arrow

ओलीको यू–टर्न

पार्टी एकताका लागि ओली एकाएक सक्रिय, नेपाललाई मनाउन हरसम्भव प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
uml-oil-nepal.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक विद्रोहको तयारी गरिरहेका माधवकुमार नेपाल समूहलाई पार्टीभित्रै राख्ने कोसिसमा लागेका छन् । दुई दिन यता ओली आफै सक्रिय बनेर पार्टीको विवाद निरुपण हुने गरी नेपाल पक्षलाई पार्टीभित्र राख्ने कोसिसमा लागेका हुन् । त्यसक्रममा आइतबार बिहान नेपाललाई मनाउन ओली पक्षका नेताहरु कोटेश्वर गएका थिए भने साँझ ओली आफैंले उपाध्यक्ष डा. भीम रावलसँग छलफल गरेका थिए । 

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट पास गराउने कि नगराउने भन्ने बारेमा बहस हुँदा ओलीसँग रिसाएका रावललाई बोलाएर पार्टी मिलाएर लैजानु पर्ने आवश्यकता र औचित्यको बारेमा छलफल भएको थियो । केन्द्रीय कमिटीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम सकिनु एक दिनअघि प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाल र सो पक्षका नेताहरुसँग निरन्तर परामर्श गरेका हुन् । 

जसले गर्दा पार्टी विवाद सुल्झाउन कोसिसमा ओली आफैं लागेको प्रष्ट हुन्छ । ओली–रावलबीच भएको भेटघाटको क्रममा रावलले पुरानो कार्यदल व्युँताएर पार्टीका सबै विषयहरु प्याकेजमा छलफल गर्ने र प्याकेजमै टुंग्याउने कुरा गरेपछि ओलीले नेपालसँग सल्लाह गरेर आउनुस् भनेका छन् ।

 ‘रावलसँगको कुराकानी सकारात्मक छ सायद आजै कार्यदल व्युँति नपनि सक्छ’, बालुवाटार निकट स्रोतले भन्यो । विवाद समाधानका लागि सक्रिय दोस्रो तहका नेताहरुले आइतबार दिनभर विशेष गरी संयुक्त वक्तव्य निकाल्न माधव नेपाललाई गरेको आग्रहलाई नेपालले अस्वीकार गरेपछि ओलीले रावललाई बोलाएर छलफल गरेका हुन् । 

नेपालले ओलीसँग भेटघाट गर्नसमेत अनिच्छा प्रकट गरेपछि प्रधानमन्त्री ओलीले नेपालसँग निकै नजिक रहेका नेता रावललाई मनाउने कोसिस गरेका हुन् । ओलीसँग भएको भेटघाटको विषयलाई लिएर रावलले सोमबार नेता नेपाल र आफ्ना समूहका नेतासँग परामर्श गर्ने भएका छन् । 

आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलले नेता नेपाललाई ‘तपाईले उठाउँदै आउनु भएको मुख्य माग पार्टीलाई पुरानै अवस्थामा फर्काउने कुरा पूरा भएको छ । अब दुवै नेताले पार्टी एक ढिक्का भएको संयुक्त वक्तव्य निकाल्नु’ भनेर गरिएको अनुरोधलाई ‘तपाईहरुको प्रस्ताव सकारात्मक छ । म साथीभाइसँग छलफल गर्छु’ भन्ने जवाफ दिएका भए पनि ओलीसँग भेट गर्न भने अरुची प्रकट गरेका थिए । 

पार्टीको विवाद मिलाउन नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र घनश्याम भूषाल, भीम आचार्य, गोकर्ण विष्ट सक्रिय रहेका छन् । तर उनीहरुको प्रयास धेरै दिनदेखि निरर्थक रहेको छ । नेता नेपालसँग भएको कुरा नेताहरुले प्रधानमन्त्री ओलीलाई पनि जानकारी गराएपछि ओलीले रावललाई बोलाएका हुन् । 

उनीहरुले प्रधानमन्त्री ओलीलाई भीम रावललाई बोलाएर छलफल गर्न सुझाव दिएका थिए । ओली र रावलबीच दुई घण्टा लामो छलफल भएपनि के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । 

मेचीदेखि महाकालीसम्मका कार्यकर्ता पार्टी एकताको पक्षमा रहेका पार्टीलाई विभाजनबाट रोक्न दुवै पक्ष सक्रिय छन् । तर निष्कर्षमा भने पुग्न बाँकी रहेको नेताहरुले जनाएका छन । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाललाई हस्ताक्षर फिर्ता गर्न सोमबार सम्मको अल्टिमेटम दिएको थियो । 

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओलीको छ । तर नेपाल पक्षले पार्टी २ जेठ २०७५ मा फर्किनु पर्ने अडान राख्दै आएको र ओलीले शुक्रबार र  शनिबारको केन्द्रीय कमिटीको बैठक पनि विधि र विधान विपरीत रहेको बताउँदै आएका छन् । 

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नभए हस्ताक्षर गर्ने सांसद एमालेको नेता हुनै नसक्ने चेतावनी दिएका भए पनि पार्टी मिलाउन ओलीको सक्रियता अस्वाभाविक रुपमा बढेको हो । 

एमाले केन्द्रीय कमिटीको बैठकले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका सांसदलाई दुई दिनको अल्टिमेटमलाई नेपाल पक्षले अस्वीकार गर्दै आएको छ । माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वालुवाटारमा बोलाइएको ओली पक्षको दाबी थियो । सोमबार कुनै सहमतिका लागि बाटो नबनेका खण्डमा ओलीले दिएको अल्मिेटम सकिने र अर्को कदम चाल्न सकिने पनि आँकलन गरिएको छ । 

बिहीबार राति ओलीसँग टेलिफोन संवाद गरेका नेता नेपाल शुक्रबार दिनभर आफ्नो निकटका नेताहरुसँगको सम्पर्कबाट बाहिर भएका थिए । त्यसपछि संवादमा सहभागी नेताहरु रावललाई भेट्न टोखा पुगेका थिए ।

उनीहरुले पार्टी विभाजन गर्न नदिन रावललाई आग्रह गर्दै नेता नेपाललाई मनाउने र कुरा गर्ने जिम्मासमेत दिएका थिए । त्यसपछि शनिबार दिउँसो पुनः नेपाल ओलीबीच टेलिफोनमा संवाद भएको थियो । 

त्यसक्रममा ओलीले देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दा नेपालले अस्वीकार गरेपछि एमाले विवाद सुल्झने भन्दा भत्कने क्रममा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ