arrow

कांग्रेस महाधिवेशनले दिनुपर्ने सन्देश

logo
नारायण पौडेल
प्रकाशित २०७८ भदौ १७ बिहिबार
naryan-congress.jpg

नेपाली कांग्रेस १४ औँ महाधिवेशनको सङ्घारमा छ । संयोगले कांग्रेसको जन्म भएकै वर्ष अर्थात् २००३ सालमा जन्मिएका शेरबहादुर देउवा वर्तमान कांग्रेसको सभापति छन् । २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापति बनेका देउवालाई निर्धारित समयमा महाधिवेशन गरी कांग्रेसको वैधानिकता जोगाउने दायित्व पनि छ । महाधिवेशन सार्दै पछिल्लो पटक आगामी मङ्सिरमा पुर्‍याएको कांग्रेसले यस पटक नेतृत्व परिवर्तनको औपचारिकता मात्रै पूरा नगरी बाटो बिराउँदै गएको पार्टीलाई सही बाटोमा अवतरण गराउने अभिभारा पनि पूरा गर्नुपर्नेछ ।

२००७ सालमा निरङ्कुश जहानियाँ राणा शासन समाप्त गरेर मुलुकमा पहिलो पटक प्रजातन्त्रको उदय हुँदा कांग्रेसमा विपी कोइरालाको मुख्य नेतृत्व थियो र २०१५ सालको पहिलो आमनिर्वाचन सुवर्ण शमशेरको नेतृत्वमा सम्पन्न हुँदा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरी मुलुकको पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइराला बनेका थिए । त्यस्तै २०४६ सालमा निर्दलीय पञ्चायती शासनको घुँडा टेकाउन सर्वमान्य नेता गणेशमान सिंहले नेतृत्व गरेका थिए भने २०४७ सालमा निकै छोटो समयमा विश्वकै उत्कृष्ट संविधान निर्माण गरी त्यसैको मातहतमा २०४८ सालमा आमनिर्वाचन सम्पन्न गर्ने र कांग्रेसलाई नै बहुमत दिलाउने अभियानको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

यसरी २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन, तत्कालीन नेकपा माओवादीको हिंसात्मक गतिविधिलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा अवतरण, राजसंस्थाको बहिर्गमन, अन्तरिम संविधान मार्फत संविधानसभाको निर्वाचन, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता लगायतका महत्त्वपूर्ण सवालहरूमा पार्टीको तर्फबाट आधिकारिक निर्णय गराउने कार्यको नेतृत्व गिरिजाप्रसाद कोइराला थियो भने २०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने सरकारको नेतृत्व सुशील कोइरालाले गरेका थिए । यस्तो गौरवमय राजनीतिक इतिहास तथा विरासत बोकेको कांग्रेस पछिल्लो समय पार्टीको वैधानिकता गुमाउने अवस्थामा पुगेको छ ।

पछिल्लो दशकमा कांग्रेस आफू राम्रो र बलियो भएको कारण नभई खास गरी सत्तामा लामो समय बस्ने मौका पाएका वामपन्थीहरूले राम्रो नगरेका कारण ठुलो दल हुने र सत्ताको नेतृत्व पाउने अवस्थामा पुगेको हो । २०६४ सालमा ठुलो दल बनेको माओवादीले जनअपेक्षा अनुरूप कार्य गर्न नसकेका कारण २०७० सालमा कांग्रेसले ठुलो दल बन्ने अवसर पायो । तर २०७४ सालमा वाम गठबन्धनले कांग्रेसलाई अङ्क गणितीय रूपमा इतिहासकै सबैभन्दा कमजोर पार्टी साबित गरिदियो । तथापि गठबन्धनमा आएको विभाजन र विचलनको लाभ कांग्रेसलाई नै हासिल भई देउवा अहिले प्रधानमन्त्री छन् । के अब पनि कांग्रेसले सङ्गठन बलियो बनाउने र आपसी तिक्तता न्यूनीकरण गर्दै जाने बाटोमा नलागी अन्य दलहरूमा आएको विभाजनकै फाइदा लिइरहने हो ?

विगतलाई हेर्दा महत्त्वपूर्ण अवसर पाइरहे पनि कांग्रेस पहिलो रोजाई होइन, भएन र विकल्प मात्रै बनिरहेको छ । त्यसैले आगामी महाधिवेशनबाट चुनिने नेतृत्वले कांग्रेसलाई वैकल्पिक पार्टी नभई पहिलो रोजाइको पार्टी बनाउन सक्नुपर्दछ । त्यसका लागि महाधिवेशनबाट नीतिगत परिवर्तन र त्यसको व्यवहारिक कार्यान्वयन गर्ने नेतृत्व आउँछ कि आउँदैन, अबको कांग्रेस कस्तो अनि कसको बन्छ ? भन्ने बहस घनीभूत रूपमा गर्नुपर्ने समय आएको छ । प्रजातन्त्र, बहुदलीय व्यवस्था हुँदै गणतन्त्र र सङ्घीयता ल्याउनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसको भूमिकामा पछिल्ला वर्षहरूमा उठिरहेका प्रश्नहरूको जवाफ दिनै पर्ने अवस्था रहेकाले कांग्रेसको १४ औँ महाधिवेशन विगतको भन्दा महत्त्वपूर्ण मात्रै नभई निकै अर्थपूर्ण बनाउनु पर्नेछ ।

सिद्धान्त र नीतिका हिसाबले यस पटक कांग्रेसबाट परिवर्तनको धेरै अपेक्षा भइरहँदा नेतृत्व समेत अर्को पुस्तामा पुग्छ कि भन्ने आङ्कलन गर्न थालिएको छ । किनकि सूचीकृत ८ लाख भन्दा बढी क्रियाशील सदस्यमध्ये हस्तक्षेपकारी भूमिकामा यस पटक युवा पुस्तामा २५ देखि ४० वर्ष उमेर समूहका सदस्य सबैभन्दा बढी क्रियाशील रहेका छन् । जसले गर्दा यस पटकको महाधिवेशनमा युवा पुस्ताका नेताको पदाधिकारी सहित केन्द्रीय कार्यसमितिमा बाहुल्यता हुन सक्ने अनुमान गर्न सकिन्छ । विशेष गरी कांग्रेसको पहिलो पुस्तामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला छन् । यसमध्ये देउवा पुनः सभापतिमा दोहोरिने घोषणा गरिसकेका छन् भने पौडेल र सिटौलाले पनि आफूलाई स्वाभाविक उम्मेदवार भएको बताउँदै आएका छन् । तर पहिलो पुस्तालाई नेतृत्व नस्विकार्ने दोस्रो पुस्ताका नेताहरूको अभिव्यक्ति आइरहे पनि उनीहरू नै कोही कसैको पछाडि दौडिरहेका छन् ।

वास्तवमा दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूको भित्री आकाङ्क्षा भनेको उपसभापति, महामन्त्री तथा सह महामन्त्री नै हो । त्यसमध्ये प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुन नरसिंह केसी, शशाङ्क कोइराला, बिमलेन्द्र निधी, पूर्ण बहादुर खड्का लगायतको रोजाई उपसभापति वा महामन्त्री हो भने गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरूको सङ्घर्ष महामन्त्री तथा सह महामन्त्रीका लागि देखिन्छ । त्यसमध्ये कांग्रेसको १३ औँ महाधिवेशनमै महामन्त्रीको उम्मेदवार बनेका गगन थापालाई यस पटक स्वाभाविक महामन्त्रीको रूपमा लिइएको छ ।

कांग्रेस सभापतिको उम्मेदवार बन्ने स्वाभाविक नेताले महामन्त्रीमा गगन थापालाई स्थान दिने हो भने दुवै पदमा विजयी हुनसक्ने आङ्कलन समेत गरिएको छ । त्यस्तै पछिल्लो समय देउवा खेमामा सक्रियतापूर्वक लागिरहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि महामन्त्रीको बलियो दाबेदार मानिन्छन् । तर उनी जुन समूहमा आबद्ध छन्, त्यो समूहबाट सजिलै महामन्त्रीको उम्मेदवार बन्न पाउने स्थिति उनलाई छैन । त्यसमाथि गगन र विश्वप्रकाशको भिडन्त महामन्त्री पदमा हुने हो भने यी दुवै नेता पराजित भई दोस्रो पुस्ताका नेता विजयी हुने देखिन्छ ।

करिब एउटै पुस्ता मानिने र कुनैबेला एउटै समूहमा रहेका गगन, प्रदीप र विश्वप्रकाशहरूलाई महामन्त्रीको स्वाभाविक उम्मेदवार मानिए पनि जम्मा २ जना हुने महामन्त्री पदमा एकै पटक यी तिनै जना नेताहरूले प्रतिनिधित्व गर्ने सम्भावना त हुँदैन, त्यसमाथि यी ३ जनामध्ये २ जनालाई कांग्रेसको महामन्त्रीमा देख्न पाए देश, जनता र कांग्रेसलाई निकै शोभनीय हुने र जनताको आकर्षण कांग्रेस पार्टीमा बढ्ने भन्ने जनमत सामाजिक सञ्जालहरूमा व्यापक छ, जुन युवा काँग्रेसीहरूको अपेक्षा हो र युवाहरूप्रतिको न्याय तथा भरोसा हो ।

यसअघि कांग्रेस सभापतिमा विजयी भएका नेताहरूको सूक्ष्म अध्ययन गर्दा आफ्नै समूहको बलमा मात्रै अहिलेसम्म कसैले पनि जितेका छैनन् । अर्कोतर्फ कांग्रेसका धेरै पुराना नेताहरूका लागि १४ औँ महाधिवेशन नै अन्तिम हुनेछ । त्यसैले स्वाभाविक भए पनि नभए पनि धेरैले यस पटक सभापति सहित पदाधिकारीको आकाङ्क्षा राख्ने र उम्मेदवारी दिने अवस्था आउन सक्छ । किनकि नेतृत्व पुस्तान्तरण हुँदै आउँदा कांग्रेसको १५ औँ महाधिवेशनमा ६० प्रतिशत भन्दा बढी युवाहरूको बाहुल्यता हुनसक्ने र त्यो जनमतले पार्टीको नेतृत्वमा पनि युवापुस्तालाई नै स्थापित गर्ने निश्चित प्रायः देखिन्छ । त्यसैले यो महाधिवेशनमा गिरिजा प्रसाद कोइरालासँग देउवाको प्रतिस्पर्धा वा सुशील कोइरालासँग देउवाको प्रतिस्पर्धा जस्तो नभई धेरै गुटहरू निर्माण हुनसक्ने परिस्थिति पनि देखिँदै छ ।

नेपाली कांग्रेसको महाधिवेशनले यस पटक कांग्रेस सभापति मात्रै होइन, देशकै आगामी नेतृत्वको चयन गर्नुपर्दछ । किनकि करिब दुई तिहाइ बहुमत सहितको वाम गठबन्धन सरकारले धुजा धुजा पारेको मुलुकलाई निकास दिन र निर्धारित समयमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न पनि कांग्रेसभित्र कुशल नेतृत्व अपरिहार्य देखिन्छ । त्यसमाथि अहिले आन्तरिक लडाइँबाट पिल्सिएका वामपन्थीहरू आगामी निर्वाचनमा फेरी एकै ठाउँ उभिन सक्ने खतरा विद्यमान भएकाले त्यस्तो अवस्थामा पनि काँग्रेसलाई बलियो पार्टी बनाउन सक्ने नेतृत्व अबको आवश्यकता हो र विगतमा जस्तै काँग्रेसीहरू सूर्य तथा हँसिया हथौंडा लगायतका विविध चिन्हहरूमा मतदान गर्न पटक्कै लालायित छैनन् । 

अहिले कांग्रेस सभापति तथा महामन्त्रीका करिब एक दर्जन भन्दा बढी आकाङ्क्षीहरूले आ-आफ्नो दाबी प्रस्तुत गरिरहँदा उनीहरूले कस्ता एजेन्डाहरू बोकिरहेका छन् ? विगतमा विभिन्न लाभको पदमा रहँदा कसले कस्ता कार्य गरे ? व्यक्तिगत स्वार्थ त्यागेर मुलुक, जनता र काँग्रेसका लागि के-के गरे ? मुलुकको वर्तमान सङ्कट निराकरण गरी समृद्ध नेपाल निर्माणको जिम्मेवारीसँगै कांग्रेसलाई मुलुकको सबैभन्दा बलियो पार्टी बनाउने आधार कसले र कसरी तयार गर्दै छ ? केन्द्रीय नेताहरूको परिक्रमा गर्ने र ब्रिफकेश बुझाउने व्यक्तिहरूले मात्रै निर्वाचनमा टिकट, मन्त्री पद तथा विभिन्न नियुक्तिहरू पाइरहने हो कि सक्षम व्यक्तिहरूको पालो पनि कांग्रेसमा आउँछ ? आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गर्न पाइन्छ कि अन्य चिन्हहरूमा पनि मतदान गर्नुपर्ने परिस्थिति आउँछ ? लोकप्रियता भएका तर पैसा नभएकाहरूले पनि निर्वाचनमा उम्मेदवारी दिने वातावरण बन्छ कि बन्दैन ? भन्ने लगायतका प्रश्नहरूको विश्वसनीय उत्तर यो महाधिवेशनले दिनुपर्दछ ।

एक कार्यकाल मात्र सभापति बन्ने र पार्टी सभापति दोहोरो भूमिकामा नबस्ने परिपाटी निर्माण गर्न सक्ने हो भने पार्टी बिस्तारै बलियो बन्दै जान्छ । विगतमा नेतृत्वले पार्टी भन्दा पनि व्यक्तिगत स्वार्थ हेर्दा कांग्रेसको धरातल कमजोर भएको हो । पार्टीमा एक व्यक्ति एक पद अपरिहार्य छ । एक कार्यकाल सभापति भएपछि अर्को कार्यकाल नउठ्ने र सभापति भएपछि प्रधानमन्त्री नहुने व्यवस्था विधानमै गर्न सक्ने हो भने पद र कुर्सीकै लागि मरिहत्ते गर्ने परिपाटीको बिस्तारै अन्त्य हुन सक्छ । तर मुलुकका सबैजसो क्रान्ति र परिवर्तनलाई आत्मसाथ गर्दै आफूलाई जनभावना अनुरूप अगाडि बढाउन सफल भएका काँग्रेस नेताहरू आज किन नमरुञ्जेसम्म कुर्सीको लोभ गरिरहेका छन् ?

अब कांग्रेसमा पुस्ता हस्तान्तरण अपरिहार्य तथा अनिवार्य छ । किनकि कांग्रेसलाई पुरानै पुस्ता र प्रवृत्तिले चलाउन सकिँदैन । तर काँग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्दछ भनिरहँदा पुराना पुस्ताहरूको योगदानलाई अवमूल्यन भने गर्नुहुँदैन । किनकि मुलुकको हरेक राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको नेतृत्व कांग्रेसले लिएकाले अहिलेसम्म नेतृत्व गरेका नेताहरूको अनुभव युवाहरूलाई बढी आवश्यक हुन्छ र युवाहरूको जोश जाँगर तथा पुरानाहरूको अनुभवलाई लिएर पार्टी सञ्चालन गर्ने हो भने नेपालको विकासमा कांग्रेसको भूमिका एउटा कोशेढुंगा साबित हुन सक्छ ।

कुनै पनि नेतृत्वले साङ्गठनिक रूपमा पार्टी र देशलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट खाका कोर्न सकेन भने त्यो पार्टी बिचारविहीन हुन जान्छ । वर्तमान नेतृत्वले पार्टीलाई विधिमा हिँडाउन सकेन, पार्टीभित्रका सङ्गठन र कार्यकर्तालाई राम्रोसँग परिचालन गर्न सकेन, पार्टीको नर्सरी मानिने युवाहरूको यथोचित प्रतिनिधित्व पार्टीमा भएन । एउटा पार्टीका लागि नभई नहुने महत्त्वपूर्ण पक्ष भनेको नीति र नियत हो । त्यसैले पार्टी तथा नेताको नियत सफा भएन भने नीतिको कुनै अर्थ हुँदैन । यसर्थ, कांग्रेसको १४ औँ महाधिवेशनले स्पष्ट नीति तथा कार्यक्रमको तर्जुमा गरी त्यसको कार्यान्वयन गर्न गराउन सक्ने नेतृत्व चयन गर्नु अति आवश्यक देखिन्छ । (लेखक अधिवक्ता हुन्)।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ