- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौर,रौतहट । गत साउन ३२ गते रौतहट सदरमुकाम गौरबाट बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागु औषध नाइट्राभेट सहित प्रहरीले २ जनालाई पक्राउ गर्यो । पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएपछि रौतहट प्रहरी दुश्मनी साध्ने काम गर्दै पत्रकार फसाउने अभियानमा लागेको पुष्टि भएको पत्रकार महासङ रौतहटले आरोप लगाएको छ ।
सामाजिक सञ्जालमा प्रहरीका विरुद्धमा लेखेको रिसिवी साध्न प्रहरीले रौतहटबाट सञ्चालन हुने एक अनलाइन न्युज पोर्टलका सञ्चालक मो. मोजिबुल्लाहलाई षडयन्त्रपूर्ण तरिकाले फसाएको हो । गौर नगरपालिका रोडमा रहेको एक होटेलमा खाजा खान गएका ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलिले लागु औषध नाइट्राभेट सहित पक्राउ परेको बताएको थियो ।
घुमुवाका रूपमा कार्यरत असई उदय यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले होटेल बाहिर पार्किङ गरी खाजा खान गएका व्यक्तिको मोटरसाइकलमा सो नाइट्राभेट राखेको भिडियोमा देखिएको छ । असई उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरूलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थितिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका हुन ।
सिसिटिभीको १८ बजेर ७ मिनेटको फुटेज देखी १८ बजेर १८ मिनेटको फुटेजमा प्रहरीको षडयन्त्रको पर्दाफास भएको छ । दुई युवाहरू पुगेको केही सेकेन्डमै असई यादव र प्रहरी जवान साह होटेल बाहिर आएको र १८ बजेर १२ मिनेटमा असई यादवले स्वम सो मोटरसाइकलमा लागु औषध राख्ने स्थान निश्चित गरेको देखिएको छ । सिसिटिभीको १८ बजेर १८ मिनेटको दृश्यमा मोटरसाइकलमा लागु औषध राखे पछि प्रहरी त्यहाँबाट गएको र १८ बजेर ४२ मिनेटमा होटेलबाट मोजीबुल्लाह फर्किएको देखिएको छ ।
प्रहरीलेनै लागु औषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै पत्रकार महासङ्घ रौतहटले गम्भीर आपत्ति जनाएको छ । प्रहरीले गरेको निन्दनीय अपराधका लागी रौतहटको प्रहरी प्रमुख देखी लिएर घटनामा संलग्न सबैलाई तत्काल निलम्बन गरी कारबाही गर्न पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले माग गरेका छन् । घटनामा फसाइएकाहरू निर्दोष भएको प्रमाणित भएकोले अब नैतिकता आधारमा पनि प्रहरीले उनीहरूलाई तत्काल रिहा गर्नु पर्ने उनले बताए ।
प्रहरीले व्यक्तिलाई फसाएको यस घटनामा संलग्न भएकाहरूको बारेमा केन्द्रीय स्तरबाटै जाँच हुनुपर्ने पत्रकार महासङ्घका केन्द्रीय सदस्य शिव पुरीले बताएका छन् । घोर आपत्ति जनक कार्यको विरोध गर्दै प्रहरीको यस्ता किसिमका हर्कतहरुको निन्दा गर्ने उनले बताए ।
प्रहरीकै उच्च अधिकारीहरूको निर्देशनमा घुमुवा टोलीले लागु औषध मोटरसाइकलमा राख्न लगाएर निर्दोषलाई पक्राउ गरेको श्रोतको दाबी छ । यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नारायण चिमोरियाले भिडियोमा देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको र यस विषयमा तत्काल केही बोल्न नसकिने प्रतिक्रिया दिएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष व्यक्तिहरूलाई फसाउने कार्य गरेको भन्दै चौतर्फी आलोचना समेत भएको छ ।