arrow

सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् भन्ने अपेक्षा रहेको बताएका छन् ।  सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबार आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले भने, “यो संविधान ऐतिहासिक दस्ताबेज हो । हाम्रो पार्टी यो सफलताप्रति गर्व गर्छ । यसको रक्षा, कार्यान्वयन र विकासमा प्रतिबद्ध रहन्छ । सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् भन्ने हाम्रो अपेक्षा हो । नत्र संविधान कागजको खोष्टोमा परिणत हुने खतरा रहन्छ । त्यसले लोकतन्त्र र देशलाई नोक्सान पुर्‍याउँछ ।”

अध्यक्ष ओलीले लाभका लागि संविधानअन्तर्गत पदको सपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्तिलाई पनि चिरेर अघि बढ्दै राष्ट्रिय आकाङ्क्षालाई पूर्ति गर्न पूर्ण लोकतन्त्रका पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाए ।

आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गरे । उनले आफ्नो सरकारको पालमा प्रतिगामी शक्तिले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताए ।

अध्यक्ष ओलीले सामाजिक जीवनका सबै पक्षको सबलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता विषयलाई संविधानले मौलिक हकमा समावेश गरेकाले यो संविधान उत्कृष्टभित्र पर्ने बताउँदै यस संविधानले केन्द्रीकृत सामन्ती शासनलाई विकेन्दीकृत गर्दै वास्तविक अधिकार स्थानीय तहसम्म लगेको तथा स्थायित्व र समृद्धिको दिशामा मार्गदर्शन गरेको जनाए ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण गर्दा बृहत्रुपमा छलफल भएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताए । संविधानसभाका अध्यक्ष नेम्वाङले विगतका संविधान राजा र शासक भएको स्थितिमा वर्तमान संविधान सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिले बनाएको हुँदा यो पृथक र फरक भएको बताए ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नेपाली जनताले युगौँदेखि प्रतिक्षा गरिएको र जनताका प्रतिनिधिले संविधान बनाउने सपना पूरा भएको दिनका रुपमा आइतवारको दिनलाई लिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ