लन्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।
लण्डनको इन्डियन जिमखानामा भएको खेलमा नेपालले जिमखाना क्रिकेट क्लवलाई २० रनले हरायो । यसअघि पहिलो खेलमा नेपालले स्थानीय फ्रि फोरेष्टर क्लबलाई १२९ रनले हराएको थियो । खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो ।
सागर पुनले ५६ तथा ज्ञानेन्द्र मल्लले २० बलमा ३८ रनको योगदान दिए । राजु रिजालले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।
जवाफमा १६३ रनको लक्ष्य पछ्याएको इन्डियन जिमखानाले सबै विकेट गुमाउँदै १४२ रन बनायो ।
इन्डियन जिमखानालाई सस्तैमा समेट्ने क्रममा विक्रम सोव, करण केसी, शक्ति गौचन र सागर पुनले दुई–दुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिए ।
फ्रि फोरेष्टरसँग नेपालले ४० ओभरको खेल खेलेको थियो भने इन्डिन जिमखानासँग ट्वेन्टी–ट्वेन्टी खेल खेलेको थियो ।
नेदरल्यान्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।