- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरू केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहनुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’
नेता पोखरेलले काँग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले भने,‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ । सङ्क्रमणकालीन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । यसमा नेपालको आन्तरिक राजनीतिक कारण पनि छ, अर्को बाह्य शक्तिको पनि हात छ । र, न्यायालयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।’
उनले सत्ता पक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौँ भनेर घोषणा गरे पनि त्यो उनीहरूको पराजित मानसिकता भएको टिप्पणी गरे । उनले आफूहरू केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको सुनाए । उनले केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौँ भनेर सोचेकाहरूले केपी ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेको आरोप लगाए ।
आफूहरू निर्वाचनको पक्षमा रहेकोले जहिल्यै पनि निर्वाचनमा जान तयार रहेको पोखरेलको भनाई छ । उनले भने,‘हिजो निर्वाचनलाई प्रतिगमन देख्नेहरू आज यिनीहरूले निर्वाचन गर्छन् जस्तो मलाई चाहिँ लाग्दैन ।’ उनले सत्ता पक्षीय गठबन्धनले निर्वाचन गराउनु भन्दा पनि बरु अदालतबाटै १० वर्ष नै यो सरकारको आयु लम्ब्याउन मिल्ने भए त्यतातिर जान सक्ने टिप्पणी गरे ।
उनले भने,‘किनभने सेटिङमा अदालतबाट फैसला गराउनुभएको छ।’ उनले चुनाव त आफूहरूको माग भएको जिकिर गरे । उनले काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतको गठबन्धनलाई कथित गठबन्धनको संज्ञा दिँदै यसले निर्वाचन गराउन नसक्ने दाबी गरे ।
उनले केपी ओली नेतृत्वको सरकार त चुनावमार्फत आएको उल्लेख गर्दै प्रतिक्रान्तिवादीहरुले जनताबाट निर्वाचित भएर आएको सरकार बनेकै दिनदेखि ढाल्न षड्यन्त्र गरेको सुनाए । ओली सरकार ढाल्नको लागि धेरै प्रयत्न गर्दा पनि नसकेपछि अन्तिममा न्यायालयलाई प्रयोग गरेर ढालेको पनि सुनाए । उनले भने,‘एक किसिमले यो कु नै हो । षड्यन्त्रमूलक सत्ताच्यूत हो ।’
एमालेभित्रको अन्तर कलह समाधानको लागि अहिले प्रयास भइरहेको पनि सुनाए । आफूहरूको नवौँ महाधिवेशनको दस्ताबेजमै काँग्रेस प्रतिस्पर्धी पार्टी उल्लेख गरिएकोमा माधव नेपाल समूहले काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउनको लागि भूमिका खेल्नु पार्टी हित र कम्युनिस्ट आचरण बाहिरको कुरा भएको पनि पोखरेलको भनाई छ । उनले भने,‘माधव नेपालहरूको कदम यो सरासर धोका हो । गद्दारी हो ।’
उनले आफूहरूले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताको लागि अध्यक्ष पनि दिन तयार भएको सुनाए । तर, नेपालले भने अध्यक्ष पनि लिन नमानेको उनको भनाई छ । उनले माधव नेपाल समूह सरकारमा जाने कुरामा आफूलाई विश्वास नभएको पनि सुनाए । उनले भने,‘मलाई विश्वास छ, उहाँहरू सरकारमा जानुहुन्न । जानुभयो भने त्यही दिन कुरा गरौँला ।’ उनले एमाले भनेको सामाजिक सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता र विकासको पर्यायवाची भएको पनि सुनाए । उनले अर्को महाधिवेशनसम्म नभएसम्म अध्यक्ष ओलीको विकल्प नभएको र कसैले चाहेर पनि हटाउन नसक्ने टिप्पणी गरे ।
सहमतिमा नआए माधव नेपाललगायत उनको समूहका नेताहरूलाई २०५४ सालमा वामदेव गौतमलाई माधव नेपालले जसरी कारबाही गरेका थिए त्यसैसरि कारबाही गर्ने पनि उनको भनाई छ ।