- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पुर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताएका छन् ।
नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बताए ।
समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवीयता युक्त समाज आवश्यक भएको बताउँदै उनले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामुलक समाज जरुरी भएको धारणा उनको थियो ।
‘हामी मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ’, उनको भनाई थियो । देशमा शिक्षा आर्जन गर्ने अधिकार ७० वर्षअघि मात्रै प्राप्त भएपनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाई पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि बताए ।
देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाई प्रधानमन्त्रीको थियो । ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीले गर्छौ भने’ । पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपण पछि भने त्यस्तो संक्रमण झेल्नु नपरेको र १२÷१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उनले स्मरण गरे ।
विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उनको थियो । ‘सन् १९७०को दशक सम्म अन्न उत्पादन नहुने भएकोले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ, र त्यहाँ कामगर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमुनायोग्य काम गरिहेका छन्’। हामीकहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दै उनले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको समेत प्रधानमन्त्रीले बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका थिए ।
यसैगरी उनले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठलाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकको भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा डा आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत, डा अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोग फैलनमा तापक्रमको भुमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो । यसैगरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।