काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक दल सरकारबाट बाहिरिँदा अरु खुसी हुनु पर्ने र भोज खानु पर्ने कारण नरहेको बताएका छन् ।
रक्षा मन्त्रालयले विहीबार राजधानीमा गरेको राष्ट्रिय सुरक्षा नीति गोष्ठीमा सरकार परिर्वतनमा बाह्य शक्तिको चलखेल हुनसक्ने शंका गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा पार्टी सरकारबाट बाहिरियो भने, अरु–अरु खुसी हुने र भोज खाने । यसले चित्र स्पष्ट गर्छ ।’ ओलीले अहिले अस्थाई खेलको जरो उता–उता हुन सक्ने भन्दै शंका गर्ने ठाउँ रहेको सुनाए ।
उनले थपे, ‘जे भए पनि नेपाल जागेको छ । हिजो पनि नेपालले आफ्नो सार्वभौम सत्ता जोगाएको थियो । आफ्नो स्वाधीनता फेरि पनि जोगाउँछ नेपालले । जोगाई राखेको छ ।’ ओलीले आन्तरिक विचारबाटै सरकार परिवर्तन सम्भव रहेको अवस्थामा अरुको इशारामा चल्नु दुःखद भएको टिप्पणी समेत गरे । सरकार ढल्न लागेकोमा खुसी भएका केही दललाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘स्वस्थ र आन्तिरिक स्पर्धा सम्म ठिक छ, तर, कोही बाहिरिँदा कोही खुसी किन हुने ? ।’ ओलीले आफु सार्वभौम सत्ता सम्पन्न राष्ट्रको हैसियतमा सम्मान होस भन्ने चाहिरहेको सुनाए ।
उनले अगाडी भने, ‘हामी कसैको विरोधमा बोलिरहेका छैंनौ । नेपालको पक्षमा कुरा गरिरहेका छौं । स्वतन्त्र राष्ट्रको अभ्यास हामी गर्छौं ।’ राष्ट्रिय हित र स्वभिमान रक्षाको कुरा गर्दा कुनै आत्तिनु पर्ने अवस्था छैन । हामी राष्ट्रिय हितको रक्षा गर्दछौं । मित्रताको नाममा नेपाली भित्र रहेको अन्याय नसहने बताउँदै ओलीले बहानाबाजीको काम छैन–भने ।
आफूले दुबै छिमेकीसँग सम्मान, समानता र सहकार्यको आधारमा अघि बढ्ने प्रयत्न गरेको सुनाउँदै उनले भने, ‘राष्ट्रिय स्वाभिमान, स्वाभिमानपूर्वक बाँच्ने नेपालीहरुको चाहाना छ ।’ कुनै एक छिमेकीको भरमामात्र नेपालको राष्ट्रिय हित नहुने उनको भनाई छ । राष्ट्रिय एकता कमजोर भए राष्ट्रिय सुरक्षा कमजोर हुने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा नीतिमा सबैको साझा सहमति आवश्यक रहेको धारणा राखे ।
माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मधेस केन्द्रीत दल खुसी भएकोप्रति तीखो प्रहार गर्दै ओलीले कसैका अनुचित मागलाई सम्बोधन गरेर लोकतन्त्रलाई कमजोर बनाउने बाटो आफूलाई स्वीकार्य नहुने समेत बताए । ओलीले पटक–पटक स्वाभिमान शब्द खर्चिए । उनले भने, ‘नेपाली जनताको सजगतालाई सलाम छ, म नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छु ।’
यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकल बनाई सुदृढ गर्नु पर्नेमा जोड दिए । नयाँ सरकार गठनको अभ्यासमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने गोष्ठीमा सहभागि भएनन् ।