काठमाडौं। क्रिष्टियानो रोनाल्डोको किर्तिमानी गोलका साथ पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै युरो २०१६को फाईनलमा आफ्नो स्थान पक्का गरेको छ।
खेलको ५०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई १-० गोलको अग्रता दिलाएका थिए। कर्नरबाट पाएको क्रसलाइ आफ्नो ट्रेडमार्क स्टाईलमा रोनाल्डोले हेड गर्दै गोल गरेका थिए।
उक्त गोलका साथ रोनाल्डोले युरो कप प्रतियोगीतामा सार्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन्। उनले फ्रान्सका माईकल प्लाटिनीको ९ गोलको रेकर्ड बरारब गरेका हुन्।
खेलको ५३औं मिनेटमा पोर्चुगलकालागि नानीले गोल गर्दै जित सुनिश्चित पारेका थिए। रोनाल्डोको क्रसमा नानीले गोल गरेका थिए।
खेलको पहिलो हाफमा रोनाल्डो र गारेथ बेलले केही राम्रा मौकामा गोल गर्न चुकेका थिए। बेलले केही राम्रा 'लन्ग रेन्ज' आक्रमणहरु पनि गरेका थिए।
पहिलो पटक युरो फुटबल खेलीरहेको वेल्सको सेमिफाईनलसम्मको यात्रा आफैमा ठूलो उपलब्धिका रुपमा हेरिएको छ। वेल्सलाई आजको खेलमा मध्यबागबाट खेल्ने एरोन राम्सेको गैरउपस्थितीले गाह्रो बनाएको प्रष्ट देखिएको थियो। उनले प्रतियोगीतामा २ पहेंलो कार्ड खाएकाले सेमिफाईनलबाट बाहिर बसेका थिए।
समुह चरणमा तेस्रो भएर दोस्रो चरण पुगेको पोर्चुगल फाइनल प्रवेश गरेको छ। युरो २०१६मा सेमिफाईनल बाहेकका कुनै पनि खेल पोर्चुगलले ९० मिनेट भित्र जितेको थिएन्।
पोर्चुगलले दोस्रो सेमिफाइलका बिजेतासँग फाईनल खेल्ने छ। दोस्रो सेमिफाइनलमा फ्रान्स र जर्मनी भिड्दैछन्।