काठमाडौं । गम्भीर (स्टेबलाइजिङ) अवस्थामा चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य गम्भीर तर स्थीर अवस्थामा आइपुगेको छ । केही समयअघिमात्र स्थीर अवस्थामा ल्याउने प्रयास भइरहेको बताएका चिकित्सकले अहिले पत्रकार सम्मेलन गरी गम्भीर तर स्थीर रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा दिइएको प्रेस विज्ञप्ति अनुसार डा. कोइरालाको रक्तचाप ६०–४० बाट बढेर ९०–६० हुन पुगेको छ । त्यसैगरी मुटुको गति १३० प्रति मिनेटमा आइपुगेको छ । विभिन्न परीक्षणपछि डा.कोइरालाको फोक्सोमा गम्भीर प्रकृतिको न्यूमोनिया देखिएको छ । मेसिनको सहायताले स्थीर बनाइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा। कोइरालाको उपचार गरिरहेको छ ।
चिकित्सकको टोलीले तत्काल भारतको एपोलो अस्पतालमासमेत सल्लाह लिइसकेको जनाइएको छ । डा.कोइरालालाई भारतमा लैजानेबारे भने चिकित्सकहरु ढुक्क हुन सकेका छैनन् । विमानस्थलसम्म कोइरालालाई लैजान कठिन हुने भएकाले तत्काल यो सम्भव नभए पनि १२ बजेपछि छलफल गरेर निर्णय गरिने चिकित्सकले जनाएका छन् ।
उपचारमा उनकै श्रीमती डा सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा सुपात्राले निरन्तर डा। सशांकको निगरानी गरिरहेकी हुन् । डा. सुपात्राले भने यहाँ एकसे एक चिकित्सक भएकाले डा. कोइरालालाई विदेश लैजान नपर्ने प्रतिक्रिया दिएकी छिन् ।
न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार राति भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो ।
वान्ता स्वासप्रश्वास नलीमा गएपछि डा कोइरालाको स्वास्थ्यमा थप जटिल समस्या परेको हो । गम्भीर अवस्थाका काँग्रेस महामन्त्री कोइरालालाई एयर एम्बुलेन्समार्फत भारत लैजानेबारेसमेत नेताहरुबीच छलफल चलिरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्नका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। रामशरण महतलगायत सयौंको संख्यामाओम अस्पतामा पुगिसकेका छन् ।
त्यसैगरी प्रधानमन्त्री केपी ओली पनि अस्पाल पुग्नु भएको छ । त्यस्तै सयौं काँग्रेस कार्यकर्ता र अरु दलका नेता पनि अस्पतालमा पुगिसकेका छन् ।