- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । पछिल्लो समय झापा जिल्लामा कोरोना सङ्क्रमण भुसको आगो झैँ फैलँदै गएको छ । प्रत्येक दिन कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या र अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेको छ । जिल्लाका सम्पूर्ण कोभिड सेन्टरहरू कोरोनाका बिरामीले भरिभराउ भएका छन् । यसले झापा जिल्लामा कोरोना प्रकोप नियन्त्रण बाहिर जाने चिन्ता सुरु भएको छ ।
पछिल्लो समय कोरोना उपचार गर्ने जिल्ला स्थित अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार धान्न नसक्ने अवस्था आउने भन्दै सचेत रहन आग्रह गर्न थालेका छन् । झापामा दैनिक सरदर ५ सयको हाराहारीमा सङ्क्रमित रहेका छन् । यो स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउन जानेहरूको मात्र सङ्ख्या हो । झापा बिर्तामोडका नीरज अधिकारी केही दिन अघि रातमा ज्वरो आएर जँचाउन अस्पताल पुगे । उनको छातीमा दाग देखियो निमोनिया हुन सक्ने भन्दै पीसीआर पनि जाँच गराउन डाक्टरले सुझाव दिए । मेची अञ्चल अस्पताल पुगेर पीसीआर परीक्षण गराए रिपोर्ट पोजेटिभ आयो ।
नीरज अधिकारी एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँका केही घर छोडेर वाकी सबैमा केही न केही स्वास्थ्यमा समस्या भएको पाइन थालेको छ। अस्पताल गए कोरोना देखाउने भन्दै उनीहरू घरमै बस्ने गरेका छन् ।
जिल्लाको दमक नगरपालिकामा प्रतिदिन औसत एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाउँछ । परीक्षण गराइएका मध्ये ५५ प्रतिशत भन्दा माथि पोजेटिभ रिपोर्ट आउने गरेकोले झापा जिल्लामा कोरोना भाइरस सङ्क्रमण भुसको आगो झैँ मन्द गतिमा फैलिएको अनुमान लाउन सकिन्छ ।
दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार पछिल्लो समय अस्पतालमा बेड अभावका कारण कोभिडका बिरामी फर्कने गरेका छन् । उनले अस्पतालमा रहेका कोभिडका ३० जना बिरामीलाई अक्सिजन दिन परेको बताइन् । अस्पतालमा १५ जना सङ्क्रमितको अवस्था नाजुक रहेको छ । 'अहिले दैनिक ३५- ३७ जना अस्पतालमा आउने गर्नुभएको छ । अस्पतालको बेड खाली छैन । पहिले शहरमा मात्र कोभिड थियो अहिले घरघरमा फैलिएको छ ' दंगालले भनिन् ।
हाल जिल्लाका पालिकाहरूले कनट्याक्ट ट्रेसिङ तथा मास टेस्टिङ कार्य नियमित र व्यवस्थित रूपमा सञ्चालन नगर्दा गाउँ तथा बस्तीमा घरैपिछे ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमितहरू रहेकोले सङ्क्रमण फैलिएर अन्ततः झापा जिल्लामा कोरोना नियन्त्रण बाहिर जान सक्ने देखिन्छ ।
जिल्लाका केही पालिकाहरूमा भेरोसिल खोप कार्यक्रम सञ्चालित भएकोले खोप केन्द्रहरूमा सामाजिक दुरी कायम गराइ स्वास्थ्य मापदण्ड पालना गराउन नसक्दा सङ्क्रमणको जोखिम अझ बढ्न सक्ने स्थिति रहेको देखिन्छ । साथै बैङ्क तथा वित्तीय संस्थाहरूमा सामाजिक सुरक्षा भत्ता लिन आउनेको घुइँचोले सुरक्षा निकायले पनि निषेधाज्ञा पालना गराउन नसकेको अवस्था छ ।
जिल्लामा आइतवारसम्ममा ५७ हजार ६ सय १२ जनाले भेरोसिल खोपको पहिलो डोज लगाएका छन् ।
कोभिड-१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड-१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयअनुसार शनिवार राति १२ देखि साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना सङ्क्रमणका कारण झापामा हालसम्म ४६३ जनाले ज्यान गुमाइसकेका छन् । जिल्लाभर हाल सम्म ७० हजार ७० जनामा पीसीआर. र १२ हजार ८ सय ७१ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा पीसीआरबाट १८ हजार ३ सय ४ जना र एन्टिजेन्टबाट ४ हजार १ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।
पछिल्लो समय सङ्क्रमण बढेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले बताए । प्रजिअ तिम्सिनाले झापाका १० पालिकाले सिल गरेपछि त्यतिले नपुगेर जिल्लामा निषेधाज्ञा लगाएको बताए । उनले भने,'झापाका १० पालिकाले सिल गरेपछि त्यतिले नपुगेर जिल्लामा निषेधाज्ञा लगाएका हौ । सात दिनको निषेधाज्ञा छ, सङ्क्रमण कसरी जान्छ त्यही अनुसार डिसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने, नगर्ने निर्णय गर्छ ।'
उनले झापामा परीक्षणको दायरा भने बढाइएको बताए । उनले भने,'समुदाय स्तरमा परीक्षण गरेपछि यो नजिता आएको हो ।'
कोरोना सङ्क्रमण नियन्त्रण गर्न पूर्वी सिमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टा बाहेक अन्य नाका बाट सबैलाई प्रवेश निषेध गरिएको छ । काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको प्रजिअ तिम्सिनाले बताए ।