arrow

यूएन प्रि-स्याट प्रश्नपत्र लिक प्रकरणः दुई प्रहरीलाई बर्खास्त गर्न सिफारिस हुँदै, परीक्षा पनि रद्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
police-head-Q.jpeg

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीतर्फको प्रि-स्याट परीक्षाको प्रश्न पत्र ‘लिक’ भएको पुष्टी भएको छ ।

सो घटनाको छानविनका लागि प्रहरी प्रधान कार्यालयले डीआइजी वसन्त लामाको संयोजकत्वमा सात सदस्सीय छानबिन समिति बनाएकोमा सो समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टी गरेको हो ।  प्रश्नपत्र आउट भएको पुष्टी भएपछि प्रधान कार्यालयले दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी गरेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्नमा मुख्य भूमिका देखिएपछि हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमलाई बर्खास्त गर्ने तयारी भएको हो । शाहको भाइबरमा नै प्रश्न पत्र भेटिएको थियो भने त्यसपछि यूएन शाखाबाटै प्रश्नपत्र बाहिरिएको पुष्टी भएको थियो ।

छानबिनका क्रममा डीएसपी रुपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी प्रश्नपत्र आउट प्रकरणमा दोषी रहेको पाइएको हो । ती सबैलाई विभिन्न किसिमका कारवाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । 

‘प्रश्नपत्र लिक भएको पुष्टी भयो, सबै परिक्षा रद्द गर्न सिफारिस गर्दै छौं, केहीलाई बर्खास्त गर्न सिफारिस गर्छौ, केहीलाई नसिहत, बढुवा रोक्काको सिफारिस हुन्छ,’ छानबिन समितिका एक सदस्यले भने ।

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीहरुका लागि प्रि-स्याट परीक्षा संचालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए । 
तर १६ गतेको परीक्षा शुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा संचालन गरेको थियो ।

छानबिन समितिले यूएन शाखा कै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको थियो । डीएसपी पाठक र खड्का परिक्षार्थी थिए । खड्का भने केही समयअघिसम्म युएन शाखामा नै कार्यरत थिए ।

प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी पाठक भने यो प्रकरणमा दोषी देखिएका छैनन् । उनले नै परीक्षाको प्रश्नपत्र हातमा आइलागेपछि प्रश्नपत्र बाहिरिएको सूचनाबारे उच्च तहमा जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ