर ल्याएर जोतियो, त्यसैले समयको बचतसँगै काम गर्न पनि सजिलो भयो।”

आजभोलि काममा धेरै व्यस्त भएर होला कोरोनाको डर पनि कम लाग्ने गरेको उनले बताए। डर कम भए पनि सावधानी भने अपनाएर काम गरिरहेको उनले बताए। उनले यस पटक पहिलो रोपाइँ असार ६ गतेदेखि सुरु गरेको बताए। जेठको दोस्रो सातामा ब्याड राखेको र छिटै रोप्न बीउ पनि तयार भएको उनले भने।

घोराही–६ निवासी महेश चौधरीलाई पनि यो झरीले घरभित्र रोक्न सकेन। उनी धान रोप्न खेतसम्म पुगेका छन्। “एकनास झरी पर्दा खेती गर्न सजिलो भएको छ”, महेशले भने,  “पानी नहुँदा धान कसरी रोप्ने भन्ने चिन्ता हुन्थ्यो। यसपालि पानीले राम्रो साथ दिएको छ।” यस पटक रोपाइँका लागि समयमै रासायनिक मल पनि प्राप्त भएकाले खेती राम्रो हुनेमा आफू ढुक्क भएको उनको भनाइ छ।

लमही नगरपालिका–५ की ३५ वर्षीया सीता चौधरी पनि आजभोलि धान रोपाइँमा व्यस्त भएको बत्ताउँछन्। त्यहाँको एक निजी विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत उनी अहिले कोरोनाका कारण विद्यालय बन्द हुँदा दिनहुँ धान रोपाइँमा जाने गरेको बत्ताउँछन्। दाङको देउखुरी क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने गरेको छ। यस पटक कोरोनाका कारण घरभित्र धेरै समय बिताएका यहाँका किसान खेतीपातीको समय नजिकिएपछि भने खेतबारीमा काम गर्न थालेका देखिएको छ। देउखुरी क्षेत्रमा खेतीका लागि प्रविधिको प्रयोग बढ्दो छ।

दाङमा रासायनिक मलको अभाव छैन
दाङमा  कोभिड–१९ का कारण किसानलाई आलोपालो गरेर रासायनिक मल वितरण गरिए पनि अभाव भने नरहेको सम्बन्धित कार्यालयले जनाएको छ। धान खेतीका समयमा किसानले मल लगेर रोपाइँको काम बढाइरहेका छन्। सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउँदा अनुदानमा बिक्री गरिने युरिया र डिएपी मलको अभाव नभएको निकायले जनाएका छन्।

खेतीपातीको समय सुरु हुँदा कोभिड–१९ का कारण ढुवानीमा केही दिन ढिला भए पनि सरकारले अनुदानको मल उपलब्ध गराउँदा किसानलाई मलको अभाव भएन। त्यस्तै यहाँ सहकारीका माध्यमबाट किसानलाई मल दिने व्यवस्था गरिँदै आएको छ।

सरकारले किसानको मागको आधारमा मल वितरण गरेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले बताए। कृषि केन्द्रले बजार मूल्यभन्दा ७० प्रतिशत सस्तोमा मल बिक्री गर्ने भएकाले मलको माग अत्यधिक हुने गरेको उनले बताए।

यस वर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्र तुलसीपुरले गत जेठ मसान्तसम्म दुई हजार २९४ दशमलव ५० मेट्रिकटन युरिया बिक्री गरिसकेको छ। यस्तै दुई हजार २७० दशमलव ४०० मेट्रिकटन डिएपी बिक्री गरिसकेको छ। असी दशमलव तीन मेट्रिकटन पोटास र २१ मेट्रिकटन कृषि चुन वितरण गरिएको न्यौपानेले जानकारी दिए।

मल बिक्रीका लागि तुलसीपुर उपमहानगरपालिकामा ९२, दंगीशरणमा ११, बबईमा ८ र शान्तिनगर गाउँपालिकामा १४ सहकारी संस्थाले अनुमति पाएका प्रबन्धक न्यौपानेले बताए।

घोराहीले ५४ सहकारीमार्फत रासायनिक मल बिक्री गर्दै आएको छ। एक हजार ८३१ मेट्रिकटन युरिया, एक हजार ६३० मेट्रिकटन डिएपी र ९४ मेट्रिकटन मलका साथमा पोटास बिक्री गरेको घोराही कृषि सामग्री केन्द्रका प्रमुख टोपाराम गौतमले जानकारी दिए। घोराही शाखाले रुकुम जिल्लाको आपूर्ति पनि गर्ने गरेको छ। प्रबन्धक गौतमले यस वर्ष मलको अभाव नभएको बताए। कार्यालयले दाङ जिल्लासहित रोल्पासमेतमा मल बिक्री गर्दै आएको छ।

यस वर्ष किसानलाई मलको साथमा पोटास पनि बिक्रीका लागि राखिएको छ। पोटासको महत्त्वका बारेमा किसानलाई जानकारी नहुँदा पोटास किन्नलाई धेरै उत्साही भएनन्। माटोको अम्लीय पनबाट जोगाउन पोटासको महत्त्वपूर्ण भूमिका हुने भएकाले यसको महत्त्वको बारेमा किसानलाई जानकारी दिनु आवश्यक रहेको उनको भनाइ छ।

प्रबन्धक गौतमका अनुसार केन्द्रले घोराहीका ४१, बङ्गलाचुलीका छ र रोल्पाका सात सहकारीमार्फत मल बिक्री गर्दै आएको छ। युरियाको मूल्य प्रति बोरा ८७१, डिएपीको प्रतिबोरा दुई हजार २७१ र पोटासको प्रतिबोरा रु एक हजार ६७१ रहेको छ। गत वर्ष मलको अभाव भएका कारण यो वर्ष फागुन महिनामै अधिकांश किसानले मल खरिद गरिसकेको प्रबन्धक गौतमले जानकारी दिए।

त्यसै गरी लमहीले ११ दशमलव ६५० मेट्रिकटन युरिया, र एक हजार २४१ मेट्रीकटन डिएपी १३३ दशमलव ४५० पोटास र कृषि चुन पाँच दशमलव चार मेट्रिकटन बिक्री गरेको कृषि शाखा कार्यालय लमहीका प्रमुख घनश्याम कहारले जानकारी दिए। लमही केन्द्रले लमही नगरपालिकामा १८, गढवामा १३, राजपुरमा ६ र राप्ती गाउँपालिकाका सात वटा गरी जम्मा ४५ वटा सहकारीमार्फत मल वितरण गर्दै आएको छ।

किसानले एक वर्षलाई पुग्ने मल एकै याममा राख्न खोज्ने भएका कारण मल सबैलाई भनेजती नपुगेको उनले बताए। “मल कार्यालयमा मौज्दात हुन्छ, आवश्यक परेको समयमा किसानलाई वितरण गरेका छौँ, पछिलाई चाहिन्छ भनेर कसैले पनि चाहिने भन्दा धेरै मल राख्नु हुँदैन” उनले भने।

यसै गरी लमहीका लागि युरिया प्रति मेट्रिकटन रु १६ हजार  ३२०, डिएपी प्रति मेट्रिकटन रु ४५ हजार ३२० र पोटास प्रति मेट्रिकटन रु ३३ हजार ३२० निर्धारण गरेको छ।

कृषि सामग्री केन्द्र लिमिटेडले घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले मलको मूल्य निर्धारण गरेका छन्। त्यसै गरी लमहीका लागि युरियाको रु १६ हजार ३२० प्रति मेट्रिकटन, डिएपी रु ४५ हजार ३२० र रु सात हजार ४०० मा कृषि चुन बिक्री मूल्य मूल्य तोकिएको छ।

घोराहीका लागि  युरिया प्रति मेट्रिकटन १६ हजार ४२०, डिएपि प्रति मेट्रिकटन ४५ हजार ४२०  र पोटास प्रति मेट्रिकटन ३३ हजार ४२० निर्धारण गरेको छ। तुलसीपुरका लागि युरिया प्रति मेट्रिकटन १६ हजार ५२०, डिएपी प्रति मेट्रिकटन ४५ हजार ५२० र पोटास प्रति मेट्रिकटन ३३ हजार ५२० निर्धारण गरेको छ।

दाङमा लोप हुँदै रैथाने जातका धान
दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन्। अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुलीलगायतका धान रोप्ने गर्दथे। अहिले ती सबै जातका रैथाने धाने लोप हुँदै गएका छन्। पछिल्लो समयमा हाइब्रिड धानको बीउ प्रयोगमा आएपछि रैथाने धान लोप हुन थालेको किसान बत्ताउँछन्। यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएका वर्ण सङ्कर जातका धान लगाउँदै आएका छन्।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाउने गरेका छन्। रैथाने धान राधा सात, मन्सुली, तिल्कीजस्ता धानले कम उत्पादन दिने भएकाले हाइब्रिड जातका धान रोप्ने गरेको किसान बत्ताउँछन्।

कृषि ज्ञान केन्द्र कार्यालय दाङको तथ्याङ्कअनुसार दाङ जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर रहेकोमा खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहेको छ।

दाङमा धान खेती हुने कुल जमिन ६५ हजार ९८० हेक्टर रहेको छ। दाङमा बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए। मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ। यस वर्ष समयमा पानी परेकाले उक्त जमिनमा बाली उब्जनी हुने र बाँझै नरहने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ