arrow

ओलीको चालले नेपाल समूह अघोषित रूपमा विभाजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद निरूपण गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले महाधिवेशन आयोजक कमिटी भङ्ग गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह अघोषित रूपमा विभाजित भएको छ । पार्टीका सबै साङ्गठनिक संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएर एकताबद्ध रूपमा अगाडि बढाउने ओलीको घोषणापछि नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू अहिले पनि विवाद मिलाउने विषयमा छलफल जुटेका छन् भने केही नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्नु हुँदैन भन्दै नेपाललाई घेराबन्दीमा राख्न खोजेका छन् । 

नेपाल समूहका नेताहरू मध्ये सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य बुधवार साँझ र बिहीबार बिहान पनि ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल , विष्णु रिमालसँग छलफल गरेका छन् । उनीहरूले पार्टी एकतामा जोड दिइरहेका बेला नेपाल समूहका अर्का थरी नेताहरू भने ओलीसँग मिल्न नहुने पक्षमा जोड दिइरहेका छन् । युवराज ज्ञवाली, जगन्नाथ खतिवडा, बेदुराम भुसाल, विजय पौडेल, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायतका नेताहरूले नेपाललाई घेराबन्दीमा राखेका छन् । पार्टी विवादलाई मिलाउनु पर्छ भनेर लागिरहेका योगेश भट्टराई भने बुधवार दिनभर र बिहीबार बिहानसम्म नै मौन रहेका छन् । 

हामी दुवै नेताहरूको सल्लाहमै छलफलमा जुटेका छौ कोही कसैले आफूहरूभन्दा बाहिर गएर छलफल गरेको छ भन्न पाउने अवस्था छैन’, संवादमा बस्नु अघि सुरेन्द्र पाण्डेले भने । उनका अनुसार धेरै कुरामा विवाद मिलिसकेको छ र परिणाम आउन मात्रै बाँकी रहेको छ । माधव नेपाल समूहका केही कट्टर सदस्यहरूले यथास्थितिमा १८ गते तोकिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने जनाएका छन् । उनीहरूले प्याकेजमै सहमति हुनुपर्ने धारणा राख्दै आएका छन् । आज नेपाल समूहको स्थायी कमिटीको बैठक छ । यही बैठकबाट उनीहरूले आफ्नो धारणा सार्वजनिक हुने बताइएको छ । नेपाल पक्षको बैठक बस्नु अघि पाण्डे, भुसाल, विष्ट र आचार्य ओली पक्षका नेताहरूसँग छलफलमा जुटेका हुन् । 

ओली पक्षले बुधवार दिउसो प्रस्तावित महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै आठ नेतालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो । महाधिवेशन आयोजक कमिटीको नाममा भए गरेका एमालेका कामकारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने गरी एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउँदै माओवादीबाट आएका नेतासहित आठलाई स्थायी कमिटीमा मनोनयन गरेको थियो । 

बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको हो । त्यसमा ओली र नेपाल पक्षका दुई दुई जना तथा माओवादीबाट एमालेका आएका चार जनालाई स्थायी कमिटीमा मनोनयन गरेका हुन् । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारबाही समेत फिर्ता भएको थियो । 

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।  उनीहरूको मनोनयन अवैधानिक भएको नेपाल पक्षले टिप्पणी गरेका छन् । उहाँहरूलाई मनोनयन गर्ने विषयमा हाम्रो विमति रहँदैनथ्यो तर प्रक्रिया त गलत छ नि ओली पक्ष मात्रै सहभागी भएको बैठकले मनोनयन गर्ने होइन संयुक्त बैठकले मनोनयन गर्ने भएकाले फेरी पनि ओलीले प्रक्रिया मिचेको नेपाल समूहको आरोप छ । पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक डाक्नु अघि ओली–नेपालबीच कुराकानी गर्नुपर्ने, स्थायी कमिटीको बैठक बस्नु पर्ने त्यसपछि मात्रै केन्द्रीय कमिटीको बैठक बस्नु पर्ने जस्ता विषयहरूमा नेपाल पक्षले असहमति जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ