काठमाडौं । चिकित्साशास्त्र क्षेत्रमा देखिएको विकृति रोक्न डा गोविन्द केसीले थालेको आन्दोलन आठौं चरणमा प्रवेश गरेको छ । उनले आजदेखि आठौं चरणको आमरण अनसन थाल्दैछन् । उनको आमरण अनसन रोक्न विभिन्न प्रयास भए पनि त्यो सम्भव नहुने देखिएको छ । शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्रा.डा. केसीले आफू कुनै पनि प्रलोभनमा नफसेकाले आन्दोलन नतुहिने अडान लिएका छन् ।
केसीको आन्दोलन रोक्नै सरकारले आज संसदमा चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक –२०७३ पारित गर्न लागेको स्रोतले बताएको छ । विधेयक पारित भएमा डा. गोविन्द केसीले उठाएका अधिकांश माग पूरा हुनेछन् ।
तर डा केसीले माग गरेझैँ अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तलाई महाअभियोग लगाउने तथा सबै मेडिकल शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै निःशुल्क गर्ने माग भने यो यो विधेयकले सम्वोधन गर्नेछैन ।
डा. केसीले यो विधेयक पारित भएमा अनसन फिर्ता लिन्छन् कि भन्ने आँकलनसमेत गरिएको छ । तर उनी अडिक भएर विकृति हटाउन लागिपरेका छन् । उचित कार्यप्रणालीमा लागेकाले उनले आन्दोलन फिर्ता नलिने बुझिएको छ ।
उनको आन्दोलनलाई शिथिल पार्न शिक्षण अस्पताल हाताभित्र अनसन नबस्नसमेत शिक्षण अस्पताल प्रशासनले हिजो चिठी काटेको छ । तर डा. केसीले अस्पताल परिसरभित्रै अनसन बस्ने जनाएका छन् ।
दिउँसोदेखि अनशन सुरु गर्ने उनको तयारी छ । अस्पताल प्रशासनले हिजो साँझ डा. केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्र दिएको छ ।
यसअघि मनमोहन अस्पतालका ३३ चिकित्सकले विज्ञप्ति जारी गर्दै डा। केसीले शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने बताएका थिए ।
डा. केसीले भने समग्र चिकित्सककै हक हितका लागि अनसनमा बस्न लागेकाले साथ दिन आग्रह गरेका छन् ।