- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ । यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका-१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कानुनमा व्यवस्था नभएको भन्दै तीन साताअघि प्रत्यारोपण रोकेको थियो ।
काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दान दिने मञ्जुरीसहित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको थियो । काकाससुराको मेडिकल जाँचको अन्तिम रिपोर्टमासमेत प्रत्यारोपण गर्न मिल्ने भनिएको थियो । तर कानुनी अड्चन देखाउँदै केन्द्रले प्रत्यारोपण गर्न मानेन् ।
केन्द्रले कानुनी अड्चन देखाएपछि गीता भण्डारीले सर्वोच्च अदालतमा काकाससुराले मिर्गौला दिन पाउने व्यवस्था गराइपाउँ भनी रिट दर्ता गरेका थिए । रिट दर्ता भएको एक महिना पुग्नै लाग्दा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको इजलासले काकाससुराबाट मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको हो ।
भण्डारीको पक्षबाट बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारी गीता भण्डारीलाई मिर्गौला दान दिन मिल्दैन भन्ने भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्णय बदर भएको बताए ।
सर्वोच्च अदालतको सो सम्बन्धी फैसलामा जीवन रक्षा मौलिक हकको विषय भएको हुँदा बुहारीको जीवनरक्षाका लागि काकाससुराले मिर्गौला दान दिन मिल्ने प्रष्ट उल्लेख गरिएको अधिवक्ता भट्टराईले बताए । यो फैसला नजिर बन्ने भएकाले अबदेखि नेपालमा काकाससुराले पनि मिर्गौला दान गर्न मिल्ने भएको छ ।
“अब ससुरासरहका काकाससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अङग दान गर्न चाहेमा चिकित्सकीय रीत पुर्याई मिर्गौला प्रत्यारोपण गर्नु गराउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ”-अदालतको आदेशमा उल्लेख छ ।
अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने न्यायिक फैसला गरे तापनि सुनुवाइको बिलम्बले गर्दा पीडित पक्षले उपचार भने पाउन सकेन । अदालतको आदेश पर्खिंदा बिरामीको अवस्था झन् नाजुक हुँदै जाने र कानुनी अड्चनले तनाव बढ्दै गएको कारण मिर्गौला प्रत्यारोपणका लागि भण्डारी परिवार भारतको दिल्लीस्थित फोर्टिज अस्पताल पुगेको छ ।
भारतमा काकाससुराले मिर्गौला दान दिन पाउने कानुनी व्यवस्था भएका कारण दिल्ली जानु परेको जनाउँदै भण्डारीका पति देवीचरण भण्डारीले बताए । “सर्वोच्च अदालतको फैसलाले न्याय पाएको अनुुभूति मिलेको छ”, उनले भने, “फैसला पर्खिंदा उपचारमा बिलम्ब हुने भएको हुँदा हामी गीताजीलाई लिएर दिल्लीमा छौं । गीताजीले स्वदेशमै प्रत्यारोपणको उपचार भने पाउनसक्नु भएन ।”
दिल्लीमा प्रत्यारोपण अघिको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रत्यारोपण हुने उनले जानकारी दिए । आफ्नो परिवार कानुनी अड्चनका कारण उपचार पाउनबाट वञ्चित हुनु परे तापनि अब उप्रान्त नेपालीले प्रत्यारोपणमा आफूहरुले जस्तो समस्या भोग्नु नपर्ने कुराले खुशी तुल्याएको उनको भनाइ छ ।