- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको संक्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा संक्रमण हुने दर पनि घटेको देखिएको बताए ।
उनले भने, ‘‘प्रदेशमा हाल कोरोना संक्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन । संक्रमण थप फैलिने जोखिम यथावत् छ ।’’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
सो अवधिमा ४७६ संक्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । दुई जनाको मृत्यू भएको छ । सक्रिय संक्रमित बिरामी घटेका छन् । पन्ध्र दिनअघि ५३६ सक्रिय संक्रमित रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महीनासम्म उच्च रहेको कोरोना भाइरसको संक्रमण र मृत्यु दर असार महीना शुरु भएसँगै घटेको देखिएको छ ।
कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा संक्रमण देखिएको छ । नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११प्रतिशत हो । पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित हुनेमध्ये ३५ हजार ७८४जना उपचारपछि घर फर्किनुभएको छ । निको हुने यो दर झण्डै ७९ प्रतिशत हो । एन्टिजेन पद्धतिबाट संक्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन ।
नमूना परीक्षण गराउने बढ्दा संक्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘तेस्रो लहरको कारोना आएमा त्यसले बालबालिकालाई बढी असर पुर्याउने भन्ने छ’’, डा अवस्थीले भने,‘‘यसको पूर्व तयारीस्वरुप उपचार व्यवस्थापनका लागि चाहिने सबै सामग्री स्वास्थ्य संस्थामा जुटाउने काम भइरहेको छ ।’’
खोपको व्यवस्थापन
हाल कोरोना भाइरस विरुद्धको खोप दिने कार्य भइरहेको छ । तराईका खोप केन्द्रमा खोप लगाउन आउनेको थामि नसक्नु भीड देखिँदा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भइरहेको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा साउन १८गते सम्म ‘कोभिसिल्ड’ खोप दुई लाख ४९ हजार मात्रा प्राप्त भएकोमा ३७ हजार ९०० जनाले दुवै मात्रा र एक लाख ६७ हजार २०० जनाले एक मात्रा खोप पाएका छन् ।
भेरोसिल खोप दुई लाख ८७ हजार २०० मात्रा प्राप्त भएकोमा ४० हजारले दुवै मात्रा र एक लाख ७२ हजार २०० जनाले एक मात्रा पाएका छन् । यो खोपको मौज्दात रहेकोले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ । कोभिसिल्ड र भेरोसिल खोप दुई मात्रा लगाउनुपर्छ । एक मात्रा लगाए पुग्ने जेन्सन खोप प्रदेशमा एक लाख ३६ हजार ८०० मात्रा आइपुगेको छ । कैलाली र कञ्चनपुर जिल्लामा जेन्सन खोप साउन १७ बाट शुरु भइसकेको छ ।
कोभिसिल्डको एक मात्रा लगाएका धेरै व्यक्तिले खोपको अभावका कारण दोस्रो मात्रा लगाउन पाएका छैनन् । पछिल्लो हप्तामा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस संक्रमण थप बढ्नसक्ने जोखिम देखिएको छ ।
कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा संक्रमण बढ्ने जोखिम बढेको हो ।
खास गरी शहरी क्षेत्रमा बढ्ने गरेको मानिसको भीडभाडमा आपसमा भौतिक दूरी कायम नगर्ने र मास्क पनि प्रयोग नगर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
‘‘मालपोत र यातायात व्यवस्था कार्यालयमा दैनिक सेवाग्राहीको थामि नसक्नु भीड देखिन्छ’’, धनगढीका यज्ञराज भट्टले भने,‘‘जताततै बढेको भीडभाड र मास्क प्रयोग नगर्ने बानीले थप जोखिम निम्तिने खतरा छ ।’’ धेरै व्यक्तिले पछिल्ला दिनमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानीसमेत छाड्न लागेको देखिएको उनले बताए ।
जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र आपसमा सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरिरहेको छ ।