- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आदरणीय मुख्यमन्त्रीअष्ट लक्ष्मी शाक्य ज्यू
अभिवादन !
सर्वप्रथम नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएर इतिहासमा आफ्नो नाम दर्ज गर्न पाउनुभएकोमा हार्दिक बधाई र शुभकामना । तपाईंको नाम लोकसेवामा सोधिने सामान्य ज्ञानका विद्यार्थीको ओठमा सजिलै झुन्डिने भयो । तर आम मान्छेको ओठमा पनि तपाईंको नाम आउँछ कि आउँदैन मेरो सबाल त्यो हो । आफ्नो लागि इतिहास रच्नु र समाज देशको लागि इतिहास रच्नु फरक कुरा होला । इमान बेचेर पदसँग इमान साटेको सिद्धान्त बिर्सजन गरेको र मान्यता भत्काएको आरोप खेपेर मुख्यमन्त्री बन्न ओलीको पाउपर्नु भएको लान्छनाका बीच तपाईंको कार्यकाल कसरी अविस्मरणीय बन्ला त्यो सोचनीय विषय बनेको छ ।
राजनीतिक धोखेबाजको पगरी गुथेर पाएको पद कति सुरक्षित र भरपर्दो बन्ला त्यो माधव नेपालको पार्टीले देखाउने उदारता र संकीर्णतामा निर्भर रहला । राजनीतिमा पद प्राप्ति नै सबभन्दा ठूलो लक्ष्य र पद पाएपछि इमान र अडान पद प्राप्तिको भर्याङ अर्थात बार्गेनिङ गर्न बोलिने सौदाबाजी र मोलमोलाइको लागि मात्रै हो । चर्को कुरा र बिरोध भन्ने मान्यता जोरजबर्जस्त स्थापित हुँदैछ । तपाईं जत्तिको मान्छेले पनि त्यसको दृष्टान्त बन्नु भएकोमा अफशोस लागेको छ । राजनीतिप्रति चिन्ता र चासो राख्ने बौद्धिक र प्राज्ञिक वर्ग भयभित बनेको छ ।
राजनीतिमा आशा गरिएका पात्र र प्रवृतिमा यसरी विचलन आउँदा बाँकी चै के रहन्छ ? यहाँ तपाईंको मात्रै कुरा छैन तपाईं जस्ता अरु थुप्रै आशा गरिएका र जनताले सम्मान दिने नेता कार्यकर्ताको पलायन र विचलन अनि किंकर्तव्य बिमुढता ढुलमुले अवसरवादीताले उब्जाएको, निरन्तर जबाफदेहीता बिर्सेको, नितान्त व्यक्तिगत उपलब्धिको लागि आफूलाई लिलाम गरेको र नैतिकता बन्धकी राखेको प्रसंगले घोचेको छ । मन दुखाएको छ । आस्था र विश्वासप्रति ठूल्ठूला संशय पैदा गरेको छ । आम मान्छेको अपेक्षा राजनीति गर्नुस जसको र जुन पार्टीको गरे पनि हुन्छ तर राजनीतिलाई अवसरवादको खेती नबनाउनुस । समाज र सामाजिक मूल्यको खातिर पनि राजनीति गर्नुस् । राजनीतिले मानक बनाउने हो मानक भत्काउने होइन । यद्यपी डेट एक्स्पयर्ड मानक कथित अवैज्ञानिक मान्यता तोडनुपर्छ तर नैतिक मूल्य गिराएर अवसरवादको लिङ्गो ठड्याउन किमार्थ मिल्दैन र हुँदैन जुन तपाईहरुले पनि गर्दै हुनुहुन्छ ।
प्रिय अष्ट कमरेड,
तपाईं जुन पारिवारिक पृष्ठभुमि र शहरको व्यापारी वर्गबाट वर्गविहीन समाज निर्माणको परिकल्पना गर्ने कम्युनिस्ट पार्टीमा लाग्नुभयो त्यो त्यतिबेलाको अत्यन्तै साहसी र युगान्तकारी कदम हो । काठमाडौं शहरको सुन व्यापारीकी छोरी तपाईलाई नपुग्दो केही थिएन तर अनिश्चित भविष्य भएको तत्कालीन राजनीति त्यसमा पनि कम्युनिस्ट राजनीति रोज्नुभयो । २०२९ सालमा एसएलसी पास चानचुने कुरा थिएन त्यतिबेला । तर आफ्नो अरु पढाई थाँती राखेर कम्युनिस्ट राजनीतिमा होमिनुभयो । ज्यानको माया मारेर भुमिगत बन्नुभयो । पक्राउ परेर जेल जानुभयो । दुःख कष्ट भोग्नुभयो । पन्चायत व्यवस्थामा दलमा लाग्नु उसै जोखिमको कुरा थियो भने झन कम्युनिस्ट पार्टीमा लाग्नु जटिल खतरा मोल्नु थियो जुन कुरा सम्झेर विगत फर्कंदा तपाईलाई पनि आङ जिरिङ गर्छ पक्कै पनि । हामी जस्ता इतिहासमा मात्रै पढ्नेलाई जिब्रो टोक्न बाध्य पार्छ ।
२०२८/०२९ सम्म झापामा भएको व्यक्ति हत्याको राजनीति र समाजमा व्याप्त आतंकका बाबजुद कम्युनिस्ट बन्नु त्यो पनि शहरीया एक केटी मान्छेको लागि कति सहज थियो आजको लैङ्गिक चेतनाबाट पनि थाहा लाग्छ । त्यो समयमा महिलाहरुको लागि प्रतिकुलता नै प्रतिकुलता थिए । भयंकर अप्ठ्यारो थियो तर तपाईं जस्ता हिम्मतवाली नारी हुनुको कारण राजनीतिमा परिवर्तन सम्भव भयो र व्यवस्था परिवर्तनमा एक एक इँटा थपियो जसको लागि तपाईं सम्मानित हुनुहुन्छ र २०५६,२०७१ मा संसद सदस्य बन्ने सौभाग्य पाएर अनि २०७४ मा प्रदेश सभा मार्फत जनताले अभिनन्दन गरेका छन् । नेकपा एमाले पनि मन्त्रीको अवसर दिएर त्यागको मुल्यांकन नगरेको होइन । तपाई तारिफ गर्न लायक थोरै नेतामा पर्नुहुन्छ । महिलाको कुरा गर्दा औंला भाँच्दा तपाईंको नाम आउँछ । यी भए गौरवान्वित बनाउने विगत । विगत सम्झेर पश्चाताप गर्ने ठाँउ छैन । गर्वले छाती फराकिलो बनाउने यथेष्ट स्थान छन् । तर वर्तमानमा राजनीतिमा नैतिकता स्खलन यसरी भएको छ जसको उदाहरण तपाईंको मुख्यमन्त्री बनेर छोडने लोभले दियो भने माधव समुहमाथि बज्रपात भयो । घात भयो । यसको नैतिक मूल्य निकै महंगो हुनुपर्छ ।
कमरेड अष्ट,
‘ओली अब कमरेड होइन, उहाँ प्रतिगमनको नायिके हो । तानाशाह हो । स्वेच्छाचारी शासक हो । संविधान र कानुनको चिरहरण गर्ने ‘अपराधी’ हो । अब हामी उहाँलाई कमरेड मान्न र आफ्नो नेता मान्न सक्दैनौं । उहाँलाई नेकपा एमालेको नेता हुने नैतिक र बैधानिक हक छैन । हामीले दुःख गरेर ल्याएको संविधानमा धावा बोल्ने व्यवस्था र संविधानको अपहरणकारी हाम्रो नेता होइन हुन सक्तैन ओलीलाई नेता स्वीकार गरिन्न ।’
कमरेड संझनुस आफूले बोलेका कुरा र समीक्षा गर्नुस् यस्तो किन बोलियो कुन बाध्यताले यस्तो बोल्नुभयो र आज परिस्थितिमा के फेरबदल आयो र ओलीको नेत्तृत्वमा उहाँको टाँगामुनि छिर्नु भयो ? ओलीले माफी मागे या तपाईंले माफी माग्नु भयो ? तपाईं सार्वजनिक नेता दुई दुइटा पटक मन्त्री भै सकेको मान्छे, ओली पनि प्रधानमन्त्री नै दुई पटक भएको मान्छे अब तपाईंहरुको बोली र व्यवहार सार्वजनिक सरोकारको विषय हो । सार्वजनिक जवाफदेहिताको विषय हो तसर्थ कुनै अँध्यारो कोठामा बसेर गरेको लेनदेन र पार्टीको आन्तरिक कुरा भनेर पन्छिन पाउनुहुन्न । कमरेड भन्नुस ओलीले कहाँ र कहिले माफी मागे ? तपाईंले ओलीसँग कहाँ र कसरी माफी् माग्नुभयो त्यसको जबाफ दिनुपर्नेछ । अन्यथा तपाईंहरुको राजनीति बिचौलिया दलाल र कमीशनको खोरीको सत्तो सराप धाक धम्की, पोल खोलाखोल र साँझ परेपछि कुनै रेस्टुराँ गएर बियर हुस्की चियर्स भन्दा केही होइन । मुल्यहीन अस्मिताहीन र अनैतिक हो । निजी स्वार्थको लेनदेन मात्रै हो । राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताबीच मनमुटाव, द्वन्द्व र बिमती निश्चय नै रह्न्छ हुन्छन् पनि तर तिनको सामधान र हल गर्ने निश्चिय विधि पद्धति छ ।
यदी पद्धति भन्दा बाहिर पुगिन्छ भने सँगै रहन सकिन्न सँगै रहने हो भने कमजोरी गल्तीमा प्रायस्चित क्षमा याचना र त्यागको आवश्यकता हुन्छ जुन कुरा तपाइँ र ओली दुवैले गर्नु भएको देखिन्न । त्यसैले तपाईहरुको मिलन घोर आपत्तिजनक असंगत र अनैतिक छ भन्ने मेरो ठम्याइ हो । संघर्षको मैदानमा लडेर डटेर आएको आदरणीय व्यक्तिलाई, तपाईंको इमान छैन देखिएन भनेर भन्नूपर्दा मलाई मेरो नियतिप्रति खेद छ । म दुःखी छु म तपाईलाई यथेष्ट आदर गर्ने व्यक्ति हुँ तर इमान बेचिएको जस्तो लाग्यो । इमान नबेचिएको पुष्टि गर्ने र कामले भावी योजनाले प्रमाणित गर्ने काम तपाईंको भयो ।
तपाईंले आज जुन ओहोदामा बस्न आफ्नो नैतिक मुल्य सामाजिक मान्यता र राजनीतिक अडान छोडनुभयो त्यसले सत्ताप्रतिको मोह र अतिरिक्त लगाव देखियो । दुई दुई पटक मन्त्री भएर यहाँले आफ्नो व्यस्थापकीय खुवी देखाइ सक्नु भएको छ । औसत मन्त्री भन्दा फरक र विशिस्ट क्षमता र कौशल यहाँको नभएको हुनाले यहाँ र यहाँका श्रीमान श्रीमती पटकपटक मन्त्री बन्नुपर्ने कारण के ? अरु थुप्रै क्षमतावान मान्छेको अभाव नै यहाँको आवश्यकता हो त ? या महिला कोटा चुक्ता गर्न मात्रै यहाँको चयन आवश्यक हो ? समयले यसको जबाफ खोजेको छ । के कहिल्यै अवसर नपाएका महिलालाई क्षमता प्रदर्शन गर्ने मौका दिन सकिँदनथ्यो ? कमरेड कुन्ता शर्माले उठाउनु भएका गम्भीर प्रश्न र अपेक्षा पानीका फोका मात्रै हुन र ? धार परिवर्तन गर्नु अघि कतिपटक सोच्नु भयो ? कसैसँग छलफल गर्नुभयो ? माधव नेपाल लगायतलाई आफ्नो परिस्थिति बताउनु भयो ? अखिल नेपाल महिला संघको अध्यक्ष समेत भएको मान्छे अरु कुनै महिलाको लागि उपयुक्त छ भनेर सल्लाह गर्नु भयो ? आफूले त्याग गर्दा न्याय पाउने अरु पात्र नभेटेपछि नै मुख्य मन्त्रीमा आफ्नो दावी राख्नु भएको हो र ? अनेकौं संगिन प्रश्नहरुले तपाईलाई घोची रहने छन् ।
एक महिला भएको कारण नै र महिला पहिलोपटक पुगेको कारण नै तपाईंप्रति शहानुभूति राख्नुपर्ने हो । कुनै र कहिल्यै अवसरको मुख नदेखेका महिला आज तपाईंको ठाँउमा पुग्दा बिरोध गरेको भए त्यो अन्याय र पूर्वाग्रह हुन्थ्यो । तर तपाईं पटकपटक अवसर पाएको र दुई पटक मन्त्री भएर पनि अतिरिक्त क्षमता प्रदर्शन गर्न नसकेको र राजनीतिक रूपमा विश्वासघात गरेर मन्त्री बन्नु भएकोले त्यो बिरोध योग्य छ । सहानुभूति देखाउने ठाँउ छैन । हिजो डोरमणि पौडेल जस्तो सामान्य नेता वा ओलीले लौरो उठाए नि मेरो मान्छे जित्छ । मेरो मर्जी बिना अरुले चिहाउन पनि पाउन्न भनेर बागमती प्रदेशको संसदीय दलमा चुनाव हराउँदा र राजनीतिक हुर्मत लिइदा पाएको सहानुभूति र सम्मान आज छैन कमरेड । आज पद पाउनु भएको छ तर सम्मान छैन र इमान पदसँग बैना भएको भनिन्छ ।
आकस्मिक रूपमा ओली कसरी एकाएक तपाईंका प्रिय र आदरणीय नेता बने र उनको कार्यकर्ता बन्न जानुभयो ? तपाईंको यो अवसरवादले रामकुमारी झाँक्रीहरुको मर्ममा कति चोट पुग्यो होला ? विचार गर्नु भएको छ ? तपाईंको आव्हानमा सडकमा निस्केर प्रतिगमन विरुद्ध लडने अखिल लगायत अन्य मान्छेहरुले खाएको कुटाइको घाउ नथाक्दै तपाईं कसरी परिवर्तन हुन सक्नुभयो अप्ठ्यारो लाग्दैन कमरेड ?
मेरो आशय तपाई कुनै अमुक दलमा लाग्नुभयो, लाग्नु भएन होइन ? तपाईले मूल्यहीन र सस्तो राजनीति गर्नुभयो भन्ने हो । आ-आफ्नो विश्वास र अडानमा रहने माधव ओली दुवै खेमाका नेताहरुप्रति मेरो गुनासो छैन तर तपाईं, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुजी पन्त, भीम रावल जस्ता पिँध नभएका लोटा जस्ता नेताप्रति भने बडो दुःख लाग्छ किन यस्ता अकर्मण्यता र दोधारे पनमा विश्वास गर्ने नेता यो धर्तीमा नेताको रूपमा प्रकट भए । राजनीतिमा पद्को मात्रै जित हुन्न ईमान नैतिकता र अनुशासन अनि मनोबैज्ञानिक पक्षको पनि जित हुन्छ । आज जितेर सँधै हारिने राजनीति रोज्नु भन्दा आज हारेर पछिसम्म जितिने राजनीति उत्तम होइन र ? भुइँ मान्छे भएर धेरै बोले माफ दिनु होला । तपाईंका रैती म जस्तै आम मान्छे हुन । तिनका प्रश्न जिज्ञासा् र संसय दुख र गुनासो पोखेको हुँ । कामले म जस्ता मान्छेको जबाफ दिएर मुख थुनिदिनु होला ।
तपाईंको प्रदेशको रैती
संजीव कार्की