- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यतिबेला अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी शिखरमा छन् । चर्चित स्ट्राइकर मेस्सीले व्यक्तिगत विधाका थुप्रै उपाधि जिते पनि देशलाई पहिलो पटक विश्वकै तेस्रो ठूलो उपाधि ‘कोपा अमेरिका’ दिलाएसँगै उनी शिखरमा पुगेका हुन् ।
६ पटकका बालोन डे’ओर विजेता मेस्सीको व्यवसायीक करियर पनि लोभलाग्दो छ । उनी आफ्नो करियरमा एउटै क्लबबाट खेलिरहेका छन् । स्पेनिश क्लब बार्सिलोनाबाट उनी १७ वर्षदेखि सिनियर टिमबाट खेलिरहेका छन् । कोपा अमेरिका चलिरहँदै उनको बार्सिलोनासँगको सम्झौता सकिएको थियो ।
जब कोपाको उपाधि हात लाग्यो तब धेरैको अनुमान थियो कि मेस्सी महंगोमा बिक्री हुन्छन् । उनलाई पेरिस सेन्ट जर्मेन, म्यानचेष्टर सिटी र इन्टर मिलान लगायतले रुची देखाएकोसमेत बताइएको थियो । सम्भवतः त्यहाँ उनले धेरै रकम पाउँथे होला । उनलाई प्रस्ताव आएकै थियो ।
तर गोल डट कमको समाचारले झस्काइदियो । उसका अनुसार उनले बार्सिलोनासँगै नयाँ सम्झौता गर्दैछन् त्यो पनि यसअघि पाउँदै आएको तलबमा आधा कटौती गरेर ।
मेस्सीले पाँच वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । ३४ वर्षे मेस्सीले खेलाडी करियर बार्सिलोनाबाट नै सकाउने निर्णय गरेको स्पष्ट हुन्छ ।
उनले बार्सिलोनाबाट क्लबस्तरको हरेक उपाधि जितेका छन् । यति ठूलो खेलाडीले अहिले आएर ५० प्रतिशत रकम कटौती गरेर सम्झौता गर्नु भने पक्कै पनि आश्चर्यजनक हो ।
हुनत मेस्सी बार्सिलोनाकै एकेडेमीमा हुर्किएका हुन् । उनी बार्सा पुत्र नै हुन् । गत जुन ३० तारिखबाट ‘बार्सा फ्री’ भए पनि उनको बाल्यकालदेखि जवानीको समयले फेरि खेलाडी समयको उत्तरार्ध पनि त्यही रोज्यो ।
बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो । त्यसमा उनी सफल भएका छन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् ।
मेस्सी र बार्सिलोनाबीचको लिखित सम्झौता भने भइसकेको छैन । केही औपचारिकता बाँकी रहेकाले अर्को हप्ता सम्झौता हुने गोल डट कमले लेखेको छ । सम्झौता हुँदा उनी सन् २०२६ सम्म बार्सिलोनामा रहने छन् । त्यतिबेला उनको उमेर ३९ वर्षको हुनेछ ।