काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७१-७२ सालको पहिलो ११ महिनाको ६ खर्ब २४ अर्ब १८ करोड २२ लाख ७० हजार रूपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ । विभागको पहिलो ११ महिनाको तथ्याङ्कले सो परिणाममा व्यापारघाटा रहेको तथ्याङ्कमा देखाएको हो ।
विभागले छुट्टाएको कूल ९८ बस्तुमा भएको कूल व्यापार मध्ये ६ खर्ब ८५ अर्ब ४२ करोड ७ लाख २२ हजार रूपैयाँ बराबरको सामान आयात भएको विभागले जनाएको छ । त्यसमध्ये जम्मा ६१ अर्ब २३ करोड ८४ लाख ५२ हजार रूपैयाँको मात्रै निर्यात भएको थियो ।
यसमध्ये सबैभन्दा बढी पेट्रोलियम, बिटुमिन तथा कोइला शीर्षकमा व्यापारघाटा देखिएको छ । यो शीर्षकमा कूल ७३ अर्ब ४२ करोड १६ लाख ६५ हजार रूपैयाँ व्यापार घाटा भएको छ । जसमा नेपालले ७३ अर्ब ४२ करोड ३३ लाख ५२ हजार रूपैयाँको आयात गरेको छ भने १६ लाख ८७ हजार रूपैयाँको पेट्रोलियम निर्यात भएको तथ्याङ्कमा देखिएको छ ।
नेपालले पेट्रोलियम पदार्थ निर्यात नगर्ने भएपनि केही मेसिनमा प्रयोग गर्दा निस्किएका कच्चा तेल प्रशोधनको लागि लगिएकोलाई निर्यातको रूपमा देखाइएको विभागले स्पष्ट पारेको छ ।
त्यस्तै सबैभन्दा बढी व्यापार घाटा बेहोर्ने बस्तुको दोस्रो स्थानमा फलाम तथा स्पात शीर्षकमा पर्ने बस्तुहरू रहेका छन् । यिनीहरूबाट यो ११ महिनामा ५९ अर्ब नौ करोड ५५ लाख ७४ हजार रूपैयाँ बराबरको व्यापारघाटा भएको विभागको तथ्याङ्कले देखाएको छ ।
जसमा कूल आयात ६२ अर्ब १६ करोड ९८ लाख ३२ हजार रूपैयाँको भएको थियो भने निर्यात ३ अर्ब ७ करोड ४२ लाख ५८ हजार रूपैयाँको भएको छ ।
त्यस्तैगरी तेस्रो स्थानमा सवारीसाधन तथा तिनका पाटपुर्जामा ५६ अर्ब २३ करोड ६० लाख ३ हजार रूपैयाँको आयात भएको छ । ६ करोड १९ लाख ८५ हजार रूपैयाँ बराबरको सवारी साधनको पाटपुर्जा निर्यात पनि भएको विभागले जनाएको छ । विभागका तथ्याङ्क शाखा प्रमुख एवं निर्देशक विनोदशरण आचार्यले यस्ता सामानहरू कतिपय बनाउन त कतिपय सवारी पाटपुर्जा नै पनि निर्यात भएको देखिएको पनि स्पष्ट पारेका छन् ।
कूल ९७ बस्तु मध्ये नेपालले यो ११ महिनामा कूल १४ बस्तुमा मात्रै व्यापारमा नाफा गरेको छ भने बाँकी सबै बस्तुहरूबाट व्यापार घाटा बेहोरेको पनि विभागले जारी गरेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
यसरी व्यापारमा फाइदा हुनेमा सबैभन्दा बढी गलैंचा (कार्पेट) र कपडा पदार्थका अन्य भूईं ढाक्ने वस्तुहरुमा सबैभन्दाबढी ६ अर्ब ७४ करोड ४५ लाख ७३ हजार रूपैयाँको व्यापारमा फाइदा भएको छ । जसमा ६५ करोड ६४ लाख ४७ हजार रूपैयाँको आयात भएको छ भने ७ अर्ब ४० करोड १० लाख २० हजार रूपैयाँको निर्यात भएको पनि विभागको तथ्याङ्कले जनाएको छ ।
यसरी थोरै बस्तुमा फाईदा र धेरै बस्तुमा घाटाा बेहोरेको नेपाल वर्षेनी खरबौंको व्यापार घाटा बेहोर्न बाध्य रहेको छ । पहिलो ११ महिनामा कुन् बस्तुमा कति व्यापारघाटा भयो ? यस विषयमा तलको तथ्याङ्कमा विस्तृत विवरण उल्लेख गरिएको छ ।