arrow

एमालेमा विधानको चटारो

उपमहासचिव भुषालको छुट्टै राजनीतिक प्रतिवेदन, ७० वर्षे उमेर हद राख्ने लगभग निश्चित

स्थायी कमिटी बैठक सोमबार पनि जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र औपचारिक रुपमा विधान महाधिवेशन र सो महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ। आइतबार बसेको स्थायी कमिटी बैठकमा विधानको मस्यौदा र राजनीतिक प्रतिवेदन पेश भएसँगै सो छलफल शुरु भएको हो । 

आइतबारको बैठकमा उपमहासचिव घनश्याम भुषालले छुट्टै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले पेश गरेको विधान मस्यौदामा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने पुरानो व्यवस्थामै फर्किने धारणा राखिएको छ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनित गर्ने निर्णय एमालेले गरेको भए पनि आइतबार पेश भएको मस्यौदामा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था राखिएको छ । 

स्थायी कमिटी बैठकमा संगठन विभागले तयार पारेको विधानको मस्यौदा प्रस्तुत गरिएको थियो । अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किन लागेको हो । सदस्यहरूले अध्ययन गरेपछि विधान मस्यौदा स्थायी कमिटीबाट पारित हुने एमालेले जनाएको छ । एमालेले कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था पनि कायमै राख्ने भएको छ । 

१०औं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै रहने देखिएको छ । एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेस गरेको विधान संशोधन प्रस्तावमा उमेर हद कायमै राखिएको छ ।  एमालेको आन्तरिक विवादमा असन्तुष्ट नेताहरु सहभागी नहुने अघिको बैठकले भने अध्यक्ष र केन्द्रीय कमिटीका सस्दय महाधिवेशनबाट निर्वाचित हुने र त्यसपछि  पदाधिकारी मनोनयन गर्ने गरेर संरचना निर्माणको काम अघि बढाइएको थियो  ।

तर, तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहित १० नेता एमालेमै रहने भएपछि उक्त प्रस्तावमाथि संशोधन गरिएको हो । एमालेको असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेमा ७० वर्षे उमेर हदसँगै निर्वाचित हुने कमिटी व्यवस्था कार्यान्वयनमा जाने भएको हो । 

नेकपामा जस्तै सात सदस्यीय सचिवालयको, महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहने व्यवस्था गरिएको छ । साथै विधानबाट पोलिटब्यूरो संरचना भने हटाइएको छ। 
नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार  आइतबारको बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, स्थायी कमिटी सदस्यहरु केशव बडाल, अमृत बोहोरा, पुष्प कँडेलले आफ्नो धारणा राखेका छन् ।

त्यस्तै आइतबारको बैठकमा उपमहासचिव भुषालले फरक दस्तावेज प्रस्तुत गर्दै लक्ष्य, कार्यदिशा, कार्यक्रम, संगठन र कार्यपद्धतिको संगतिपूर्ण व्याख्या नगरिएको जनाएका छन् । ‘हाम्रो आजको आम कार्यभार राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी हो भनेपछि त्यो कसरी सम्पन्न हुन्छ भन्ने कुराको प्रत्याभूति हाम्रो दस्तावेजले गर्दैन’, भुषाल लेख्छन्, ‘त्यसले आजको कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न पार्टीलाई दिशाबोध गर्दैन ।’

समाजको चरित्र र जनताको बहुदलीय जनवादजस्ता विषयको सैद्धान्तिक र तार्किक व्याख्या नभएको उल्लेख गर्दै समान्तवाद, सामन्त वर्ग, सामन्तवादका अवशेषजस्ता प्रसङ्गले विषयलाई अल्मल्याउने भएकाले त्यसको स्पष्ट व्याख्यासमेत गरेका छन् । ‘जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ, यसर्थ अब पनि सिद्धान्तको रूपमा यसले हामीलाई मार्गदर्शन गर्छ भन्नु अतिसयोक्ति हुन्छ’, उनले भनेका छन् । 

आइतबारको स्थायी कमिटी बैठकमा नेकपा विभाजन पछि नेकपा एमालेमा आएको विग्रहको बारेमा समेत छलफल भएको एक स्थायी कमिटी सदस्यले बताए । बाँकी स्थायी कमिटी सदस्यहरुले सोमबार बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ