- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया तोकिएकै समयमा भए अबको आठ दिनमा प्रक्रिया शुरु हुन्छ । अहिले क्रियाशील सदस्यताको कामलाई कांग्रेस अन्तिम रूप दिन धमाधम लागेको छ । गत सोमबार राती क्रियाशील सदस्यताको विषयमा देखिएको मुख्य विवाद समाधान भएपछि अब त महाधिवेशन होला भन्नेमा धेरै कांग्रेसीजन ढुक्क छन् ।
कांग्रेसले तोकेको कार्यतालिका अनुसार १८ भदौमा वडा अधिवेशन शुरु हुने भनिएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले बारा, सप्तरी, सर्लाही २ र धनुषा ४, रसुवा र सिन्धुपाल्चोकका केही क्षेत्र र केही वडाका विवाद मिलाउन बाँकी रहेरै पनि कांग्रेसको शीर्ष नेतृत्वलाई सदस्यताको प्रतिवेदन १२ साउनमा बुझाएको थियो ।
बाँकी विवाद मिलाउने काम भने नेता कृष्णप्रसाद सिटौलाले गत सोमबार राती गरे । उनलाई नेताहरू रमेश लेखक र डा. मिनेन्द्र रिजालले साथ दिए । सिटौलाले सोमबार राती नै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई टुङ्गिएका सदस्यताको विवरण बुझाए । अहिले लगभग कांग्रेसको सदस्यता विवाद मिलिसकेको छ । बाँकी थोरै विवादमा समाधानको काम जारी छ ।
विवाद मिलेका र टुङ्गिएका सदस्यहरूको नाम प्रकाशनको क्रममा छ । प्रकाशन भइसकेका सदस्यताको सक्कलमा सभापतिले हस्ताक्षर गर्दै छन् । सभापतिले हस्ताक्षर गरेपछि निर्वाचन समितिले ती विवरण बुझ्छन् । र सदस्यहरूको नाम जिल्ला हुँदै स्थानीय तहसम्म पठाइन्छ । कांग्रेस यही तयारीमा धमाधम काम गरिरहेको छ ।
तर, कांग्रेसको क्रियाशील सदस्यताको विषयलाई नै मुद्दा बनाउँदै अहिले पनि जिल्ला हाँक्ने मियो मानिएका सभापतिहरू पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा रिले अनसनमा छन् । गत सोमबार नेता सिटौलाले सदस्यताको विवाद टुङ्गाएर सभापति देउवासँगै उभिएर हस्ताक्षर बुझेका नेता रामचन्द्र पौडेल त्यही अनशनमा समर्थनका लागि सानेपा पुगेका छन् ।
उनीसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी पनि सानेपाको अनशनको समर्थनमा पुगेका छन् । र सदस्यताका विषयमा आफैंले बुझेको विवरणलाई गिज्याउँदै पौडेलले अनसनबाट सभापतिमाथि एक्लो दोष देखाउँदै आइरहेका छन् ।
हिजो बुधवारबाट शुरु भएको रिले अनसन आज दोस्रो दिन पनि जारी छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै उनीहरू रिले अनसन शुरु गरिएको बताएका छन् । बिहीबार दोस्रो दिन तनहुँका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अङ्गदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी रिले अनसनमा बसेका छन् ।
यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँ पनि रिले अनशनमा बसेका छन् ।
बुधवारको पहिलो दिनको अनशन भने काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदिशनरसिंह केसी र धादिङ जिल्ला सभापति रमेश धमलाले शुरु गरेका थिए ।
अनशनमा बसेकाहरूले मुख्य मुद्दा क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरिएको विषयलाई बनाएका छन् । जबकि अझैसम्म पनि सदस्यता केही काम बाँकी नै छ ।
तर, जिल्ला सभापतिहरूको शङ्का भने वडा तह हुँदै जिल्लाबाट सिफारिस भइआएका नाम बाहेकका नाम सोझै केन्द्रबाट थपिएको आशंकामा केन्द्रसँग सशङ्कित हुँदै आइरहेका छन् ।
काभ्रे सभापति आचार्य भन्छन्, ‘कांग्रेस जस्तो 'मासवेस' पार्टीले सदस्यको नाम सार्वजनिक गर्न ढिलाइ किन गरेको ?, कोको मतदाता हुन् भन्ने स्थानीय तहका साथीहरूले थाहा पाउनु नपर्ने हो ?, केही त्रुटि भए मिलाउन नपाउने हो ?, त्यसैले सदस्यताको सूची सार्वजनिक हुनुपर्छ पारदर्शी हुनु पर्छ, यो हाम्रो पहिलो मुद्दा हो,’ आचार्यले भने ।
यस्तै नुवाकोट सभापति केसी विधानमा भएको व्यवस्था र निर्देशिकामा गरिएको व्यवस्था फरक हुँदा जिल्ला सभापतिहरूमाथि भेदभाव भएको भन्दै सबै जिल्ला सभापतिलाई पार्टीले गर्ने व्यवहारमा एकरूपता हुनु पर्नेमा जोड दिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरूले विभिन्न तीन बुँदे माग राखेर पार्टी कार्यालयमा धर्ना र अनशन सुरु गरेका हुन् । जिल्ला सभापतिहरूको अनशनमा वरिष्ठ नेता पौडेलले ऐक्यबद्धता जनाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९-१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको टुङ्गो नलाग्दा १८ भदौमा तोकिएको वडा अधिवेशन प्रभावित हुने आशङ्का बढेको छ ।
महाधिवेशनको सुनिश्चितता गर्न तर्फ सबै नेता एक भएर लाग्नु पर्नेमा धर्ना र अनसन जस्ता गतिविधि हुनु दुःखद भएको र त्यस्ता गतिविधिले महाधिवेशनको वातावरण बिथोल्ने सभापति देउवा निकट नेता मीन विश्वकर्मा बताउँछन् ।
‘वरिष्ठ नेता ज्यू आफैँ हस्ताक्षर बुझ्ने आफैँ अनसनमा समर्थन गर्न जाने, नेतृत्वको क्षमता र नैतिकता यही देखिन्छ, सिङ्गो पार्टी नेतृत्वको काम अहिले महाधिवेशन गर्ने हो, यस्ता गतिविधिले महाधिवेशनको वातावरण बन्दैन,’ नेता विश्वकर्माले भने ।