arrow

आगोले जलेर ज्यान गुमाएकी कुलमायाको परिवारलाई घर हस्तान्तरण 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ असार १८ शुक्रबार
kulmaya-house.jpg

झापा ।  दुई वर्ष अघि आगोले जलेर ज्यान गुमाएकी झापा, कमल गाउँपालिका वडा न  ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाहरूको सक्रियतामा निर्माण गरिएको  घर आज शुक्रवार  हस्तान्तरण गरिएको छ । आगोले जलेर देवी बहादुर बस्नेतका २२ वर्षीया छोरी कुलमायाको मृत्यु भए पश्चात्  पीडित परिवारलाई स्थानीय युवाहरुले सहयोग जुटाएर   सुरक्षित बसोबासका लागि घर बनाइदिएका हुन् ।

उपचारका क्रममा कुलमायाको मृत्यु भएपछि घरबार विहीन बनेका बस्नेत परिवारलाई  बसोबासको व्यवस्थाका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताए । राई सहित मनकारी युवाहरूको  समितिले सरसहयोग जुटाएर  घर  निर्माण गरिदिएको हो ।

 एक तले जस्तापाताले छाएको पक्की घर  रु ५ लाख ४५ हजार एक सय रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको समितिका आर्थिक संयोजक हर्क बहादुर रायले बताए । 

संयोजक रायका अनुसार  पिडित बस्नेत परिवार    त्यहाँको  एक नेपाल परिवारको घरायसी कामदारका रूपमा बस्दै आएका थिए   ।  खोले पकाउने क्रममा  कुलमाया आगोले जलेकी थिइन ।आगोले जलेकी  कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमा "कुलमाया बचाउ अभियान"  सञ्चालन गरिएको थियो । 

उपचारका क्रममा कुलमायाको  मृत्युभए पश्चात्  त्यही अभियानलाई घर निर्माण समितिमा रूपान्तरण गरिएको  आर्थिक  संयोजक रायले बताए   । घर निर्माणमा नेपाल परिवारले दस धुर जमिन उपलब्ध गराएका थिए ।  साथै घर निर्माणका लागि आवश्यक पर्ने  इँटा,सिमेन्ट,रड लगायतका कच्चा सामाग्री सरसहयोगबाटै जुटाइएको रायले बताए । 

 घर निर्माण गर्न आवश्यक जस्तापाता  वडा कार्यालयले उपलब्ध गराएको थियो । साथै घर निर्माण गर्न  स्थानीय युवाहरूले जनश्रमदान गरी सहयोग पुर्‍याएका थिए  । 

संयोजक रायका अनुसार कूलमाया बचाउ अभियानकै बिचमा बिरामीको उपचारका लागि रु ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । सो रकम समेत केही रकम घर निर्माणमा  खर्चिएको र बचत रकम रु २ लाख १६ हजार ४ सय ६३ रुपैयाँ पीडित परिवारको जीविकोपार्जनका लागि आजै  हस्तान्तरण गरिएको संयोजक रायले बताए   ।

समितिले आज त्यहाँ एक कार्यक्रम गरी बस्नेत सहित उनका छोरा विदुर र बुहारीलाई नवनिर्मित घरको चाबी  साथमा नगद सहितको  सहयोग चेक हस्तान्तरण गरेको थियो ।  घर हस्तान्तरण कार्यक्रममा समितिका सदस्य सन्तोष भण्डारी,तेजु आङदेम्बे लगायत, स्थानीय नागरिकहरू समेत उपस्थित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ