- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको नाममात्रको निषेधाज्ञा मंगलबारदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् ।
यही असार ३१ गते राति १२ बजेसम्म कायम रहने गरी लागू गरिएको नयाँ एक हप्ते निषेधाज्ञाको तालिकाअनुसार सबै सवारी खुलेपछि कोरोना भाइरसको महामारी थप बढ्ने निश्चित भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ ।
सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्र्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन । स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ ।
आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ । सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ ।
यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन ।
स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने तर औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहनेछ । अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।
सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेस्रो सिटमा चार–चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।
पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेशमा उल्लेख छ ।
प्रशासनको नालायकी
प्रशासनले भने यहाँनेर नालायकी देखाएको छ । एकातिर स्वास्थ्य मापदण्ड पालना गर्ने भनिरहेको छ भने अर्कातिर सबै यात्रु राख्न पाउने गरी सवारी चलाउने भनिरहेको छ । सबै सिट क्षमतामा यात्रु राख्न परेपछि स्वास्थ्य मापदण्ड कहाँबाट पालना भयो ?
स्वास्थ्य प्रोटोकलअनुसार दुई मिटरको दूरी बनाउनु पर्छ भनिएको छ । जुन सवारीमा चढेपछि सम्भव छैन । अर्कातर्फ दुई चार पैसा आम्दानी होला भनेर सवारी चलाउनेहरु छन् । उनीहरुले फेरि प्लाष्टिक राखेर, सेनिटाइजर उपलब्ध गराएर गाडी चलाउनेवाला छैनन् ।
यसअघि पनि पालना गर्ने औंलामा गन्न सकिने सवारी थिए । फेरि जोरविजोर गर्दा पनि कुनै पनि सवारीमा सेनिटाइजर राखिएको थिएन । फेरि मुस्किलले महिनाको एक पटक सफा गर्ने गाडीलाई दिनदिने कसले डिस्फन्सन गर्छ होला ?
जसरी पनि सवारी खोल्ने भनेपछि सकियो । तर खोपका लागि पहल नगर्ने सरकारले यसरी जथाभावी रुपले सवारी खोलिदिँदा भने पक्कै पनि ठूलो क्षति गर्नेछ ।
अर्कातर्फ कोरोना घटेकै छैन । सोमबार मात्रै कुल परीक्षणको २३ प्रतिशतमा संक्रमण देखिएको थियो । निकै कममात्र परीक्षण गराइएको छ ।
कोरोना नै नघटेको अवस्थामा सरकारले किन यसरी आफ्नो अक्षमता देखाइरहेको छ भन्ने गम्भीर प्रश्न खडा भएको छ । (राससको सहयोगमासमेत)