arrow

उच्च कर्मचारीहरू काठमाडौँ बाहिर बस्नै चाहँदैनन्...

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ भदौ २८ सोमबार
civil-service.jpg
फाइल तस्बिर

काठमाडौँ। सहसचिव र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारी सकेसम्म काठमाडौँ बाहिर बस्न चाहँदैनन्। काठमाडौँ बाहिर सरुवा भए पनि सरुवा भएको दुई-तीन महिनामै काठमाडौँमा सरुवा मिलाउने गर्छ।

६ महिनाभन्दा लामो समय काठमाडौँ बाहिर बसे भने उनीहरूले आफूलाई सरकारले सजाय दिएको रूपमा बुझ्ने गर्छन्। केपी ओली नेतृत्व सरकारमा डेमोक्रयाट भनेर चिनिएका सहसचिव र सचिवहरूलाई लामो समय काठमाडौँ बाहिर पठाइएको थियो। माओवादी केन्द्र सरकारबाट बाहिरिए पछि माओवादी केन्द्रसँग निकट मानिने उच्च कर्मचारीहरूलाई पनि लामो समय काठमाडौँ बाहिर पठाइएको थियो।

लुम्बिनी प्रदेशमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको निकट भएको कारण पोखरेलकै आग्रहमा भरतमणि सुबेदी लामो समय बुटवल बसेका थिए। सुबेदी लुम्बिनीमा हुँदा सहसचिव थिए। उनी सहसचिवबाट सचिवमा बढुवा भए पनि लुम्बिनीमै बसे। त्यो एउटा अपवाद मात्र हो। पहुँचवाला सहसचिवहरू काठमाडौँ बाहिर टिक्नै सक्दैन।

प्रदेशका प्रमुख सचिवहरू सामान्यता तीन-तीन महिनामा फेरिने गर्छन्। सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो पदस्थापन काठमाडौँ बाहिर गर्ने परम्परा छ। सचिवहरू काठमाडौँ बाहिर बसुन् भनी यो परम्परा लागु गरिएको हो तर पहुँचवाला सचिवहरू भने सचिवमा बढुवा भए पनि पहिलो नियुक्ति काठमाडौँमै गराउने सफल भएका छन्।

सरकारले यस पटक करिब डेढ दर्जन वरिष्ठ सहसचिवलाई काठमाडौँ बाहिर त्यति नै सङ्ख्यामा काठमाडौँ बाहिर बसेका सहसचिवलाई काठमाडौँ ल्याउने तयारी गरेको छ। तर सरकारले सरुवा हुने सहसचिवहरूको सूचि कार्यान्वयन गर्न नपाउँदै सरुवा सूचिमा परिमार्जन गरिएको छ। एक दुई दिनभित्रै ४ दर्जनभन्दा बढी सहसचिवहरूको सरुवा गर्ने तयारी भएको स्रोतले बतायो।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले १७-१८ जना वरिष्ठ सहसचिवलाई काठमाडौँ बाहिर पठाउने र काठमाडौँ बाहिर बसेका त्यति नै सङ्ख्यामा सहसचिवहरूलाई काठमाडौँमा ल्याउने गृहकार्य भइरहेको बताए।

स्रोतका अनुसार मुख्यसचिव शंकरदास वैरागी र सामान्य मन्त्रालयका सचिव एकनारायण अर्यालले बनाएको सूचिमा परिमार्जन गरिएको छ। एमालेको शासनमा सामान्य सचिव भएका अर्याल नेपाल कम्युनिस्ट पार्टीसँग निकट मानिएका थिए। अहिले पनि सहसचिव सरुवामा उनी हाबी भएको स्रोतले बतायो। काठमाडौँमा लामो समय बसेका सहसचिवहरूलाई काठमाडौँ बाहिर पठाउन खोज्दा काठमाडौँ बाहिर जान नचाहने सहसचिवहरूले चलखेल गर्न सुरु गरेका छन्। स्रोतले भन्यो, यही चलखेलको कारण पनि सरुवा सूचिमा परिमार्जन गरिएको हो। सूचि परिमार्जनमा पनि सामान्य सचिव अर्याल हाबी भएको स्रोतको दाबी छ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थ र अर्थ मातहतका निकायमा कार्यरत आधा दर्जन जति सहसचिवहरूलाई काठमाडौँ बाहिर पठाउने तयारी गरेका छन्। स्रोतका अनुसार शर्माले धनी राम शर्मा, झक्क आचार्य, सुमन दाहाल, दीर्घ मैनाली, यमलाल भुसाल र श्याम भण्डारीको नाम सरुवा सूचिमा राखेका छन्। अर्थमा आउने बित्तिकै शर्माले उच्च कर्मचारीहरूको फेरबदल गरेका छन्। स्रोतका अनुसार, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईलाई सरकारले सम्पत्ति शुद्धीकरण विभागमा ल्याउने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ