काठमाडौं । गत आइतबारदेखि आमरण अनसनमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. गोविन्द केसीलाई अस्पताल प्रशासनले सामान्य चिकित्सकीय सुविधा दिन अस्वीकार गरेपछि आक्रोश बढेको छ ।
नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, नेसनल रेजिडेन्ट डाक्टर एसोसिएसन र विद्यार्थी कल्याणकारी कमिटिले अस्पताल निर्देशकलाई संयुक्त रूपमा लिखित पत्र दिँदै डा.केसीलाई स्वास्थ्यलगायतका विषयमा सघाउन आग्रह गरेका छन् ।
यसअघि सात पटकको अनशनमा अस्पताल सञ्चालन र सेवामा कुनै असर नपरेको जनाउँदै उनीहरूले डा केसीप्रति अस्पताल प्रशासनबाट भएको असहयोग र गैरजिम्मेवारपनको निन्दासमेत गरेका छन् ।
विद्यार्थीहरुले डा.केसीको बिग्रँदो स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर उपयुक्त कोठासँगै नजिकबाट निगरानी गर्न उपकरण र जनशक्ति तुरुन्त उपलब्ध गराउनसमेत माग गरेका छन् । रेजिडेन्ट डाक्टर र विद्यार्थीले अस्पतालमा कार्यरत सबै प्राध्यापक, फ्याकल्टी, कर्मचारी लगायतलाई व्यक्तिगत स्वार्थ तथा धम्की र दबाबमा नपरी निष्ठाको लडाइँमा साथ दिन आहवान गरेका छन् ।
यसैबीच, नेपाल चिकित्सक संघका महासचिव डा मुक्तिराम श्रेष्ठले अनशनस्थल पुगी डा केसीलाई भेटेर ऐक्यवद्धता जनाएका छन् । डा.केसीको आमरण अनशनबारे छलफल गर्न बुधबार संघको बैठक बस्दै गरेको डा. श्रेष्ठले जनाएका छन् ।
राष्ट्रिय चिकित्सक संघ नेपालले पनि डा. केसीका मागप्रति सहमति जनाउँदै उनको आन्दोलनमा ऐक्यबद्घता जनाएको छ ।
गणेशमान इएनटी भवनको दोस्रो तल्लाको सानो कोठामा अनशनरत डा.।केसीको स्वास्थ्य कमजोर हुँदै गएको छ ।
केसीलाई पिसाब कम आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या भएपछि चिकित्सकीय सहयोग माग्दासमेत अस्पताल प्रशासनले नदिएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।