काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको उपचारमा उनकै श्रीमती डा. सुपात्रा कोइराला सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा. सुपात्राले निरन्तर डा. सशांकको निगरानी गरिरहेकी छिन् । गम्भीर विरामी परेपछि चावहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा ८–१० जनाको चिकित्सकको टोलीले डा. कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकले डा. कोइरालाको अवस्था ‘स्टेबलाइजिङ्ग’ रहेको बताएका छन् ।
न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो । अहिले स्वासप्रश्वासमासमेत समस्या भएको छ ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोइरालाको गम्भीर अवस्थामा बिहान साँढे ५ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए ।
केही बेरमै चिकित्सकको टोलीलेसमेत डा। कोइरालाको स्वास्थ्यको बारेमा ब्रिफिङ गर्ने जनाएको अस्पताल स्थलबाट हाम्रा सहकर्मी अखिल सिटौलाले जानकारी दिएका छन् ।
महामन्त्री कोइरालालाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा रामशरण महतलगायत सयौंको संख्यामाओम अस्पतालमा पुगिसकेका छन् । त्यस्तै सयौं काँग्रेस कार्यकर्ता र अरु दलका नेता पनि अस्पतालमा पुगिसकेका छन् ।