- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इतिहासकै शक्तिशाली भनिएको र सुविधा सम्पन्न केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार तीन वर्षमै नैतिक र सांगठनिक रुपमा स्खलित भयो । नेपालको संविधान २०७२ सालमा जारी भएसँगै नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न तीन तहको निर्वाचनसँगै संविधान र संघीयताको कार्यान्वयन शुरु भइसकेको हो । संविधानमा केही असन्तुष्टि रहेता पनि सबै तहका निर्वाचनमा भने मधेसवादी दलहरुको सहभागिता छँदै थियो । यसलाई सकारात्मक रुपमा लिँदै असन्तुष्टिहरुलाई क्रमशः संविधान संशोधन मार्फत भए पनि समस्याको समाधान गर्नेतर्फ नेपाली कांग्रेस संविधान जारी गर्दाका बखतदेखि अहिलेसम्म र पछिसम्म पनि प्रतिवद्ध रहने नै छ ।
संविधान जारी गर्दा जसरी अधिकांश राजनैतिक शक्तिहरुको एकता र समझदारी थियो, त्यो एकता र समझदारी कम्तीमा पनि संविधान, संघीयता, मौलिक हक लगायतको सफल कार्यान्वयनका लागि केही समयसम्म जरुरी थियो । आमनिर्वाचन मार्फत प्राप्त नयाँ जनादेशको अगुवाइमा सरकार गठन बाहेकका धेरै विषयहरुमा सँगसँगै हिड्नुपर्ने अवस्थामा ओली नेतृत्वको कम्युनिष्ट सरकार एक्लै कुदेकै हो । जसका कारण आज संविधान र मुलुक गम्भीर अवस्थामा पुगेको छ । राजनैतिक अवस्था अत्यन्त तरल र कहाँ पुग्ने हो के हुने हो भन्नेमा अन्योलग्रस्त छ । २०६२–०६३ को जनआन्दोलनको अपार सफलता र गणतन्त्र प्राप्तिपछि तत्कालीन नेकपा माओवादी केन्द्र नेतृत्वको कम्युनिष्ट सरकार र २०७४ को आम निर्वाचनसँग संविधान र संघीयता कार्यान्वयन प्रारम्भ भएपछिको ओली नेतृत्वको सरकारका परिदृश्यले के नेपालमा कम्युनिष्ट राज्य सञ्चालनमा असफल भएकै हुन् ? नेपालमा कम्युनिष्ट अफाफसिद्ध भएकै हो ? भन्ने प्रश्न उठेको छ ।
अप्राकृतिक गठवन्धनदेखि अनेकौं भ्रमकाबीच चुनाव जितिहाल्ने तर सरकार सञ्चालनमा असफल सावित भएको छ । ओली नेतृत्वको सरकार सञ्चालनका क्रममा संसद, सडक र मिडियामा उठेका कयौं प्रश्नहरु सधै अनुत्तरित किन रहे ? केपी ओली सरकारप्रति स्थापित केही मान्यताहरु हेरौं ।
कम्युनिस्ट सरकार भ्रष्टाचारी सरकार हो –
धेरै पटक धेरै ठाउँबाट आवाज उठ्यो । लज्जावती झारले बरु प्रतिक्रिया जनाउला सरकारले सुशासन र पारदर्शिताका नाउँमा कुनै प्रतिक्रिया देखाएन । सरकार भ्रष्टाचारी हैन भने यसको जवाफ जनताले किन पाएनन् ? सार्वभौम संसदले किन पाएन ? आठौं अधिवेशनसम्म आइपुग्दा संसद, सडक, मिडिया र जनस्तरबाट कयौं आवाज उठे । सरकारले सुनेन, देखेन, स्पष्ट पारेन । भ्रष्टाचारमा लिप्त भयो । माफियाको चंगुलमा रमायो । किन भ्रष्टाचारको संरक्षण गर्यो ? भ्रष्टाचारीलाई किन जोगायो ? भ्रष्टाचारी हो कि हैन फैसला आफै किन गर्यो ? अर्बौं–खर्बौं भ्रष्टाचार र कमिसनको काण्ड ढाकछोप किन भयो ? कम्युनिष्ट सरकारलाई लुट्ने स्वर्णीम अवसर बन्यो दुईतिहाई । प्रतिपक्षले भ्रष्टाचारका कुरा उठाएपछि सत्तापक्षका केही व्यक्तिलाई कन्सिरी तातेको पनि देखियो । यतिसम्म भने – कांग्रेसले पनि गरेको थियो, हाम्रा पालामा हामीले शुरु गरेको हो ? त्यसो भए पञ्चायतमा पनि थियो, राणाकालमा पनि थियो, राजाहरुले सयौं वर्षदेखि गरे त्यही भएर ३ वर्षमै सबैलाई उछिन्न खोजेको हो ? उच्च रेकर्ड कायम गर्न खोजेको हो ? नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) स्थापना गर्याे । अदुअआले नेपाली कांग्रेसकै नेताहरुबाट कारवाही शुरु गर्यो, कांग्रेसले अफिसियल्ली केही बोलेन, संवैधानिक आयोगमाथि कहिल्यै हस्तक्षेप गरेन, औंला उठाएन ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन र स्वयं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनले भ्रष्टाचारको उजागर गरेको छ । महामारीमा स्वास्थ्य सामग्री, औषधि, कात्रोमा समेत कमिशन खानेलाई के कारवाही गर्नुभयो ? कतिजनालाई कारवाही गर्नुभयो ? साना माछा समातेर जनतालाई छारो हालेर हुन्छ ? जवाफ दिनोस् प्रधानमन्त्रीज्यू तपाईंका पालाका चर्चित काण्डहरुका अनुसन्धान कहाँ पुग्यो ? म भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न, भ्रष्टाचारीको मुखै हेर्दिन भन्नु भएको हैन ? वाइडबडी र न्यारो बडीको भ्रष्टाचार, नेपाल वायु सेवा निगममा कमजोर व्यवस्थापन, चिनियाँ जहाजको व्यवस्थापन, सुनकाण्ड, गोकर्ण रिसोर्ट, नेपाल ट्रष्टको जग्गा लिज प्रकरण, हायात होटलको प्रकरण, कोभिड–१९ महामारी उपचारमा लापरवाही र कमिशन, भ्रष्टाचार, भेन्टिलेटर, आइसीयूको फितलो व्यवस्थापन, पीसीआर टेष्टमा कमजोरी, कोभिड भ्याक्सिन कमिशन प्रकरण, मेडिकल उपकरणमा अर्बौं भ्रष्टाचार, राष्ट्रिय गौरबका आयोजनाबाट अर्वौंको कमिसन, सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङलगायत काण्डहरु किन ‘डिसमिस’ भए ?
कम्युनिस्ट सरकार हत्यारा हो बलात्कारी हो –
हैन भने जवाफ चाहियो, किन निर्मला पन्त लगायतका कयौं बलात्कारी र हत्याराहरु किन पत्ता लागेनन् ? बाजुराकी अस्मिता धामी र चितवनकी भण्डारीको हविगत के हो ? आज किन दिनानुदिन हत्या, हिंसा बलात्कारले बढिरहेको छ ? किन प्रश्रय पाइरहेको छ ? अनुसन्धान र छानबिन किन फितलो भयो ? बलात्कारी र हत्यारालाई किन बचाइएको हो ? किन जोगाइयो ? किन समातिएनन्, अपराधीहरु ? एसिड आक्रमण र हिंसाले किन प्रश्रय पाइरहेको छ ? दिनदहाडै मान्छेहरू किन मारिएका छन् ? रुपा सुनुवारहरुमाथि दलित भएकै कारण किन विभेद ? झण्डा पहराएर सरकारका मन्त्री किन पुगे अभियुक्त छुटाउन ?
कम्युनिस्ट सरकार किसानमारा मजदूरमारा हो –
हैन भने उखु किसान बर्सेनि किन आन्दोलनमा ? उखु बेचेको पैसा माग्दा मर्नुपर्ने किन ? मजदूरले कोभिडमा किन राहत पाएनन् ? किसानले वर्षामा मलबिउ किन पाएनन्ण् ? धानलगायत कृषि उत्पादनको उचित मुल्य किन पाएनन् ? तरकारी किन फाल्नु पर्यो ? दूध किन पोख्नु पर्योे ? हजारौं नेपालीहरू युवाहरु खाडीमा किन उडे, बाकसमा किन फर्के ? रेल र ग्यास कम्युनिष्टहरूको भ्रम हो, जनता झुक्याउने खेल हो । जनता अल्मलाउने खेल हो । सावित भएको छ ।
ओली सरकारको राष्ट्रवादले घुँडा टेक्यो, ढुलमुले र सत्ता केन्द्रीत ओली राष्ट्रवाद कहिले उता कहिले यता लम्पसार परिरहेको छ –
हैन भने चुच्चे जमीन खोइ ? कालापानी, लिपुलेक, लिम्पियाधुरा खोइ ? कागज देखाएर हुन्छ ? भूमि चाहियो, जमीन चाहियो । सत्तासँग आज चुच्चे नक्सा साटिँदैछ, भाँचिदैछ । सुस्ता लगायतका दक्षिणका जंगे पिलर किन ढले ? उत्तरका पहाड किन सरे ? यही हो कम्युनिष्टको राष्ट्रवाद, यही हो ओलीको राष्ट्रवाद ?
कम्युनिष्ट सरकार तानाशाही र निरंकुश, सर्वसत्तावादी हो –
हैन भने, शक्तिशाली निकाय र विभाग आफू मातहत प्रधानमन्त्री कार्यालयमा किन लगे ? किन संवैधानिक निकायहरुलाई नियन्त्रण गर्न खोजे ? विश्वविद्यालयहरुमाथि किन निरन्तर हस्तक्षेप ? किन आज प्राज्ञिक क्षेत्र आन्दोलित छ ? संविधान प्रतिकुल दर्जनौं विधेयकहरु किन ल्याइए ? संसदलाई पंगु बनाएर अध्यादेशमार्फत शासन चलाइएको छ । अख्तियारलाई प्रतिस्पर्धी र विरोधीलाई ठीक पार्ने अखडा बनाउन किन खोजियो । राष्ट्रपति कार्यालयलाई कम्युनिष्टको वडा कार्यालयजस्तो किन जस्तो बनाइयो ? चियापसल जस्तो किन बनाइयो ? बालुवाटारलाई गुटको अखडा किन बनाइयो ? सर्वसत्तावादी प्रवृत्ति कायमै छ । ओलीले न्यायालयलाई थर्काइरहेका छन् ।
पटक पटक प्रतिनिधि सभा किन भंग गरियो ?
सार्वभौम, जनप्रतिनिधिको थलो संसदलाई भूमिकाविहीन बनाइयो । प्रधानमन्त्रीले संसदलाई कुहिएको छानोसमेत भन्न भ्याए । जनमतको अपमान गरे । ओलीले असंवैधानिक र अलोकतान्त्रिक कदम चाले । संविधान च्याते । लोकतन्त्रमाथि प्रहार गरे । प्रतिनिधि सभा भंग गरे । घर व्यवहार मिलाउन नसकेर संसद भंग गरे । भ्रष्टाचारले मुलुकलाई आक्रान्त पार्यो, लुट्नुसम्म लुटेर संसद भंग गरे । हत्यारा र बलात्कारीलाई बचाउन संसद भंग गरे ।
संविधान र जनताका मौलिक हक अधिकार कार्यान्वयन गर्न नसकेर संसद भंग गरे । अपवित्र गठबन्धनदेखि चुनावी प्रचार र सरकारमा रहँदा जनतालाई भ्रमित पारे । जनतालाई हिसाब बुझाउने बेलामा, संसदलाई जवाफ दिनु पर्ने भएकोले संसद भंग गरे । ओलीको गफ र कम्युनिष्टको अत्याचारले भरिएको घडा फुटेको छ ।
२००७ देखि ७७ सालसम्मका विभिन्न राजनीतिक घटनाक्रमहरुलाई हेर्ने हो भने परिवर्तनको नेतृत्व काँग्रेसले गरेको छ तर परिवर्तन पछिको मुलुकको समग्र व्यवस्थापन, परिवर्तनको कार्यान्वयन र विकास कार्यमा कुनै न कुनै रुपमा कम्युनिष्टहरूले नै बाधा, अवरोध गरिरहेका छन् । कम्युनिष्टहरु कहिले मण्डललेसँग मिले, कहिले हत्याहिंसामा उत्रिए । ०६४ पछि चार–चार जना कम्युनिस्ट प्रधानमन्त्रीले संविधान लेख्न सकेनन् । ०७४ पछाडि संविधान र संघीयता कार्यान्वयन गर्न सकेनन् । अन्ततोगत्वा संविधान र संसदमाथि नै खड्ग बजारिएको छ । राणादेखि पञ्चायत शाही शासन ढाल्दासम्म शान्ति, स्थिरता र स्वतन्त्रता खोजिएको छ । लोकतन्त्रको मजबुदी खोजिएको छ ।
जनताका अधिकारका लागि लडिएको छ । तर लोकतन्त्र र जनताको अधिकार मास्न कम्युनिष्टहरू जहिल्यै उद्वत देखिन्छन् । हामीले शक्तिशाली सरकार मात्र खोजेको हैन, शक्तिशाली प्रधानमन्त्रीहरु राणा र पञ्चायतमा पनि थिए । राजनीतिक स्थिरता चाहियो । लोकतन्त्र बलियो हुनु पर्योे । नागरिक अधिकार सुनिश्चित हुनुपर्यो । संविधानवाद र विधिको शासन हुनु पर्योे । चुनाव मात्रै लोकतन्त्र हैन, चुनाव पञ्च र राजाले पनि गरेका थिए । गर्छु भनेका थिए । संसद भंग गरेर राजा र महाराजको शैलीमा शासन गर्ने ओलीको मोह हो यो । चालाबाजी हो यो । नेपाललाई विदेशी शक्ति केन्द्र र अखडा बनाउने चलखेल हो यो ।
ओलीका सारा कर्तुत र अपराध छोप्न संसद भंग गरिएको हो । चुनाव भ्रम हो, ललिपप हो । संविधान बचे, मुलुक बचे चुनाव गर्दै गरौंला । चुनावसँग कांग्रेस कहिल्यै डराएको छैन । कहिल्यै भागेको छैन । (लेखक राष्ट्रियसभा सदस्य हुन्)