काठमाडौं । मकाउ, अफ्रिका, इराक र पलाउ पठाइदिने भन्दै लाखौं ठगि गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीमा जानेलाई चरम ठगि गर्ने होम बहादुर छन्त्याललाई पक्राउ गरेको हो ।
वाग्लुङ्ग देवीस्थान गाविस– ६ घर भई अहिले दाङ्ग तुलसीपुर गाविस–५ बस्ने छन्त्यालले विभिन्न वेरोजगार युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनि लाखौ रुपैया उठाई रहेको भन्ने सुचनाका आधारमा खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गैरकानूनी रुपमा इजाजत वेगर ठुलो मात्रामा रकम लिई ठगी गरिरहेका उनी कहिले थाइल्याण्ड, कहिले दुवई बस्ने गरेको बताइएको छ । उनले ठूलो संजाल बनाई ठगी गरी रहेको र इराकमा ३७ जना व्यक्ति पठाएकामा ३४ जना फर्किएको बुझिए पश्चात उनको खोजी तिब्र परिएको प्रहरीको भनाई छ ।
उनीविरुद्ध पीडितहरू नवलपरासीका जयश्वर घिमिरे, अशोक बुर्जा, दाङ्गका सुदिप नेपाली, रविन परियार, केशव परियार, डम्बर बहादुर बुढाथोकी, सल्यानका खर्कविर घर्ती, दाङ्गको शान्तीनगर घर भएका टिकराम घर्तिमगर, रोल्पा होजाका तारासिंह बुढा र रोल्पा जुगारका शिवराज पुनमगरले उजुरी दिएका थिए । उनीहरुले दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी प्रति व्यक्ति चार लाख देखि ६ लाख ५० हजार सम्म लिएर थाइल्याण्ड पुगि फरार भएको उजुरी दिएका हुन् ।
होम बहादुरविरुद्ध हाल सम्म छैसट्ठी लाखा पन्ध्र हजार विगोका उजुरीहरू प्राप्त भै सकेका छन् । प्रारम्भिक अनुसन्धानबाट उनले पठाएका ६ जना व्यक्तिहरू हाल दुवईमा अलपत्र परिरहेकाले उद्दार गर्न पहल गरिएको र इराकमा पठाएकाहरू मध्ये काम नपाई फर्किएका ३४ जनालाई सम्पर्कमा ल्याउन पहल भईरहेको प्रहरीले जनाएको छ । ठगि गर्ने होम बहादुरलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।