काठमाडौं । नेपाली युवाहरुले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन भन्दै सत्ताधारी एमालेलाई ज्ञापनपत्र बुझाएका छन् । एमाले केन्द्रीय पार्टी कार्यालय धुम्बाराही पुगेका युवाहरुले अख्तियार प्रमुखलाई बर्खास्त गर्न भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले बुझाएको ज्ञापनपत्रमा अख्तियार प्रमुख कार्कीले देखाएका विभिन्न गतिविधि जनभावनामै चोट लाग्ने खालका भएका उल्लेख छ । ‘कार्कीले सवैधानिक अंगको गरीमा र मर्यादालाई लत्याउँदै गरिरहेका क्रियाकलापबाट नेपालको संविधान २०७३, विधिकार शासन, शान्त एवं सम्वृद्ध नयाँ नेपाल निर्माणका खातिर प्राणको आहुती दिने वीर शहीदहरुको अपमान भएको छ’– कडा भाषामा लेखिएको विज्ञप्तीमा भनिएको छ ।
चिकित्साशास्त्र विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेको मागमा हदै सम्म गिरेर विज्ञप्ती प्रकाशन गर्नु, पूर्वाञ्चल, पोखरा र मध्यपश्चिमाञ्चल विश्व विद्यालयका सम्मानित पदाधिकारीमाथि ज्यादतीपूर्ण छानविन र कार्कीको असफताले नियत छर्लङग भएको युवाहरुको तर्क छ । उनीहरुले अखिल नेपाल फुटबलसंघ एन्फाको भ्रष्टाचारबारे मौन बस्नु लगायत कार्कीका थुप्रै वद्नियत प्रष्ट भएको भन्दै हिजो पनि नेपाली कांग्रेसलाई ज्ञापनपत्र बुझाएका थिए ।