arrow

झापामा भयावह बन्दै कोरोना संक्रमण : ५ सय ३ जनाले गुमाए ज्यान

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ साउन २८ बिहिबार
jhapa-coronas.jpg

झापा । कोरोना भाइरस कोभिड-१९ को विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । कोरोना भाइरसको तेस्रो लहर आउनु अगावै झापा जिल्लामा संक्रमणका कारण ५ सय ३ जनाको ज्यान गइसकेको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय झापाले जारी गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार जिल्लाभर ७४ हजार ११ जनामा पिसिआर परीक्षण गर्दा २० हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसै गरि १५ हजार ३ सय ८ जनामा एन्टिजेन्ट परीक्षण गर्दा ४ हजार ९ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार परीक्षणको ६० प्रतिशतमा कोरोना भाइरस संक्रमण देखिएको छ। यो तथ्याङ्क अनुसार पछिल्लो समय झापा जिल्लामा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको देखिएको छ ।

बुधबार आरटि पिसिआर र एन्टिजेन गरि ५५२ जनाको स्वाब नमुना परीक्षण गरिएको थियो । जसमध्ये ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

केही दिन अघिसम्म अधिकतम ४० प्रतिशत सम्म संक्रमण पुष्टि भएको पाइएकोमा बुधवारको परीक्षणमा ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोले झापा जिल्लामा कोरोनाको ग्राफ ह्वात्तै उकालो लागेको पाइएको छ ।

जनस्वास्थ्यको मूल्याङ्कन अनुसार यो त‍थ्यांकले झापामा कोरोना संक्रमण भयावह भएको बुझाउँछ । संक्रमण दिनानुदिन उकालो लाग्दा पनि बजार तथा चोकहरूमा मानिसहरूको चहल पहलमा कमी आएको छैन ।

स्थानीय पालिकामा आवश्यक मात्रामा खोप नआउँदा जिल्ला अन्तरगत पालिकाका सबै खोप केन्द्र हरूमा भिडभाड भएको देखिएको छ । जसले कोरोना संक्रमण फैलनका लागि थप मद्दत पुगेको छ । मानिसहरूको लापरबाही तथा जनचेतना र स्वास्थ्य सावधानीको कमले गर्दा झापा जिल्ला कोरोनाको हब बन्दै गएको छ ।

झापा जिल्लामा हाल सम्म १ लाख ७४ हजार ९२ जनाले कोरोना विरुद्धको  पहिलो डोज खोप लगाएका छन् भने २० हजार ५ सय ८९ जनाले दोस्रो डोज खोप लगाएका छन् ।



नयाँ