arrow

प्रमुख प्रतिपक्षीसँग दुरी घटाउँदै देउवा : काँग्रेसका तीन नेता फिल्डमा

एमसीसी र संसद् प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
Sher-Bahadur-Deuba.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने प्रयासलाई सक्रिय बनाएका छन् । देउवाले पछिल्लो विकसित राष्ट्रिय राजनीतिको अवस्था, एमसीसी, संसद् सञ्चालन लगायतका विषयमा प्रमुख प्रतिपक्षी एमालेसँग सम्बन्ध सुधारको प्रयास थालेका हुन् । 

त्यसका लागि उनले आफ्ना विश्वासपात्र मानिएका केही नेतालाई खटाएका छन् । एमाले नेताहरूसँगको संवादमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, कानु नमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता मीन विश्वकर्मा खटिएका हुन् । 

प्रधानमन्त्री देउवा निकट नेताले गठबन्धनलाई ओझेलमा पार्ने वा प्रतिपक्षसँग गठबन्धन बनाउने नभई राष्ट्रिय मुद्दामा सहमति खोज्ने र सांसदलाई सञ्चालन गर्ने विषयमा प्रतिपक्षी एमालेसँग निरन्तर संवाद भइरहेको जानकारी दिए । 

कानु नमन्त्री कार्कीले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले संसदीय दलका उप नेता सुवास नेम्बाङसँग भेटेका थिए । ‘एमालेसँगको दुरी घटाउन प्रधानमन्त्री इच्छुक हुनुहुन्छ, राष्ट्रिय मुद्दा मासँगै अघि बढ्ने प्रधानमन्त्रीको चाहना हो,’ ती नेताले हाम्रा कुरासँग भने । 

प्रतिपक्षी दलसँगको सम्बन्ध सुधारको प्रयासले सत्ता गठबन्धनमा कुनै असर नगर्ने र प्रतिपक्षसँग गठबन्धन पनि नबन्ने तर यो प्रयासले देशको हित हुने नेता विश्वकर्माले जानकारी दिए । ‘गठबन्धनलाई ओझेलमा पार्ने वा प्रतिपक्षसँग गठबन्धन बनाउने नभई राष्ट्रिय मुद्दामा सहमति खोज्ने र सांसदलाई सञ्चालन गर्ने विषयमा प्रतिपक्षी एमालेसँग निरन्तर संवाद भइरहेको छ,’ विश्वकर्माले भने । 

प्रधानमन्त्री देउवाले सरकार गठन भएको दुई महिना बढी हुँदासमेत सरकार विस्तार गर्न गठबन्धन आबद्ध दलहरूबिचबाटै असहयोग भोग्दै आइरहेका छन् । यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा समेत गठबन्धन आबद्ध दलबाट देउवाले सहयोग पाएका छैनन् भने संसद् सञ्चालनका विषयमा समेत गठबन्धन आबद्ध दलबाट चासो नदेखाइएको भन्दै उनी रुष्ट रहँदै आइरहेका छन् । 

‘केही राष्ट्रिय महत्त्वका विषयमा छलफल भएका छन्, संसद्मा अघिल्लो सरकारले लगेका विधेयक खारेज हुने अवस्था आएको छ, यस कारण प्रतिपक्षसँग संवादको थालनी गरिएको हो,’ काँग्रेसका अर्का एक नेताले भने । 

ती नेताले गठबन्धन आबद्ध दलका नेताहरू आफैँ संलग्न भएका विषयमा पन्छिने प्रवृत्ति देखाउँदै गएपछि र सरकार र संसद् दुबैतर्फ अवरोधको अवस्था आएपछि एमालेसँग संवाद थालिएकोसमेत स्पष्ट पारे । एमाले अध्यक्ष ओलीले नै प्रधानमन्त्री हुँदा अघि सारेका नागरिकता सम्बन्धी अध्यादेश, एसिडसँग सम्बन्धित अध्यादेश खारेज भइसकेकाले एमालेसमेत संवादमा सकारात्मक देखिएको छ । 

एमाले संसदीय दलका उपनेता नेम्बाङले समेत कानु नमन्त्री कार्कीसँग आफ्नो र अध्यक्ष ओलीको भेट भएको समसामयिक राजनीतिक अवस्थाका विषयमा संवाद भएको बताएका छन् । 

एमालेबाट काँग्रेससँगको संवादमा प्रमुख सचेतक विशाल भट्टराई, नेता महेश बस्नेत लगायतका नेताहरूसमेत खटिएका छन् । यस्तै नेम्बाङलेसमेत काँग्रेसका विभिन्न तहका नेताहरूसँग फोन वार्ता मार्फत सम्बन्ध सुधार गर्दै अघि बढ्न आग्रह गर्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ