arrow

सुदुरपश्चिममा थप तीन एमाले सांसद समाजवादीमा , कुल संख्या १३ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
province-pradesh-sudurpashchim-7.jpg
तस्बिर : हाम्राकुरा

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन्। एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलको पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन् ।

नेताद्वय सोडारी र तामाङ क्रमशः एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष थिए । योसँगै एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । 

प्रदेशसभामा अब एमाले १२ जनामा सीमित भएको छ ।सभामुखसहित २५ सदस्यसहित एमाले सबैभन्दा ठुलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ सदस्य छन् ।

यसअघि एमालेका प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक  विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादीमा सनाखत गराएका थिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री भट्ट एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ