arrow

नेपाल विपक्षी गठबन्धनसँग टाँसिए पनि निकटहरू ओलीसँग दुरी घटाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
oli-nepal-1619092070.jpg
फाइल तस्विर।

काठमाडौं । एमालेभित्रको आन्तरिक विवाद टुङ्ग्याउन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षका नेताहरू रस्साकस्सीमा छन् । उनीहरूले एक दुई दिनभित्र परिणाम निस्कने गरी काम थालेका छन् । ‘हामी एक दुई दिनभित्रै परिणाम निकाल्छौ’, ओली पक्षका उच्च नेताले जानकारी दिए । तर नेपाल पक्षभित्र भने यो विषयलाई सबै नेताहरूले गम्भीर रूपमा लिएका छन् । केही नेताहरूमा भने छटपटी समेत सुरु भइसकेको छ । 

पछिल्लो पटक नेपाल पक्षबाट बाहिरिएका सांसदहरू राजबहादुर बूढा र जयकुमार राई फेरि नेपाल पक्षतिर ढल्केको केही समयमा ओलीले पार्टीको विवाद मिलाउने कोसिस गरेका हुन् । सर्वोच्च अदालतको फैसलाले मन्त्रिपरिषद् विस्तारलाई अस्वीकार गरेपछि घाइते बनेका ओलीले सकेसम्म माधव नेपाललाई नै पार्टीभित्र ल्याउने र नसके पनि अहिले नेपाल समूहले उठाएका सबै माग पूरा गरेर त्यो समूहका सबै नेताहरूलाई पार्टीभित्र ल्याउने कोसिस थालेका हुन् । माधव नेपाल नै पार्टीमा आउन भन्ने हाम्रो चाहना छ यद्यपि उहाँ आउन भएन भने पनि उहाँहरूले उठाएका विषयलाई पूरा गरेर भए पनि सबै जनशक्ति पार्टी पङ्क्तिबाट बाहिर जान दिने छैनौ’, ओली निकट स्रोतले भन्यो । 

यता नेपाल निकटका नेताहरू पनि पार्टी मिलाउने तहको अन्तिम छलफलमा रहेको बताएका छन् । उनीहरूले पनि सबै विषयहरूलाई महाधिवेशनमा छलफल गर्ने गरी अदालतको आदेशलाई आधार मानेर पार्टीको विवाद मिलाऊ भन्दै ओली पक्षलाई आग्रह गरिरहेका छन् । यसमा ओली सकारात्मक रहेका छन् । 

ओलीले पार्टी मिलाउने गरी छलफल थालेपछि नेपाल समूहका भीम रावलको भने छटपटी सुरु भएको छ । नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टहरूले प्याकेजमै कुराकानी गरेर माधव नेपाललाई समेत ‘कन्भिन्स’ गरे भने आफू पछि परिन्छ भन्ने लागेपछि अहिले नेता रावल विभिन्न सूत्रलाई प्रयोग गरेर बालुवाटारसँग अघोषित कुराकानीमा रहेको स्रोतको दाबी छ । 

शनिवार विपक्षी गठबन्धन दलका नेताहरूले आयोजना गरेको अन्तर्क्रियामा सहभागी रहेका रावल मञ्चमा मुस्किलले २० मिनेट जति बसे । बाकी समय उनी बाहिरै बसेर फोनमा व्यस्त रहे । कार्यक्रमको अन्तिम मात्रै मञ्चमा देखिएका उनले कार्यक्रम सकिएपछि सामाजिक सञ्जालमा पार्टी एकतामा प्रतिबद्ध रहेको भन्दै एकता छिन्न भिन्न नहोस् भनेर सचेत रहेको बताएका थिए । 

‘हामी एमालेको पूर्ववर्ती सङ्गठन (कोर्डिनेसन केन्द्र) को कालदेखि आजसम्म नियमित रूपमा प्रतिबद्ध व्यक्तिहरू हौं । हामी निश्चय पनि पार्टी एकता होस्, छिन्नभिन्न नहोस् भन्ने चाहन्छौं । त्यसै कारण जब सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अलग–अलग भए भन्ने आशयबाट फैसला गर्‍यो त्यस लगत्तै हामीले अब एमालेको नवौं महाधिवेशनबाट निर्णय र विधानबमोजिम सम्पूर्ण संरचना क्रियाशील बनाउन भन्यौं । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्षले मान्नु भएन’, उनले भनेका छन् । 

उनले पदाधिकारी सहित ओलीले सबै संरचना भत्काएर अघि बढेका कारण समस्या आएको भन्दै चित्त दुखाएका छन् । ‘उहाँले फागनु २८ गते पार्टीको विधानविपरित आधाभन्दा बढी केन्द्रीय सदस्यलाई खबर नगरी बालुवाटारमा बैठक गर्नुभयो । र, केन्द्रीय कमिटीलाई विधानविपरित भंग गर्दिनु भयो । हामी राष्ट्रिय महाधिवेशनबाट निर्वाचित धेरै जनालाई उहाँले जिम्मेवारीबाट मुक्त गरिदिनु भयो । यो कारणले समस्या भएको हो । उहाँले यो नगरेको भए आन्तरिक रूपमा हाम्रा मतभेद भए पनि एउटा प्रक्रियाबाट अगाडि बढ्थ्यौं । त्यो उहाँले समाप्त गरिदिनु भयो । त्यसबाट हामी अत्यन्तै दुखित थियौं । त्यसैले आज पनि हामी एमालेको नवौं महाधिवेशनको मार्गनिर्देशन, सिद्धान्त, नीति, विधानअनुरुप क्रियाशील हुने सुनिश्चित होस् भन्ने चाहन्छौं’, उनले भनेका छन् । अरू बेला ओली प्रति निकै कडा रूपमा प्रस्तुत हुने रावलले शनिवार साँझ निकै नरम टिप्पणी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ