arrow

अफगानिस्तान: उद्धारमा सरकार सक्रिय, नेपालीहरू सम्पर्कमा आउने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
home-ministry-nepal.jpg

काठमाडौं। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उब्जिएको परिस्थितिमा नेपाल सरकार आफ्ना नागरिकहरूको अवस्थाबारे जानकार रहेको बताइएको छ। त्यहाँ रहेका नेपालीहरूको स्वदेश फिर्तीका लागि सरकारका सबै संयन्त्र परिचालन गरिसकिएको गृह मन्त्रालयले जनाएको छ। 

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर अघि बढ्ने बताइएको छ। 

करिब ३ सय नेपालीहरू दुबई पुगिसकेको र थप १ सय ३४ले सरकारलाई सम्पर्क गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् ।

बिभीन्न दुतावास, बिदेशी नियोग र संघसमस्थाहरूमा काम गर्ने नेपालीहरूलाई सम्बन्धित संस्थाहरूले अफगानिस्तानबाट बाहिर निकालिरहेको छ भने त्यहिं रहेका नेपालीहरू पनि सुरक्षित रहेको जनाइएको छ। उनीहरू क्रमिकरूपमा अफगानिस्तानबाट बाहिरिने छन्। 

अफगानिस्तानमा गैरकानुनी रुपमा पुगेका नेपालीहरूको उद्धारबारे सरकार चिन्तित रहेको बताइएको छ। त्यहाँ रहेका नेपालीहरुको तथंयाङ्क लिने र सम्पर्कमा आएका आफ्ना नागरिकहरूसँग अरू नेपालीहरूको बारे सोधखोज गरिरहेको बताइएको छ। 

उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने

गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज बसेको सम्बद्ध निकायको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले अफगानिस्तानको घटनाले नेपालमा पनि केही न केही प्रभाव पर्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा स्पष्ट कार्य योजनाका साथ अगाडि बढ्न आग्रह गरे । 

मन्त्री खाँणले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काएपछि गर्नुपर्ने तयारीका बारेमा समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराए । उनले स्वदेश फर्काएपछि गर्नुपर्ने स्वास्थ्य परीक्षणको व्यवस्था, कोरोना सङ्क्रमितको उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने संयन्त्रको समेत व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि  पोखरेलले जानकारी दिए । 

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका लागि गठित कार्यदलका सदस्यको सहभागिता थियो । 

बैठकमा परराष्ट्र मन्त्रालयले हाल अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उनीहरूको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भइरहेका प्रयासबारेमा जानकारी गराइएको थियो । सुरक्षा निकायका प्रमुखले सो घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव र सुरक्षाका सम्बन्धमा अपनाउनुपर्ने सावधानीका बारेमा प्रस्तुति गरेको गृह मन्त्रालयले जनाएको छ । 

गृह सचिव पाण्डेले अफगानिस्तान घटनाका कारण नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्व सावधानी आवश्यक रहेको बताए । उनले त्यहाँ रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनैतिक सम्पर्क बढाउने, पर्यटन मन्त्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने, नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर र होटेल क्वारेन्टिनको प्रबन्ध, खोपको व्यवस्थालगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै सीमा नाकामा निगरानी बढाउने, सो घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधिमाथि निगरानी एवम् नियन्त्रण गर्ने गरी तयारी अवस्थामा रहन आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले आइतबार परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपालीको उद्धारका लागि समन्वय गर्न कार्यदल गठन गरेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नसमेत आग्रह गरेको छ । 

अफगानिस्तान रहेका १ सय ३४ नेपाली सरकारको सम्पर्कमा

अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । 

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको थियो । 

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन् । 

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूका उद्धारका हुने प्रवक्ता लम्सालले जानकारी दिइन् । उनले संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको बताइन् । 

संयुक्त राष्ट्रसङ्घलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको प्रवक्ता लम्सालले उल्लेख गरिन् ।रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो । 

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ । 

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ ।  

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ