arrow

कार्यकर्ताको भन्दा नेतृत्वको अनुकुलताले चलाउँदा काँग्रेस कमजोर हुँदैछ : भोजराज अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
bhojraj-aryal-Snajhya.jpg

पार्टी जीवनमा महाधिवेशनको ज्यादै ठूलो महत्व रहन्छ । कुनै पनि राजनीतिक दलले आफ्नो ऐतिहासिक कार्यभारको समीक्षा, आत्मालोचना, वर्तमान जीवनको सजीव चित्र र भविष्यको जीवनको सुस्पष्ट चित्र कोर्ने साधनका रूपमा महाधिवेशनलाई अख्तियारी गरेको हुन्छ । महाधिवेशन पार्टीको विद्यमान विचार, विमर्श तथा नीतिको गहन छलफल गर्ने थलो हो । जनताको राष्ट्रिय जीवनमा परेका सकारात्मक, नकारात्मक भावको समीक्षा गर्ने थलो पनि हो-महाधिवेशन ।

यही थलोबाट पार्टी जीवनलाई पुनर्ताजगी गरी जनउपयोगी र सान्दर्भिक बनाउने विचारको अनुमोदन र सोहीअनुरूपले नेतृत्व चयन गरिने परिपाटीको विकासका लागि महाधिवेशन महत्वपूर्ण थलो हो । प्रजातान्त्रिक राज्य व्यवस्थामा मूल नीतिहरू प्रायः स्थिर प्रकृतिका रहने शास्त्रीय दृष्टिकोणवादीहरूले महाधिवेशनमा केवल नेतृत्व चयनलाई मात्र प्राथमिकता दिने गर्छन् । यसै क्रममा कार्यतालिका सार्वजनिक भैसकेको कांग्रेसको महाधिवेशन स्थगित भएको छ । काँग्रेसको १४औँ महाधिवेशन अब के हुन्छ भन्ने विषयमा काँग्रेस महासमिति सदस्य एवं वालिङ नगरपालिकाका पूर्वमेयर भोजराज अर्यालसँग संवाद गरेका छौं । प्रस्तुत छ अर्यालसँगको संवादको सम्पादित अंश :

अर्यालजी आराम हुनुहुन्छ ? अहिले देखिएको राजनीतिक परिवेशलाई तपाई के भन्न चाहनुहुन्छ ?

मेरो आफ्नो स्वास्थ्य अवस्था त ठिकै छ, तर एउटा सामाजिक प्राणी भएको नाताले देशमा घटिरहेका घट्नाक्रमहरुले समाज र आम नागरिकमा के कस्तो प्रभाव परिरहेको छ त्यो कुराले पनि महत्व राख्दोरहेछ । धेरै लामो संघर्ष र हजारौं नागरिकहरुको वलिदानपछि प्राप्त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता जनताका प्रतिनिधिहरुले बनाएको संविधान प्राप्त गर्न हामीले खर्चिएको सात दशक भन्दा लामो समय पछि प्राप्त भएका यी उपलब्धीहरुको माध्यमबाट देशको समृद्धि र जनताको खुसीयाली प्राप्त हुनेछ । सबै जातजाती, धर्म सप्रदाय, क्षेत्र, वर्गलाई राज्यको मुलप्रवाहमा समाहित गरी देश अगाडि बढ्ला अब उप्रान्त नेपाली जनता आफ्नो भाग्यको निर्माण आफ्ना प्रतिनिधिहरुको माध्यमबाट हुनेछ भनेर नयाँ सुनौलो भविष्यको आगमनको प्रतिक्षामा थिए ।

नयाँ संविधान निर्माण पछि संघिय गणतन्त्रात्मक पद्धतिद्वारा भएको निर्वाचनबाट दुई तिहाई जनमत सहित निर्माण भएको सरकार जुन धेरै लामो राजनीतिक अस्थिरता पछि सुविधाजनक बहुमतको सरकारले देशको कायापलट गर्नेछ भन्ने कल्पनाका साथ नेकपा पार्टीलाई विश्वास गरेर लगभग दुई तिहाई जनमतका साथ सत्ता हस्तान्तरण गरेका थिए । देशको भुराजनीतिक बनोटलाई मध्यनजर गर्दै सन्तुलित कुटनीतिका माध्यमद्वारा दुवै विशाल छिमेकीहरु र सबै अन्तर्राष्ट्रिय शक्तीहरुलाई विश्वसमा लिएर नेपालको चौतर्फी खाका कोर्दै नेपाली जनताको आवश्यकतालाई मुख्य आधार मानी देश विकासको प्रकृयाहरु अगाडी बढ्नेछन्, नेपाली जनताले अब विदेशमा गएर रगत पसिना बगाउनुपर्ने छैन, आत्मसम्मानका साथ स्वदेशमै रोजगारी प्राप्त हुनेछन् भन्ने उत्कठ अभिलाषाका साथ नेकपालाई जिताएका थिए ।

नेपाली  जनताको दुर्भाग्य नै भन्नुपर्छ २०१५ साल पछि दुइ तिहाई बहुमतका साथ अत्यन्त सहज परिस्थितिमा बनेको नेकपाको सरकार आपसी खिचातानी सर्वसत्तावादी चरित्र प्रदर्शन गर्दै इतिहासमै नभएका ठूला ठूला भष्ट्राचारका काण्डहरु एकपछि अर्को गर्दै मुलुकलाई अझ दुर्गती तिर लैजाने गरी लामो सघर्षपछि प्राप्त भएको लोकतान्त्रिक पद्धतीलाई आधात पर्ने गरी संविधानलाई नै समाप्त पार्ने कार्यहरु भए । जसका कारण मुलुक फेरी दुर्घटनामा जाने जुन अवस्था सिर्जना भयो र त्यसका विरुद्ध नेपाली कांग्रेसले जुन खालको नेतृत्व प्रदान गर्नुपर्ने थियो त्यस अनुकुलको व्यवहार नेतृत्वबाट भएको देखिदैन । देश अहिले अत्यन्त ठूलो महामारीबाट आक्रान्त भईरहको अवस्था छ । हजारौं नागरिकहरु महामारीको कारणबाट मृत्युवरण गर्न वाध्य भएका छन् । यी सबै कारणहरुले गर्दा आफ्नो व्यक्तिगत स्वास्थ्यले खासै महत्व राख्दो रहेनछ ।

तपाई अहिले नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ, आसन्न १४ औं महाधिवेशनमा आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

म विगत ३० वर्ष देखि २०४८ सालमा भएको ८ औं महाधिवेशनबाट लगातार महाधिवेशन प्रनिनिधि, महासमिति सदस्य रहदै आएको छु । महाधिवेशन प्रनितिधिको मुख्य भूमिका महाधिवेशन सकिएपछि जिम्मेवारी पूरा हुन्छ । महासमिति सदस्य भनेको अर्को महाधिवेशन नभएसम्म पार्टीको जिवनमा आईपर्ने सबैखाले विधिसम्मत जिम्मेवारीहरु पुरा गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसको विधानले कम्तिमा वर्षको एक पटक महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था गरेको छ । विगत कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइरालाहरुको कार्यकालदेखि नै एक अधिवेशनको समयअवधिको विचमा महासमिति बैठक एकपटक मात्र बोलाउने परम्परा जस्तै बनेको छ । त्यस हिसाबले ६ वटा महाधिवेशन र ६ वटै महासमिति बैठकहरुमा सहभागिता जनाउने अवसर मैले प्राप्त गरे । ती महाधिवेशन महासमिति बैठकहरुमा आफ्नो बुद्धि विवेकले देखेका विषयहरुको उठान गरियो । ती विषयहरुमा म र म जस्तै देश भरिका नेता कार्यकर्ता साथीहरुले उठाएका गम्भिर विषयहरु पार्टीले ग्रहण गर्‍यो गरेन त्यो यहाँ विवेचनाको विषय भएन ।

अब पार्टीको १४ औं महाधिवेशनमा मेरो सहभागिताको विषय उपयोगिताको आधारमा निर्णय लिनुपर्छ भन्ने मेरो मान्यता छ । मैले नेपालको प्रजातान्त्रिक आन्दोलनमा करिव ५० वर्ष खर्चेको छु । म परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने विचार राख्ने मानिस हुँ अरुले परिवर्तनका लागि काम गरोस र त्यसको रापताप आफुसँग आईपुगोस भन्ने मेरो मात्यता होइन । मैले विचारले भर्भराउदो, उमेरले कल्कलाउदो, परिवर्तनको विशाल भारी बोकेको सिर्जनशिल युवालाई जिम्मेवारीको भारी विसाउन पाए आनन्दको अनुभुती गर्ने थिए । ६ पटक महासमिति सदस्य हुँदा मेरो औचित्य त्यो भन्दा माथि उठ्न सकेन । अन्य केही साथीहरु जब की पार्टीमा क्रियाशील भएको पाँच सात वर्ष भित्रको अवधिमै महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको देख्दा मैंले म आफैंतिर फर्केर हेर्दा त्यो भन्दा माथिल्लो खुड्किलो उक्लिने बुद्धि विवेक, क्षमताको अभावले होला भन्ने महशुस गरेको छु । मेरो एउटा मात्रै चिन्ता छ, मैंले १३ वर्षको उमेर देखि ६५/६६ वर्षको उमेर सम्म मेरो सारा जीवन रगत पसिना लगानी गरेको पार्टी आगामी दिनहरुमा २१ औं शताब्दीको चुनौतीहरुलाई सामना गर्दै आम नेपाली नागरिकहरुको प्रथम रोजाईको पार्टी बन्न सकोस् ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवादको आदर्शलाई पूर्ण रुपमा व्यवहारमा लागु गर्न सकोस यसका संस्थापक नेता वीपी कोइरालाले १५ वर्ष भित्रमा सम्पूर्ण नेपाली नागरिकहरुलाई आफ्नो आर्थिक हैसियतमा लैजाने जुन सपना देखेका थिए त्यसलाई कार्यान्वयनको एउटा माध्यम बनोस् । त्यस प्रकारको भरोसायोग्य व्याक्तिले स्याङ्जा कांग्रेसको नेतृत्व गरेको देख्न चाहन्छु । महाधिवेशनको समय भनेको नयाँ नयाँ विचारहरु, कार्यक्रमहरु, समाज रुपान्तरणका महत्वपूर्ण एजेण्डाहरु प्रस्तुत गर्ने ती विचारहरु कार्यकर्ताहरुबाट अनुमोदन गराउने र उक्त अनुमोदित विचारले नेतृत्व गर्ने प्रजातान्त्रिक प्रकृया अन्तर्गत पर्दछ । अहिले नेपाली कांग्रेसमा गुटबन्दीको आधारमा नेतृत्व प्राप्त गर्ने होड चलेको छ । यसले पार्टीलाई नकारात्मक बाटोतर्फ लैजान्छ ।

नेतृत्वमा पुगेको मानिसले नै गुटबन्दी, तेरोमेरो, यो फलाना गुटको, त्यो ढिस्कानो गुटको भनेर छुट्याउन थालेपछि त्यसै आधारमा आफ्नो अनुकुलका पार्टीको मुल्यमान्यताको ख्यालै नगरी आफ्ना अन्धसमर्थकहरुलाई अध्यारो कोठामा बसेर सदस्यता बाड्ने, आफ्ना सिमित मानिसहरुको भेला बसेर त्यसलाई अनुमोदन गर्ने परिपाटीले नेपाली कांग्रेसलाई अगाडि बढाउन सक्दैन । यी सबै परिस्थितिहरुको मुल्याङ्कन गरेर पार्टीलाई कसरी बचाउने, भन्ने बारेमा जिम्मेवार साथीहरुको विचमा सहमति हुन सक्यो भने मात्र नेपाली कांग्रेस पार्टीले आफ्नो गौरव कायम राख्न सक्ला अन्यथा हामीजस्ता केही मानिसहरुको सहभागीताले मात्र कांग्रेसलाई बचाउन सक्दैन त्यसै कारणले मैले मेरो उपस्थिति उपयोगिताको आधारमा हुनेछ भनेर भनेको हुँ । 

लामो समयदेखी निरन्तर रुपमा पार्टीमा क्रियाशील भोजराज अर्यालले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको केद्रीय समितिले भटाभट नियुक्तिहरु गर्‍यो, त्यसमा दह्रो गरि बोलेनन् । जिल्लाको हकमा पनि नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनयन गर्ने कुराहरु भए, त्यो बेला पनि बोलेनन् भन्ने गुनासाहरु आइरहेका छन् । तपाई पार्टीमा किन मौन बस्नुभयो ?

कतिपय पार्टीका आन्तरिक विषयहरुमा सार्वजनिक रुपमा बोल्नुलाई त्यती उपयुक्त मानिदैन । राजनीतिक पार्टीका आन्तरिक विषयहरु आन्तरिक सभा सम्मेलन, बैठक आदिमा उठान गर्ने परिपाटीहरु हुन्छन् । तर वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र केन्द्रमा बहुमतको आधारमा पेलेर जाने परिपाटी लगभग संस्थागत भइसकेको छ । अन्य तहहरुमा पनि जहाँ जसको नेतृत्व छ उसैले आफ्नो अनुकुलका मानिसहरुलाई मात्र सहभागी गराएर आफ्ना अनुकुलका निर्णयहरु गराउने परिपाटी चलेको छ । लामो समय मुलकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र संघियताका लागि काम गरेको अनुभवको आधारमा पार्टीका तपाईले उल्लेख गरेका विषयहरुमा सार्वजनिक रुपमा नबोल्ने गरेको कुरा सत्य हो ।

तर दुर्भाग्य नै भन्नुपर्छ पार्टीका स्थानीय तहदेखि जिल्ला, केन्द्रमा कुनै पनि फोरमहरुमा हामीलाई सहभागी गराईदैन । पार्टीका बैठक, सभा सम्मेलनहरुको बारेमा यात सुचना नै दिइदैन दिईहालियो भने पनि भरसक अनुपस्थित रहोस भन्ने उद्देश्यले समय घर्केसी हिनताबोध हुनेगरी सुचना सम्प्रेषण गरिन्छ । त्यसैले माथि उल्लेख गरेका विषयहरुमा पार्टी फोरम भित्र आफ्ना विचार राख्ने असमति जनाउने अवसरहरु प्राप्त हुन छोड्यो । अहिले तपाईसँग यी विचारहरु राख्दा पनि मैंले केही असहज महसुस गरिरहेको छु । अहिलको युगमा सार्वजनिक जिवन विताईरहेका व्यक्तिको जीवन त सार्वजनिक सरोकारको विषय बन्छ भने नेपाली कांग्रेस जस्तो ऐतिहासिक पृष्ठभूमी भएको मुलुककै जेठो र ठूलो राजनीतिक पार्टीको बारेमा मैले कुरा लुकाउँदैमा कसैले थाहा नै पाउदैन भन्ने पनि होइन । त्यसैले तपाईले कुरा उठाइहाल्नुभयो मैंले देखेका अनुभव गरेका पार्टी भित्र भएगरेका केही विषयहरुको उठान गर्न चाहन्छु ।

नेपाली कांग्रेसको विधानले २८ वटा विभागको व्यवस्था गरेको छ । हाल ४२ वटा विभागहरु गठन गरी ती विभागहरुमा आफु अनुकुलका मानिसहरुलाई मनोनयन गर्ने गरेको दिनानुदिन सामाजिक संजालहरुमा नियुक्ति पत्र सहितका बधाई र शुभकामना सन्देसहरु पठाएको देखिन्छन् । लोकतन्त्रमा बढीभन्दा बढी नागरिकहरुको सहभागिताले पार्टीलाई बलियो बनाउने कुरा सत्य हो । पार्टीको विचार, सिद्धान्त, आचारसंहिताको ख्यालै नगरी क्रियाशील सदस्यता नै नभएका मानिसहरुलाई केन्द्रीय विभागको सदस्य मनोनयन गरेका नियुक्ती पत्रहरु प्रशस्तै देखिन्छन् ।

बडा विडम्बना स्याङ्जा जिल्ला हिजोको प्रजातान्त्रिक आन्दोलनमा प्रशस्तै साथीहरुले योगदान गर्नुभएको छ । ती साथीहरु मध्ये जसले वर्तमान संस्थापनले गरेका सबै कार्यहरुसँग अन्धभक्त भएर समर्थन गर्नुहुन्न ती साथीहरुलाई जतिसुकै योग्य भएपनि ती विभागहरुमा वहाँहरुले नियुक्ती पाउनुभएको छैन । मानौं अहिले नियुक्ति पाउने भनेको पार्टी सदस्यता र योगदान मापदण्ड होइन अहिलेको संस्थापनको अन्धभक्ती नै मुख्य योग्यता हो । ५० वर्षको राजनीतिक जिवनमा मैंले चिन्दै नचिनेका व्यक्ति स्याङ्जाको प्रतिनिधित्व गरेर केन्द्रीय समितिमा मनोनित भएका छन् । जिल्ला र स्थानीय तहको त के कुरा गरौं । जिल्ला कार्यसमिति त्यो पनि तदर्थवादको आधारमा कसैको आर्शिर्वादबाट बनेको नेतृत्वले विभिन्न हैसियतका संगठन निर्माण गरेर त्यसमा आफ्ना अनुकुलका मानिसहरु भर्ती गर्ने भजन मण्डली तयार गर्ने कार्य भइरहका छन् । मैले अगाडी नै भनीसके पार्टीका फोरमहरुमा उपस्थित भएर यी कुराहरु विधानअनुसार भएनन भनेर सच्चाउन लगाउने अवसर नै प्राप्त हुन छोड्यो ।

तर गत संसदीय निर्वाचनमा तपाईलाई पार्टी विधान भन्दा बाहिर गएर बोलेको आरोप छ नी वास्तविकता के हो ?

गत संसदीय निर्वाचनको समयमा वास्तवमा म प्रदेश सभाको निर्वाचन लड्ने मानसिकतामा थिइँन । जिल्लाको नेतृत्व गर्दै जिम्मेवार तहमा पुगेका व्यक्तिकै आग्रहमा आपसमा वसेर सरसल्लाह गर्दा दुई कम्युनिष्ट पार्टीहरुको विचको एकता नेपाली कांग्रेसको नेतृत्वमा ६४ सदस्यीय मन्त्रीमण्डल र त्यसको जनतामा परेको नकारात्मक असर न्यायिक क्षेत्रमा पहिलो पटक महिलाको नेतृत्व गर्दै प्रधानन्यायाधीश वनेकी न्यायलयमा भएका विकृती विसंगतीहरुलाई सुधार गर्ने क्षमता राख्ने तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीलाई लगाइएको महाभियोग, प्रहरीमहानिक्षक नियुक्ती प्रकरण, राजदुत नियुक्तीका कारण आम नागरिकमा पर्न गएको नकारात्मक प्रभाव जिल्लाको क्षेत्र निर्धारण गर्ने क्रममा तत्कालिन २ नम्बर को केही भाग र समग्र ३ नं. क्षेत्र मिलेर अहिलेको २ नं. क्षेत्र बनेको र त्यसका मतदाताहरुको कम्बिनेशन लगायतका विषयहरु र नेपाली कांग्रेसमा स्थायी रुपमा जिवन्त राखिएका गुटगत समूहहरु स्याङ्जाको राजनीतिक पृष्ठभूमी संविधानले निदृष्ट गरेको समावेसी समानुपातिक सन्तुलन तथा युवा, वयस्क लगायतका सम्पूर्ण कार्यकर्ताहरुको भावनालाई समेटेर निर्वाचनमा गयो भने मात्र नेपाली कांग्रेसले आफ्नो वर्चश्व कायम राख्न सक्छ भन्ने थियो । मैले गुटगत भावनाबाट प्रेरित भएर निर्वाचनमा गइयो भने सकारात्मक परिणाम नआउन सक्छ भन्ने सुझाव पनि दिएको थिए ।

तपाई प्रदेश सभा सदस्यमा निर्वाचनमा लडेर मलाई संसदीय निर्वाचनमा एकपटकलाई सहयोग गर्नुहोस् मिलेर जाउँ सबैलाई पार्टीमा योगदान गरेका महिला, युवा तरुणहरु सबै जातजाती सम्प्रदायलाई समेटेर जाने हो भन्ने सहमतिको आधारमा प्रदेश सभामा चुनाव लड्ने सहमती भएको थियो । पछि टिकट वितरण गर्दा विभिन्न प्रलोभन र प्रभावमा परेर त्यो सहमतिलाई उल्लंघन गरियो । वास्तवमा मैले टिकट नपाउनु कुनै ठूलो विषय थिएन, म भन्दा केही सिनियर र पार्टीमा निरन्तर खटिरहेका स्याङ्जा कांग्रेसको इतिहास बनेका महानुभावहरुलाई समावेश गरेर गएको भए आम नागरिकमा पनि त्यसको सकारात्मक प्रभाव पर्न जाने थियो । अहिलेको युगमा म नबोल्दैमा कांग्रेस भित्रका विकृती विसंगतीहरु सार्वजनिक नहुने होइन र हरेक पार्टीका आन्तरिक गतिविधिहरुको बारेमा वाहिरबाट अध्ययन गरिरहेको हुन्छ ।

इतिहासको कालखण्डमा कांग्रेस कहिल्यै दोस्रो शक्ति बनेन । पंचायत कालमा वि.पि. कोइराला के बोल्छन, के गर्छन उनका कार्यक्रमहरु हेरेर पंचायतले आफ्नो रणनीति बनाउथे । प्रजातन्त्र पुर्वोत्तर कालमा पनि कांग्रेस के बोल्छ, के गर्छ, त्यो देशको राष्ट्रिय मुद्दा बन्थ्यो । कांग्रेसले अन्य राजनीतिक पार्टीहरुको घरझगडा मिलाइदिन्थ्यो, टुक्रा टुक्रा भएर छरिएर रहेका कम्युनिष्टहरुलाई एउटा समूह बनेर आउ भन्थ्यो कांग्रेसले । अहिले कांग्रेसको सभापति अहिले प्रधानमन्त्री नै बन्नुभएको छ, वहाँको बोली व्यवहारलाई पहिला जस्तो ओझिलो रुपमा ग्रहण गर्दैनन् । अरुलाई साहरा दिने कांग्रेस अहिले अरुको घरझगडाको फाइदा उठाएर सत्तारोहण हुन पुगेको छ । यी घटनाहरु कांग्रेस आफ्नै कारणले भएका हुन् । 

देशभरी गत निर्वाचनमा टिकट वितरण गर्दा राम्रा होइन हाम्राको खोजी गरियो । पार्टीमा योगदान पुर्‍याएका होइन धनवाद, डनवाद, नातावाद, कृपावाद, प्रेमवाद (नेताका गल्डफ्रेण्ड, व्वायफ्रेण्ड) जग्गा दलाल, तस्कर, ठेकेदारहरु र पहुँच भएका मानिसहरुको घरमा काम गर्ने भान्से सम्मले टिकट पाए । त्यस्तो असहज परिस्थितिको मूल्याङ्कन नै नगरी निर्वाचनमा होमिएको पार्टीलाई सकारात्मक परिणाम कसरी प्राप्त हुन सक्छ ? ईतिहास मै नेपाली कांग्रेस शर्मनाक पराजय व्यहोर्न पुग्यो । तर त्यसको अध्ययन अनुसन्धान र जिम्मेवारी लिन नेपाली कांग्रेसको वर्तमान नेतृत्व तयार भएन र गाउँ नगर, क्षेत्र र जिल्ला तहमा रहेका वर्तमान नेतृत्वका क्रियाकलापप्रति केही असन्तुष्टि जनाएका कार्यकर्ताहरुको टाउकोमा पराजयको जिम्मेवारी थोपरेर पराजयको लाज ढाक्ने प्रयास जिम्मेवार तहमा बस्ने मानिसहरुले गरे । त्यही मेसोमा स्याङ्जा कांग्रेसको पराजयको अपजस हामीलाई लगाउने प्रयास भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन हुनेमा अझै पनि प्रश्न उब्जेको देखिन्छ ? वर्तमान परिस्थितिमा महाधिवेशन हुने अवस्था छ की छैन ?

नेपाली कांग्रेसको विधान अनुसार चार वर्षको अन्तरालमा नियमित अधिवेशन गर्नुपर्ने व्यवस्था छ । केही असहज परिस्थिति निर्माण भएमा केन्द्रीय समितिले एक वर्ष थप गर्न सक्ने पनि विधानमा उल्लेख छ । त्यसपछि पनि पार्टीको अधिवेशन गर्न नसक्ने अवस्था सिर्जना भएमा नेपालको संविधान २०७२ अनुसार निर्वाचन आयोगले थप ६ महिनाको समयअवधि दिन सक्ने संवैधानिक व्यवस्था छ । अहिले नेपाली कांग्रेसले विधान, संविधान सबैले दिएका छुटहरु उपयोग गरिसक्यो । २०७८ भर्दौ १९ गते भित्र अधिवेशन गर्न नसके निर्वाचन आयोगले नेपाली कांग्रेस नाम गरेको पार्टीलाई निर्वाचन आयोगबाट नाम हटाईदिन सक्छ ।

एकातिर त्यस्तो संवैधानिक अवस्था अर्कोतिर विश्वव्यापी महामारीको चपेटामा हजारौं नेपाली नागरिकहरुले ज्यान गुमाईसकेका छन् । लाखौंको संख्यामा महामारीको चपेटामा परिसकेका छन् । अन्यन्त विषम परिस्थिति बनेको छ । डेढ वर्ष पहिले गरिसक्नुपर्ने महाधिवेशन जव कि तेती बेला कुनै दैवी प्रकोप, महामारी वा अन्य कुनै प्रतिकुल परिस्थिति थिएन । त्यसवखत भर्खर भर्खर भएको संसदिय निर्वाचन त्यसमा पार्टी संस्थापनबाट ईतर संस्थापनका मानिसहरुलाई गरेको पर्घेल्याई, आम कार्यकर्ताहरुको भावना भन्दा विपरित जाँदा आएको निर्वाचनको परिणाम त्यसबाट उत्पन्न नेतृत्व प्रति कार्यकर्ताहरुको वितृष्णाका कारण अधिवेशनमा अप्ठ्यारो पर्ने महशुस गरेर समयमा अधिवेशन गरिएन । अहिले नेपाली कांग्रेस संवैधानिक रुपमै अप्ठ्यारो परिस्थितिमा छ ।

यतिबेला पनि कांग्रेस भित्रका स्थायी गुटउपगुटहरुले के गर्दा आफु फाइदामा भइन्छ भन्ने भन्दा बाहेक यत्रो ठूलो ऐतिहासिक पृष्ठभूमि भएको देशमा प्रजातन्त्रको संवाहक भनेर मानिने सबैभन्दा जेठो पार्टीलाई आउन लागेको अप्ठ्यारो प्रति त्यती गम्भिर भएको देखिदैन । यतिबेला संस्थापन पक्ष सभापति शेरबहादुर देउवा प्रधानमन्त्री समेत हुनुभएको र वहाँ नै पुन सभापतीको लागि प्रवल इच्छुक हुनुभएकोले यो बेला पार्टी सत्ता र राज्य सत्ता दुबै आफ्नै हातमा भएको हुनाले आफुलाई सजिलो पर्ने महशुस गरेर अधिवेशन गर्ने तर महामारीको कारण देखाएर ठाउँ ठाउँमा आफ्ना अनुकुलका मानिसहरुलाई प्रतिनिधि बनाएर ल्याउन वहाँका सहयोगीहरुले भूमिका निर्वाह गरिरहेको देखिन्छ भने अर्को संस्थापन इतर पक्षका नेतृत्वमा पुग्न चाहने आकांक्षीहरु यो बेला कुनै प्रक्रियाद्वारा महाधिवेशन केही पर थकेल्न पाए हुन्थ्यो भन्ने मानसिकता बनाएको जस्तो बुझिन्छ । विगतमा जसरी अधिवेशन गर्नुपर्छ भनेर भनेको त्यसका लागि नेतृत्वलाई दवाव दिएको देखिदैन्  । त्यसकारण पछिल्लो समय तोकिएको समयतालिका टरिसकेको छ । भदौं १९ भित्र नै अधिवेशन भएन भने कार्यकर्ताले अनौठो नमान्दा पनि हुने अवस्था देखिन्छ । यहाँ पार्टीको भन्दा आफ्नो झुण्ड र गुटलाई कसरी अगाडि पार्न सकिन्छ भन्ने चिन्ताले कांग्रेसका सबै गुटहरु ग्रस्त छन् । 

कांग्रेस बलियो बनाउन कांग्रेसमा आएकाहरुप्रति संस्थापन इतर पक्षले निषेधको नीति लिदा समायोजनको नाममा विवाद बल्झिएको भन्ने छ, के छ तपाईको विचार ?

नेपाली कांग्रेस मासवेस पार्र्टी हो । हिमाल, पहाड र तराईका दुरदराजका गाउँ र विभिन्न शहरी क्षेत्रमा वस्ने आम नेपाली नागरिकहरु यसका आधार स्तम्भ हुन् । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन जुन आन्दोलनले ३० वर्षिय पञ्चायती निरंकुशताको अन्त्य गर्न सफल भयो । त्यसवखत नेपाली कांग्रेसका पुगनपुग ८ हजार सक्रिय सदस्य थिए । त्यो भन्दा बढी संख्यामा कांग्रेसले संचालन गरेको अन्दोलनको क्रममा जेल गएका थिए । १४ औं महाधिवेशनमा नेपाली कांग्रेसले साढे ८ लाख सक्रिय सदस्य बनाएछ । यही क्रममा विवाद समाधान गर्नका लागि गठन गरिएको समितिका अनुसार १८/१९ स्थानमा विवाद देखिएको भन्ने छ । मुख्य कुरा त पार्टीले आफ्नो घोषित विचार, सिद्धान्त, आदर्श यसका मुल्य मान्यतालाई आत्मसात गरेको छ कि छैन भन्ने हो । कुनै पनि राजनीतिक पार्टी जिवन्त रहने भनेको उसले अंगिकार गरेको मुल्य मान्यता सिद्धान्तले हो ।

मूल विचारबाट विचलित भइयो भने कालन्तरमा गएर ईतिहासमा प्रजापरिषदको अवस्था जुनसुकै राजनीतिक पार्टीमा पनि आउन सक्छ । सदस्यता विस्तार गर्नु राम्रो कुरा हो हाम्रो विधानले महाधिवेशन हुने समय भन्दा १ वर्ष पहिले देखिबाट सदस्यता वितरण गर्न बन्द गर्ने भनेको छ । महाधिवेशनको मिति तोकि सक्यो सदस्यताको छिनोफानो भएको छैन । यसैका कारणबाट समयमा महाधिवेशन हुन नसक्ने भन्ने पनि नेतृत्व मै बसेका मानिसहरुले भन्ने गर्छन । नेपाली कांग्रेसको क्रियासिल सदस्यता प्राप्त गर्ने योग्यता भनेको कांग्रेसका भातृ सहयोगी संस्थाहरुमा काम गरेको, साधारण सदस्य भएर निश्चित समय काम गरेको या अन्य कुनै पार्टीबाट उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको कार्यकर्तालाई नेपाली कांग्रेसको सक्रिय सदस्यता दिन सकिने प्रावधान छ । निज कार्यकर्ताले नेपाली कांग्रेस पार्टीका लागि कम्तिमा दिनको २ घण्टा पार्टीका लागि काम गरेको हुनुपर्ने विधानमा व्यवस्था छ ।

नेपाली कांग्रेसको सदस्यले नेपाली कांग्रेसको मुल्य मान्यता, आदर्श सिद्धान्तहरुलाई राम्रोसँग बुझेको आफ्नो अधिकार के हो ? कर्तव्य के हो, भन्ने बुझेको र त्यसलाई अनुसरण गर्नुपर्ने हुन्छ । विगत निर्वाचनलाई आधार मान्ने हो भने कुनै कुनै ठाउँ यस्ता छन जहाँ नेपाली कांग्रेसका क्रियासिल सदस्य भन्दा नेपाली काग्रेसको पक्षमा परेको मत कम देखिएका उदाहरणहरु प्रशस्तै छन् । कुनै पनि राजनीतिक पार्टीको सदस्य बन्नाका लागि केही आचार संहिताहरु र अनुशासन आवश्यक पर्छ । नितान्त अधिवेशन केन्द्रित रहेर वितरण गरिएको सदस्य अभियानले भोली कांग्रेसलाई नै अप्ठ्यारो पार्ने अवस्थाबाट नजरअन्दाज गर्दै अन्य पार्टीबाट प्रवेश गरेको देखाएर अन्य पार्टीकै सदस्यहरुलाई पार्टीको सदस्यता वितरण गरेका प्रशस्तै उदाहरणहरु देखिन्छ । त्यसले पार्टीलाई वैचारिक हिसावले स्खलनको बाटोतिर लैजान्छ ।

पार्टीमा इमान्दार, कर्तव्यपरायण, सिद्धान्तनिष्ठ मानिसहरुको हातबाट पार्टी सत्ता गुम्यो भने त्यो पार्टीको भविष्य सुनिश्चित हुदैन । निर्वाचन प्रयोजनका लागि बढी भन्दा बढी मानिसहरुलाई आकर्षित गर्न सक्ने त्यस्तो सक्षम व्यक्तित्वको खोजी गरिन्छ । तर पार्टी संचालनमा पार्टीको ऐतिहासिक पृष्ठभूमी, विचार, सिद्धान्त, आदर्शप्रति प्रतिवद्ध र सबैलाई समन्वय गरेर लैजान सक्ने तथा समग्र पार्टीलाई अनुशासित र एक ढिक्का बनाएर लैजान सक्ने व्यक्तिको आवश्यकता पर्छ । वर्तमानमा सदस्यता विवाद भनेको यिनै कुराहरुमा अल्झिएको जस्तो लाग्छ । यहाँ कसैको अस्तित्व स्विकार गर्ने नगर्ने विषय भन्दा पनि .पार्टीको भविष्यलाई कति परसम्म सुनिश्चित गर्ने भन्ने विषय गम्भिर हो जस्तो लाग्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ