- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला। जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दका अनुसार शुक्रवार बिहान ८ बजेतिर ६÷७ जना जिल्ला सदरमुकामका लागि भारतको बाटो भएर आउने क्रममा धामी तुइनबाट खसेर बेपत्ता भएका हुन् । स्थानीयका अनुसार भारतीय सुरक्षा बल (एसएसबी) तुइन काट्न आउने क्रममा धामी तुइनको तारसँगै तानिएर महाकालीमा बेपत्ता भएका हुन् ।
‘तुइन तरेर ब्याँसका केही स्थानीय पारी पुगिसकेका थिए, धामी तुइन तर्दै गर्दा महाकालीमा बेपत्ता भएको एक स्थानीयले बताए ।’ एसएसबीले तुइन काटिदिएकाले ताक्लो सहित महाकाली नदीमा खसेको बिक्रम रोङकलीले बताए । बेपत्ता धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच ब्याँसका स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई घटनाको सत्य तथ्य जाँच र पुल निर्माणमा भइरहेको ढिलाइबारे ज्ञापन दिएका छन् ।
शिलान्यासको २ वर्षसम्म पनि बनेन पुल
सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत ब्याँस क्षेत्रमा तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने सहमति भयो । भारतको गँस्कु र ब्याँस गाउँपालिकाको माल, भारतको गा्रम सोसा र ब्याँस गाउँपालिकाको मलघट्टे, भारतको एलागाड र ब्याँस गाउँपालिकाको बडुगाउँ पुल निर्माणका लागि नेपाल र भारतबीच १७ डिसेम्बर २०१८ मा सहमति भएको हो ।
सहमति भएको तीन वर्षमा समेत पुल निर्माणको काम सुरु हुन सकेको छैन । नेपाल तर्फ ब्याँस गाउँपालिका वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर ६ बडूगाउँमा २०७६ कार्तिक महिनामा पुलहरूको शिलान्यास समेत गरियो । शिलान्यास गरेको दुई वर्ष बिते पनि काम सुरु हुन सकेको छैन ।
त्यही वर्ष शिलान्यास भएको बडूगाउँ–कालागाड जोड्ने पुल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी छ । तर सँगै शिलान्यास भएका पुलहरूको निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण अगाडी बढ्न सकेको छैन । उक्त पुल निर्माणको ठेक्का धन बहादुर कुँवरले पाएका छन् ।
नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुंगे पुल निर्माणको ठेक्का भई शिलान्यास समेत भए पनि हालसम्म पुल निर्माण हुन नसक्दा तुइनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय नरेन्द्र सिंह धामीको गुनासो छ । नेपालपट्टी सहज बाटोघाटो नहुँदा ब्याँस क्षेत्रका बासिन्दाहरूले खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ ।