arrow

हेटौंडामा प्रहरीको ज्यादती: व्यवसायी र सर्वसाधारणप्रति सधैँ अभद्र व्यवहार

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ साउन २८ बिहिबार
nepal-police12.jpg

हेटौंडा । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। अझ प्रहरी जवानहरूको त कुरै नगरौँ नागरिकसंग यति छुद्र व्यवहार प्रस्तुत गर्छन् कि जसले प्रहरी सङ्गठन कै बदनाम भइरहेको छ ।

तर प्रहरीको निकै अघिदेखि हालसम्मका नारा भने निकै सुन्दर छन् । ‘मुस्कानसहितको प्रहरी’ , ‘जिब्रोको गरिमा मीठो बोलीमा’, गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी, ‘प्रहरी मेरो साथी’ लगायतका नारा नेपाल प्रहरीका हुन् ।

तर, दुर्भाग्य ! यो नारालाई हेटौंडाका प्रहरी र उच्च अधिकृतहरूले व्यवहारमा उतार्न सकेनन् । आवेशमा आएर जथाभाबी गालीगलौज, अन्धाधुन्ध लाठी प्रहार, रिस देखाएर जथाभाबी नियन्त्रणमा लिनु, कुटपिट गर्नु जस्ता कार्य प्रहरीको जिम्मेवारी र अधिकार भित्र पर्दैन ।

तर बागमती प्रदेशको राजधानी हेटौंडामा खटिने प्रहरीले भने आफ्नो काम, कर्तव्य र अधिकार भित्र नबसी गुण्डागर्दी शैलीमा प्रस्तुत हुँदै सर्वसाधारणमाथि जाई लाग्छन् ।

गत वर्ष नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएपछि शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा दीर्घकालीन सुधारका काम भनी केही नयाँ काम गरे । प्रहरीबाट संयुक्त राष्ट्रसंघीय (यूएन) मिसन जाने प्रहरीको छनोट सम्बन्धी ‘यूएन फम्ड पुलिस युनिट छनौट मापदण्ड, २०७७’ जारी भयो । त्यसपछि भदौ २८ गते आईजीपी क्षेत्रीले ‘नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश–२०७७’ जारी गरे । उनले जारी गरेको त्यो आचारसंहिता भित्र प्रहरी भने रहन सकेका छैनन् ।

अझ हेटौंडामा रहेका प्रहरीलाई त त्यो आचारसंहिताले छोएकै छैन । प्रहरी सङ्गठनको मर्म विपरीत हेटौंडामा प्रहरी कर्मचारीले सर्वसाधारणप्रति छुद्र व्यवहार देखाउँदै सधैँ जसो दुर्व्यवहार गर्ने गरेका छन् ।

आचारसंहिताको पहिलो बुँदामै लेखिएको छ, ‘प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रूपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान व्यवहार गर्ने, प्रहरी सङ्गठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने ।’

प्रहरीका लागि तोकिएको यो अनिवार्य शर्त कार्यक्षेत्रमा खटिएका प्रहरीमा कहिल्यै देखिँदैन । हेटौंडाका प्रहरीले प्रहरी सङ्गठनकै साख गिर्ने गरी व्यवहार प्रदर्शन गर्छन् ।

नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न अहोरात्र खटिने नेपाल प्रहरीका प्रहरी कर्मचारीहरूको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै सकल दर्जाका प्रहरी कर्मचारीलाई शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन भन्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ लाई टेकेर आचारसंहिता ल्याइएको हो । तर यहाँ खटिने प्रहरीले भने आफ्नो कुनै पनि आचारसंहिता पालना गर्दैनन् । त्यसैले यहाँका प्रहरीको आचरण र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ ।

अहिले जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सबै व्यवसाय सञ्चालन गर्न दिने तर निषेधाज्ञा चाहिँ छ है भन्ने पार्नका लागि जारी गरिएको निषेधाज्ञामा हेटौंडाका अधिकांश व्यवसाय सञ्चालनका आइरहेका छन् । प्रशासनले तोकेको समय भित्र आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न पाइने र उक्त समय कटेपछि बन्द गर्नुपर्ने नियम लगाइएको छ ।

तर प्रशासनको निषेधाज्ञा कै बहानामा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले हेटौंडामा सर्वसाधारणमाथि ज्यादती गरिरहेका छन् ।

लकडाउन कार्यान्वयन नाममा नागरिकलाई जबरजस्ती नियन्त्रणमा लिने, गाली गर्ने, अपशब्द प्रयोग गर्ने, जथाभाबी जरिवाना तिराउन लगाउनेजस्ता प्रहरीको हर्कतले यहाँका व्यवसायी हैरान भएका छन् । निषेधाज्ञाको बहानामा प्रहरीको ज्यादती सधैँ हुने गरेको यहाँका व्यवसायी बत्ताउँछन् ।

'सरकारी कार्यालयमा ठेलमठेल भिड हुँदा कोरोना नलाग्ने, व्यवसाय गर्दा सबै स्वास्थ्य मापदण्ड पुरा गर्दा पनि कानुन विपरीतको काम गरिस् भनी प्रहरीले समातेर जरिवाना तिराउँछ, यो पुलिसको ज्यादती नभए के, ? हेटौंडा-४ का एक व्यवसायीले आक्रोश पोखे ।

प्रहरीले उनीहरूसँग राम्रो  बोल्दा पनि अपशब्द प्रयोग गरी आफूलाई जे मन लाग्यो त्यहिँ मुद्दा चलाउने वा जे मन लाग्यो त्यही शीर्षक बनाएर जरिवाना तिराउने र कारबाही गर्ने गरेको हेटौंडा-५ का बलराम पौडेलले बताए । 

केही दिन अघि हेटौंडा-४ खोपेगल्लीमा समाचार सङ्कलनका लागि पुगेका हाम्राकुराकर्मी माथि पनि प्रहरीले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको थियो । 

यस्ता दुर्व्यवहारका घटना हरेक दिन हुने गरेको छ हेटौंडामा । यहाँका सर्वसाधारण, व्यापारी,व्यवसायी प्राय हरेक दिन प्रहरीको ज्यादतीमा परेका छन् । आफूमाथि अभद्र व्यवहार भइरहँदा पनि अपराधीलाई जस्तो नियन्त्रणमा लिने र कारबाही गर्ने गर्दा आम नागरिक प्रहरीबाटै पीडित बनिरहेका छन् ।

तर यसबारे प्रहरी उपर नै कारबाही गर्ने कसले ? सर्वसाधारणलाई अभद्र व्यवहार, गालीगलौज, बिनाकारण नियन्त्रणमा लिने जस्ता हर्कत गर्ने प्रहरीलाई कारबाही गरी आचरण र प्रहरीका आफ्नै नाराबारे जानकारी गराउनु आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ