कांग्रेसको छलफल तथा बैठकहरु वालुवाटारमा नराख्न गगनको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
2.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको कुनैपनि छलफल तथा बैठकहरु प्रधानमन्त्री निवास वालुवाटारमा नराख्न आग्रह गरेका छन् ।
थापाले सोमबार विहान सामाजिक संजालमार्फत प्रम देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेको जनाएका छन् ।
थापाले लेखेका छन्, ‘ प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ। यो विश्वास कायम राखिदिनुहोला ।’
त्यस्तै केही दिन अघि देउवा बालुवाटार सरेकै दिन पार्टी बैठक बोलाएर राज्य कोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेको भन्दै बृहत् नागरिक आन्दोलन अभियानले आपत्ती प्रकट गरेको थियो ।
त्यस्तै वरिष्ठ पत्रकार तारानाथ दाहालले पनि बालुवाटारलाई प्रधानमन्त्रीको निजी आवास र सामान्य शासकीय कार्य गर्ने बाहेक पार्टी बैठक, भेला तथा अन्य सभा गर्ने ठाउँ नबनाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्री निवास बालुवाटार राज्य कोषबाट चल्छ। त्यहाँ हुने खर्च जनताको रगत पसिना हो। त्यसको व्यवस्थापन र त्यसप्रतिको जबाफदेहिता नेपाल सरकारको हो। त्यसैले बालुवाटारलाई प्रधानमन्त्रीको निजी आवास र सामान्य शासकीय कार्य गर्ने बाहेक पार्टी बैठक, भेला तथा अन्य सभा गर्ने ठाउँ नवनाऔॅ।’