पोखरा। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारमा बसेर त्यही सरकारको विरोध गर्नु राजनीतिक नैतिकताभन्दा बाहिरको हुने बताएका छन् ।
नेमकिपा कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारको काममा चित्त बुझ्दैन भने सरकारबाट बाहिरिएर विरोध गर्नु उपयुक्त हुने सुझाव दिए ।
सबै राजनीतिक दलबीच गहन छलफल गरेर मात्रै सीमाङ्कनको टुङ्गो लगाउन जोड दिँदै उनले सीमाङ्कनपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।
बेरोजगारी, अशिक्षा र दाइजो प्रथाले नै मधेस आन्दोलन सुरु भएको बताउँदै उनले मधेसी नेता खाली आफ्नो सुखसयलमा मात्रै रमाउने तर त्यसतर्फ भने ध्यानै नदिने प्रवृत्ति बढेको धारणा राखे । रासस