arrow

खुम्चँदै माधव नेपाल समूह, जनाधार भएकाहरूले साथ छोड्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ५ मंगलबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा क्षयीकरण सुरु भएको छ। विश्वासको मत दिने कि नदिने भन्नेबारेमा मत विभाजन हुनु, नेपालसँग भएकाले साथ छाड्नु र ओली नेतृत्वको संस्थापनले पनि पेल्न थालेपछि सो समूहमा क्षयीकरण सुरु भएको हो।

नेपाल समूहले सकेसम्म संसदीय दल र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत पुर्‍याएर विभाजनलाई वैध र औपचारिक रूप दिने रणनीति अपनाउन थालेपछि पार्टी विभाजन गर्न नहुने भन्दै योगेश भट्टराई, भीम रावल ठाकुर गैरे लगायतका नेताहरूले नेपालको साथ छाड्ने अवस्थामा पुगेका छन्।

ओलीलाई सत्ता च्युत गरी देउवालाई विश्वास समेत दिलाउन सफल भएपछि हौसिएको नेपाल पक्षमा ३४ सांसद र थप केहीलाई ल्याउन सकिने आङ्कलन गरिएको छ। अब पार्टीभित्र ओली थप कमजोर बन्दै जाने र नेपालको प्रभाव बढ्दै जाने भएकाले पनि केही समय एकता वार्ताका नाममा संवादका सिलसिला जारी राख्ने रणनीति नेपाल पक्षको भए पनि सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यहरूले पनि नेपालको साथ छाड्ने अवस्था देखिएको छ। 

नेपाल समूहमा रहेका प्रभावशाली नेताहरूले साथ छाड्ने अवस्था आयो भने उनीहरूसँग खासै जनधार नभएका नेता हरू मात्रै रहने बताइएको छ। ओली पक्षले पेलेपछि नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला एमालेकै माधव नेपाल पक्ष विभाजित भएर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरूले नै विश्वासको मत दिएनन्। विश्वासको मतबारे आफू हरूसँग छलफल समेत नगरी नेपाल आफैले निर्णय गरेका कारण उनीहरूले असहमति जनाएका हुन्। 

नेपाल स्वयंसहित केही नेताहरूले विश्वासको मत दिएका थिए भने सोही समूहका १० जनाले मत दिएनन्। तर पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका रहेका आठ जना सांसदले विश्वासको मत दिएका थिए। नेपाल पक्षमा क्षयीकरण देखिए पनि ओली पक्षका केही सांसद हरू पनि देउवालाई मत दिँदा नेपालाई राहत भएको थियो।

नेपालसँगै २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए। तटस्थ बसेकाहरू नै नेपालले नयाँ दल खोल्ने भए भने उनीहरूको साथ रहने सम्भावना न्यून रहेको छ। योगेश भट्टराईले यसअघि नै नयाँ दल खोल्ने विषयमा असहमति जनाइसकेका छन्। गणेश पहाडी, विषमलाल दनुवार लगायतका केन्द्रीय सदस्यहरूले नेपालको साथ छाडिसकेका छन्।

नेपाल समूहमा रहेका तर फागुन २३ पछि ओली पक्षमा रहेका सांसदहरू हिरा केसी, पार्वती विसुंखे, कतिला खातुन, विना थापामगर, समिमा हुसेन भने नेपाल पक्षमा फर्किएका छन्। तर उनीहरू नेपाल पक्षमा आउन सांसदको एक मत गणना बाहेक जनधार र सङ्गठनमा कुनै प्रभाव छैन।

आइतबार बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने निर्णय गरेको थियो। ‘उहाँ (माधव नेपाल)ले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो। उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरूले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दुमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो’, प्रवक्ता ज्ञवालीले आइतबारको बैठकपछि भनेका थिए।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपा पक्षले विवाद भएपछि विघटित कार्यदलका सदस्यहरूले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका थिए। वरिष्ठ नेता नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गरेका १५ जना प्रत्यक्ष निर्वाचित सांसदहरूबिच संसद् भवनमै छलफल चलेको थियो। त्यस क्रममा नेपालले सबै सांसद स्वतन्त्र रहेकाले आफ्नो खुसी गर्न भनेका थिए।

जसपाको महन्थ पक्षले मतदान गरेपछि संसद् जोगिने भए पनि के गर्ने भन्नेबारेमा छलफलमा जुटेका नेपाल निकट सांसदलाई सो जवाफ दिएपछि नेपालको सहमति विना नै बाहिरिएका थिए। नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र कार्यदल बाहिर रहेका योगेश भट्टराईलगायतले जसपाले एकजुट भएर विश्वासको मत दिएको अवस्थामा एमालेको एकता जोगाउन पार्टीको पक्षमा उभिनुपर्ने र प्रतिपक्षमा रहनुपर्ने धारणा राखे पनि नेपालले सर्वोच्च अदालतको फैसला सम्झाएका थिए। 

नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टले विश्वासको मत दिएका थिएनन्। कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, विश्वासको मत दिएका थिएनन्। यसले नेपाल आफैलाई अप्ठेरो बनाएको छ तर उनी तत्कालै पार्टी विभाजन गर्नुपर्छ भन्ने पक्षमा नरहेको नेपाल निकटका नेताहरू बत्ताउँछन्।

‘आफ्ना समूहमा आएको क्षयीकरणबारे जानकार हुनुहुन्छ तर पार्टी विभाजन गरेर जानुपर्छ भन्ने पक्षमा हुनुहुन्न हेरौँ अब परिस्थिति कसरी अघि बढ्छ, केपी ओलीको भूमिका के रहन्छ ?’, नेपाल पक्षका एक नेताले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ