arrow

आफन्तलाई विभूषण दिएको भन्दै ओलीले गरे आलोचना - नेताका श्रीमती र बुबाले तक्मा पाउनु विडम्बना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ ।  नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसको अवसरमा दिइने विभूषणहरू नेताका आफ्नो परिवार र नातागोता भित्रका मानिसहरूलाई दिइएको भन्दै तिखो आलोचना गरेका छन् । आइतबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान दिवसको दिन सहिदका आमाबुबा, सहिदका सन्तान, घाइतेहरूले तक्मा पाउनुपर्नेमा नेताका श्रीमती र बुबाले तक्मा पाउनु विडम्बना भएको टिप्पणी गरे ।

उनले सरकारले ७० दिनमा पनि पूर्णता पाउन नसकेको प्रति आलोचना गरे । उनले भने-‘७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन । कति हाइसन्चो हेर्नुस् त । कति हाइसन्चो । आज संविधान दिवस । यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यति बेला जनताको पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । गर्व गर्नुपर्ने । बा लाई सम्मान । श्रीमतीलाई सम्मान । कस्तो विडम्बना यस देशको कस्तो भोका जुकाहरू पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा सहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने । सहिदका आमा बाबुले गर्व गर्न पाउनुपर्ने । घाइतेहरूले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकाङ्क्षा ?’

संविधान जारी गर्दाताका केही मतभेद भएको भए पनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उनले बताए । मधेशकेन्द्रीत दलहरूप्रति लक्षित गर्दै उनले नेपालको संविधानको निष्ठा र बफादारसितका साथ सपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति जनतालाई धोका दिने कुरा मात्रै भएको उनले बताए । 

संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मति भएको उल्लेख गर्दै उनले संविधानको आधारभूत प्रस्तावना, मूल्यमान्यता सही छन् भन्ने कुरामा सर्व स्वीकार्यता भएको बताए । उनले भने-‘अझै पनि संविधान दिवस नमनाउँ भन्ने कुरा अथवा संविधानमा हाम्रो मतभेद छ भन्ने कुरा अथवा संविधान मान्दैनौँ भन्ने कुरा यो जनतालाई धोका दिने कुरा मात्रै हो । त्यसो भन्ने हरेक नेताहरूले संविधानको सम्बन्धमा सपथ ग्रहण गरेका छन् । हरेकले नेपाली जनतामा सार्वभौमसत्ता रहेको नेपालको संविधान बिना सर्त स्वीकार गर्दै म यो सपथ ग्रहण गर्छु कसैले ईश्वर साक्षी राखेर भनेका होलान् । कसैले देश र जनता साक्षी राखेर भनेका होलान् । हरेकले संविधानको सपथ खाएका छन् । अनि यस्तो दोहोरो नीति हुनु हुँदैन । एकातिर लाभको लागि संविधानको सपथ खाने, संविधान प्रतिको निष्ठा र बफादारिताको सपथ खाने । अरू भाषामा बोल्दा बुझ्दैनन् कि भनेर कहिले कहिले आफ्नै भाषामा सपथ खाने ता की आफ्ना आसपासका जनताले बुझुन् भनेरै होला । आफ्नै भाषामा सपथ खाने कुरा पनि बेस्सरी चल्यो एकपल्ट जिद्दी । त्यसरी सपथ खाने एकातिर, अर्कातिर सधैँ मतभेद कायम छ भन्ने नक्कली कुरा हो । अर्को संविधानको दोस्रो संशोधन जब हामीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र हाम्रो भूभाग हो । हामीले हाम्रो नक्सामा कायम गरेर राजनीतिक र प्रशासनिक नक्सा जारी गर्‍यौँ । त्यसलाई संविधानको अनुसूचीमा भएको लोगोमा हामीले सामेल गर्नुपर्थ्यो । र त्यसको निम्ति संविधान संशोधन गर्नुपर्थ्यो । त्यो पनि हामीले सर्वसम्मतिले गरेका छौँ । अर्थात् यसमा संवैधानिक प्रश्नमा सर्वसम्मत देशमा बनेको छ । अब कसैले हिंसाको वकालत गरिरहेको छैन । कसैले पृथकतावादको वकालत गरिरहेको छैन । अथवा ठुला भिन्नता र मतभेदका विषयहरू बाँकी छैनन् । संविधानले गरेका आधारभूत प्रस्तावनाहरू, मूल्यमान्यताहरू सही छन् भन्ने कुरा सर्वस्वीकार्य बनेको छ ।’

अध्यक्ष ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैर कानुनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले बाधा सिर्जना गर्ने बताए । उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाए । उनले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लङ्घन गरेर अर्को कुरा गर्नु व्याख्या नभई संशोधन भएको तर्क गरे । संविधान संशोधनको अधिकार संसद्को दुई तिहाइलाई मात्रै भएको भन्दै उनले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गरे । 

उनले भने-‘पार्टी फोड्ने, पार्टी फोड्नका लागि अनेक तमासा । अलोकतान्त्रिक, असंवैधानिक, गैर कानुनी, र अनैतिक खालका क्रियाकलाप पार्टी फोड्नका लागि गरिए । त्यो संविधानको रक्षाको सन्दर्भमा, कार्यान्वयनको सन्दर्भमा र यसलाई विकसित गर्दै अगाडी बढाउने सन्दर्भमा गम्भीर बाधाको रूपमा यी चिजहरू पैदा भएका छन् । जसप्रति हामी सजग, सतर्क हुनुपर्दछ । संविधानको व्याख्याको नाममा जे हुँदै छ । व्याख्या होइन, व्याख्याको नाममा संशोधन । संविधानमा नभएका चिज, भएका चिजको व्याख्या हुन्छ । संविधानमा स्पष्ट व्याख्या गरिएका चिजलाई उल्लङ्घन गरेर अर्कै चिज गर्नुलाई व्याख्या भनिँदैन संशोधन हो । जसको अधिकार संसद्को दुईतिहाईलाई मात्रै छ । अरूसँग छैन । तर अन्यत्रैबाट यस प्रकारका काम हुन थालेका छन् र राजनीतिक उद्देश्यमा ती प्रयोग हुन थालेका छन् । जुन खतरनाक कुरा हो देशका लागि ।’

उनले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्तनको लागि सङ्घर्ष गर्नुपर्ने दिनको अन्त्य भएको उल्लेख गरे । नेपालको परिवर्तनको लागि अब हिंसा आवश्यक र स्वीकार्य  छैन भन्ने स्पष्ट पारेको पनि उनको भनाई छ । अध्यक्ष ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडी बढाउन संविधानले मार्गदर्शन गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ